
२८ असोज, धादिङ
बर्तमान राजनितिको वैकल्पिक शक्तिको रुपमा उदाउदै गरेको विवेकशील साझा पार्टी धादिङ भित्रिएको छ ।
गृह जिल्ला धादिङ भएपनि राजधानीका राजनितिक क्रियाकलापमा सक्रिय सहभागी हुने गरेका विवेकशील साझा पार्टीका सदस्यहरुले धादिङवेशीमा पहिलोपटक अन्तरक्रिया र शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन ।
दीपावली, छठ र नेपाल सम्वतको अवसर पारेर धादिङवेशीमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । आगामी संघ तथा प्रदेशको निर्वाचनको लागि चुनावी रणनिति बनाउन तथा र धादिङमा विवेकशील साझाको अवस्था बुझ्नको लागि अन्तरक्रिया गरिएको पार्टीले जनाएको छ ।
अन्तरक्रियामा बोल्दै विवेशील साझा पार्टीका केन्द्रिय सदस्य द्धय ज्ञानेन्द्र निरौला र विजयभक्त श्रेष्ठले बर्तमान राजनितिलाइ सफा र सभ्य, देश विकास केन्द्रित बनाउनको लागि विवेकशील साझा पार्टी जन्मिएको बताए । निरौलाले अहिले सत्ता र प्रतिपक्षमा बसेका दलहरुले राजनितिलाइ नै फोहोरी खेल बनाइरहेकाले राजनितिलाइ मुल्य मान्यताको आधारमा अघि बढाउनको लागि विवेकशील साझा नै सक्षम हुने दावी गरे ।
अहिलेका राजनितिक दलहरुले आम नागरिकको समस्या र चासो बुझेर भन्दा पनि भ्रष्ट र दलालको संरक्षणमा केन्द्रित रहेर राजनिति गरिरहेकाले विवेकशील साझा त्यसलाइ सुधार गर्न र क्लिन पोलिटिक्स (भ्रष्टाचार रहित, पारदर्शी र जनताकेन्द्रित राजनिति) गर्नको लागी युवाहरुको जमात लिएर हिडेको निरौलाले बताए ।
अर्का केन्द्रिय सदस्य श्रेष्ठले राम्रोलाइ राम्रो भनेर प्रशंसा गर्ने र नराम्रोलाइ नराम्रो भनेर विरोध जनाउनकै लागि विवेकशील साझा जन्मिएकाले अहिलेको फोहोरी राजनितिलाइ एकदिन विवेकशीले सुधार गरेरै छाड्ने बताए । हाम्रो अघिल्लो पुस्ता अहिलेको राजनितिको प्रयोग गरिरहेकाले अव जागरुक भएर गाउँ गाउँमा स्वस्छ र भ्रष्टाचार रहित राजनितिक चेतको विकास गर्न युवाहरुलाइ श्रेष्ठले आग्रह गरे ।
जिल्ला सदरमुकाम बाहिर विवेकशील साझा बन्नुअघि विवेकशीलको कार्यक्रम भइरहेपनि विवेकशील र साझा एक भएपछि धादिङ जिल्लामा गरेको पहिलो कार्यक्रम हो । कार्यक्रममा धादिङका विभिन्न गाउँपालिकामा रहेर विभिन्न पेशा ब्यवसायमा संलग्न भएका युवाहरुको सहभागीता रहेको थियो ।
२०७४ असोज २८ गते प्रकाशित