२० कात्तिक, धादिङ
धादिङको निलकण्ठ नगरपालिका १२ अन्तर्गत पशुपति मन्दिरमा मधुमेह स्वास्थ्य शिविर संचालन गरेको छ ।
हर्ड इन्टरनेशनल काठमाण्डौ र जिल्ला स्वास्थ्य कार्यालय धादिङको आयोजनामा शुक्रवार देखी निःशुल्क मधुमेह स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । “स्वस्थ भविष्य हाम्रो अधिकार” भन्ने मूल नाराका साथ सुरु भएको हो ।
पशुपति मन्दिर प्राङ्गणमा आयोजना भइरहेको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ श्रवण गर्न आउने श्रद्धालु भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर स्वास्थ्य शिविर सञ्चालन गरिएको हर्ड इन्टरनेशनल धादिङका कार्यक्रम अधिकृत दिनेश तिमल्सेनाले बताए ।
पछिल्लो समयमा मधुमेहको समस्या बढ्दै गएकाले स्थानीयबासीलाई जनचेतनाका लागि पनि शिविर सञ्चालन गरिएको उनले वताए ।
शिविरमा निःशुल्क रक्त परीक्षण गरिएका बिरामी मध्ये उच्च ब्लड सुगर भएका बिरामीहरुलाई अस्पतामा उपचारको लागि जान सल्लाह दिइएको छ ।
खानपिन र व्यायाममा ध्यान दिन सके मधुमेह लगायत धेरै रोगबाट बच्न सकिने चिकित्सकले बताएका छन् । सप्ताह अवधि २४ गते सम्म स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ । शिविरमा १०७ जनाको मधुमेह परिक्षण गरेको छ ।
जिल्ला अस्पताल धादिङका अनुसार २०७३÷७४ मा ३ हजार ६ सय ९६ जनाले मधुमेह जाँच गराएका थिए । मधुमेहका असरलाई अल्पकालीन र दिर्घकालीन गरी २ भागमा बाडिन्छ ।
यसले रगतमा ग्लुकोजको मात्रा घट्न गई बिभिन्न समस्यामा हात काम्ने, बान्ता हुने, टाउको दुख्ने, मुटुको धडकन बढ्ने, शरीरको तापक्रम घट्ने जस्ता समस्या देखिन्छ । समयमा खाना नखाँदा, रक्सी सेवन गर्दा, औषधि वा इन्सुलिनको धरै मात्रा भएमा सुगरको मात्रा घट्दै जाने शिवीरमा खटिने चिकित्सहरुले सल्लाह दिएका छन् ।
२०७४ कात्तिक २० गते प्रकाशित