

२५ असोज, धादिङ –
अर्जेन्टिना विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो ।
एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो ।अर्जेन्टिनाको जितमा तीनै गोल मेस्सीले गरे ।
पहिलो मिनेटमा नै इक्वेडरका इबाराले गोल गरेपछि अर्जेन्टिना पछि परेको थियो । तर ११ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा दुई गोल गरेका मेस्सीले ६२ औं मिनेटमा सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे ।
२०७४ असोज २५ गते प्रकाशित