देशमा मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । नेपाली जनताको लामो संघर्ष पछि जनताको प्रतिनिधि मार्फत संविधान निमार्ण कार्य सम्पन्न भएको छ । संविधान जारी भए पश्चात केही कानून निमार्ण भई कार्यान्वयन भएको छ । संविधान पूर्ण कार्यान्वयनको नारा दिएको निर्वाचनमा राजनीति बाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनमा विभाजित भएको छ । धादिङ जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभा सदस्यका लागि मंसिर १० गते निर्वाचन हुदैंछ । निर्वाचनका विविध विषयमा प्रतिनिधि सभा क्षेत्र नं १ र २ का उमेदवारसँग पाविलन्यूज डटकमले गरिएको कुराकानी
पुननिर्माणमा जोड
भूमि त्रिपाठी (नेकपा एमाले )
प्रतिनिधि सभा क्षेत्र नं १
म पार्टीको इमान्दार कार्यकर्ता हुँ । निर्वाचनमा नेपालका बामपन्थी शक्तिहरु एक भएर जाने निर्णय भए बमोजिम नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धन बनाएका छौँ । खासगरी मुलुकको हितका लागि जुन उपलब्धी हाँसिल गरेका छौँ, राजनीति मुद्धा भन्दा पनि आर्थिक मुद्धामा जोड दिनेछौँ । धादिङलाई आर्थिक समृद्धी तर्फ लैजान विशेष जोड दिने र सुन्दर धादिङको परिकल्पना निर्माण सँगै निर्वाचनमा होमिएका छौँ । हामी भूकम्पबाट अहिलेपनि थिलथिलो भएका छौँ । भुकम्प पीडित जनता अहिलेपनि टहरामा नै छन् । उनीहरुलाई सुरक्षित स्थानमा भुकम्प प्रतिरोधी आवास निमार्ण गर्ने काम पहिलो प्रथामिकता हुनेछ । अझपनि केही परिवारहरुको लाभग्राहीमा नाम छुटेको छ । ती छुटेका परिवारहरुलाई पनि लाभग्राही सुचिकृत गरि पूर्ननिमार्ण महाअभियानमा समाहित गरिने छ । सवै परिवारलाई स्वच्छ खानेपानी र पूर्ण सरसफाई युक्त क्षेत्र बनाउने काम कार्यकाल भित्र गर्नेछु । गल्छी हुदै काठमाडौँ जाने रेलमार्गलाई विस्तारमा जोड दिने मेरो बाचा छ । राजधानी नजिकै भएर पनि विकास पूर्वाधारमा धेरै पछाडि छौँ । जनजीविकासंग जोडिएका आधारभुत आवश्यकताहरु खाद्य, आवास, शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली र सडक सर्वसाधरणको पहुँचसम्म पु¥याउने छु । संविधानले व्यवस्था गरेको भौलिक हकहरु कानून बनाएर न्यायमा सर्वसाधरणको पहुँचसम्म पु¥याउने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ । निर्वाचन क्षेत्रस्तरीय सरकारी अस्पताल बनाउने छु । प्रत्येक वडास्तरमा स्वास्थ्य केन्द्र बनाउने छु ।
औद्योगिक क्षेत्रमा विशेष जोड
विश्वप्रसाद अर्याल (नेपाली काँग्रेस)
प्रतिनिधि सभा क्षेत्र नं १
लोकतान्त्रिक गठबन्धनको पार्टीले युवा प्रतिनिधित्व गरेर मलाई उम्मेदवार बनाएको छ । जनताको लामो संर्घष पछि जनताको प्रतिनिधिहरुले निमार्ण गरेको लोकतान्त्रिक संविधान कार्यान्वयन गरि देश र जनताको आर्थिक सम्वृद्धिमा सहयोग पु¥याउन मेरो सदैव अठोट हुनेछ । वाम गठवन्धनले चुनाव लक्षित गठबन्धन गरी देशलाई अधिनायकवाद निम्त्याउन खोजेको छ । बाम गठवन्धन गरी चुनाव जितेर संविधान संशोधन गरेर कम्युनिष्ट अधिनायकवाद लाद्ने र लोकतान्त्रिक शक्तिलाई पाखा लगाउन खोजेकोले वाम अधिनायकवाद रोक्न मेरो उम्मेदवारी हो । धादिङ जिल्ला कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रमा प्रचुर संभावना भएको जिल्ला हो । औद्योगिककरणको केही नमूनाहरु बनिसकेका छन् । तिनीहरुलाई व्यवस्थापन र विस्तार गर्न आवश्यक छ । त्यसको ठोस योजना बनाएर औद्योगिक क्षेत्र विस्तार गर्न सकिन्छ र गर्न आवश्यक छ । पेट्रोल पम्प, ग्याँस भण्डार, सिमेण्ट उद्योग, इट्टा मट्टाहरु सञ्चालनमा छन् । स्वदेशी पूँजीले मात्र हामीले चाहेजति विकास सम्भव छैन । त्यसका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक छ । यस क्षेत्रका अधिकांश किसानहरु व्यवसायिक कृषिमा लागेका छन् । कृषिको औद्योगिक विकासका लागि आधुनिकिकरण, औजारिकरण गरी किसानहरुको जीवनस्तर उकास्ने योजना छ । औद्योेगिक क्षेत्र बनाउने, ढुङगा वालुवाको कारखाना व्यवस्थित बनाउने योजना छ । वैशाख १२ को विनाशकारी भूकम्पले अधिकाशंलाई घरवार विहिन बनाएको छ । घरवार विहिनलाई घर भित्र राख्ने योजना छ । १ वर्ष भित्र सवै भूकम्प पिडितलाई घरमा बसाउन विशेष योजना बनाएर कार्यान्वयनमा उत्रने छु । शिक्षा स्वास्थ्य रोजगारी सबैले पाउनेछन् ।
संविधान कार्यान्वयन पहिलो दायित्व
दिलमान पाख्रिन (नेपाली काँग्रेस)
प्रतिनिधि सभा क्षेत्र नं २
लामो संघर्षबाट जनताको प्रतिनिधिहरुबाट लेखिएको संविधान कार्यान्वयन पहिलो दायित्व हुनेछ । संविधान कार्यान्वयन गर्ने क्रममा भौतिक पूर्वाधार नियमित कार्यक्रममा पर्छ । मेरो निर्वाचन सुगम र दुर्गम दुवै पर्छ । सुगम र र्दुगम जोड्न मोटरबाटो आवश्यक हुन्छ । धादिङ तिप्लिङ सडक प्राथमिकताका साथ निमार्ण गर्ने र अन्य बस्तीस्तरमा समेत सडक विस्तार गर्छु । भूकम्प पछि खानेपानी समस्या देखिएको भएकाले समाधानका लागि योजना अघि सार्नका लागि उम्मेदवार बनेको छु । हिमाली क्षेत्रमा पाईने गडीवुटी संकलन तथा प्रशोधन र प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याउँनेछु । जसका कारण हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायलाई रोजगारी तथा आर्थिक सम्वृद्धिमा वल पुग्ने छ । रुवीभ्यालीमा पाइने रत्न पत्थर संकलन तथा प्रशोधन उद्योग सञ्चालनको व्यवस्था मिलाउने छु । त्यसबाट राज्य र जनतालाई प्रत्यक्ष फाईदा पुग्ने छ । कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने जनचाहना अनुसार कार्यक्रम ल्याउने र यूवाहरुलाई स्वदेशमै रोजगार बनाउन सकिन्छ । उत्तरी भेगमा चौरी, भेडा उत्तरपश्चिम र मध्ये भेगमा बाख्रको राम्रो सम्भावना छ । काठमाण्डौको बजार नजिक रहेकाले बाख्रा व्यावसायिक बनाउन सकिन्छ । स्थानीय स्तरमा रोजगार सृजना हुन्छ । बुढीगण्डकी हाइड्रापावर सुस्त गतिमा शुरु भएको छ । बुढीगण्डकी राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजना निमार्ण भए मात्र धादिङको सम्वृद्धि हुन्छ । त्यस कारण आयोजना निमार्णमा मेरो सक्रिय रहने छ । आयोजना क्षेत्र भित्रका डुवान तथा प्रभावित जग्गाधनीलाई उचित मुअव्जा र उचित वसोवासका व्यवस्था मिलाउन सक्रिय रहन्छु ।
बुढिगण्डकी आयोजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका
खेम लोहनी (नेकपा एमाले)
प्रतिनिधि सभा क्षेत्र नं २
पछिल्लो पटक राजनीतिक ध्रुविकरणले देशलाई सम्वृद्धि तर्फ उन्मुख गराएको छ । देशमा अब धेरै दल तथा राजनीति समुहहरु हुने छैनन् । एक दल सत्ता पक्ष र अर्को दल प्रतिपक्ष मात्र हुने छ । त्यसको अभ्यास उम्मेदवारी दर्ताकै क्रममा देखिएको छ । एमाले र माओवादी केन्द्रले पार्टी एकतासम्मको तयारी गरी चुनावी गठवन्धन गरपछि कांग्रेस अल्तालिएर लोकतान्त्रिक गठवन्धन नाम दिएर चुनावी गठनवन्धन गरेको छ । त्यो गठवन्धन कहिले र कँहा पुगेर समाप्त हुन्छ थाहा छैन । तर नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहित साना कम्नियुष्ट पाटीहरु एकिकृत हुने पक्का छन् । शुन्य भ्रष्टचार, न्यायोचित वितरण मार्फत सुशासन र सम्वृद्धिका लागि प्रतिनिधि सभा सदस्यको लागि मेरो उम्मेदवारी भएको आम मतदाता समक्ष अपील गर्दछु । पुस्तौंदेखि क्रमिक रुपमा आ–आफ्नो चहाना र इच्छा अनुसारको आवास निमार्ण गरि बस्दै धादिङवासी बैशाख १२ मा आएको विनाशकारी भुकम्पले आवास विहिन बनाई दियो । आवास विहिन नागरिकको आवस सम्वन्धी हक अधिकारलाई सनिश्चित गर्न किसान मैत्री आवास निमार्ण गर्ने काम पहिलो प्राथमिकतामा राखेको छ । छिटो छरितो प्रक्रियाबाट लाभग्राहीलाई राज्यले दिने नगदसहितका अन्य सुविधा दिलाउने छु । भुकम्पले कारण चिरा चिरा भएका जमिन र पहिरो कारण विस्तापितहरुको पूर्नवासका लािग उपयुक्त स्थानमा आवास निमार्ण गर्न जग्गा व्यवस्था मिलाउने छु । लाभग्राही सुचिमा नपरेकाहरुको सत्य तथ्य जाँचबुझ गरि आवास पूननिर्माण गर्नु पर्ने वा मर्मतसंभार गरेर बस्न मिल्ने हो सोको प्रवन्ध मिलाउने छु । धादिङवेशी –तिप्लिङ–सोमदाङ सडक निमार्ण कार्य पूरा गरि कालो पत्रे गर्ने र धादिङ–मुलपानी–लापा सडक निमार्ण गर्ने र कालो पत्रे गर्ने छु । प्रत्येक गाउँमा बाटोघाटो निर्माण तथा खानेपानी, सरसफाई प्रदान गर्नेछु । राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना निमार्णको कामलाई सम्पन्न गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने छु । आयोजना डुवान र प्रभावितको घरजग्गाको उचित मुअव्जा एक वर्ष भित्र दिलाउन पहल गर्ने । आयोजना क्षेत्र भित्र चक्रपथ निमार्ण, आवास क्षेत्र निधारर्ण, जग्गा ढुवान क्षेत्रका मानिसलाई सरल मूल्यमा उपलव्ध गराउनु मेरो भुमिका हुने छ । आयोजना निमार्णले धादिङको आर्थिक सम्वृद्धिको ढोका खाल्ने छ । हजारौ हजार पर्यटकहरुको मुख्य गन्तव्य बन्ने छ । स्थानीयले होटल व्यावसाय गरी रोजगार सृजना गर्ने छन् ।
२०७४ कात्तिक १९ गते प्रकाशित