Tue. Nov 26th, 2024

धादिङमा तीन महिनामा ७१ करोडको रेमिट्यान्स कारोबार


२० असोज,  धादिङ –

धादिङ जिल्ला वैदेशिक रोजगारीको गन्तव्य रोज्ने जिल्लाहरुमध्येबाट अग्रस्थानमा आउँछ । खास गरी मलेसिया, कुवेत, कतार लगायतका ठाउँमा कमाउन जानेको संख्या पछिल्लो समय बढेको छ । विभिन्न माध्यम मार्फत विदेश पुगेकाहरुबाट गएको तीन महिनामा ७१ करोडको रेमिट्यान्स कारोबार भएको छ ।

धादिङमा रेमिट्यान्सको कारोबार गर्दै आएको कला इन्टरनेशनल प्रालिका प्रबन्धक रामचन्द्र गिरीका अनुसार यस आर्थिक वर्ष २०७४÷०७५ को साउन महिनादेखि हालसम्म ७१ करोडको हाराहारीमा रेमिट्यान्सको कारोबार गरेको जानकारी दिए । खासगरी चाडपपर्वको समयमा बढी मात्रामा रेमिट्यान्सको कारोबार वृद्धि हुने गर्दछ ।

इन्टरनेशनल रेमिट्यान्स ६२ करोड चालिस लाख त्यस्तै गरी आन्तरिक रेमिट्यान्स ९ करोड भुक्तानी भएको छ । दैनिक २० देखि ४० लाखको हाराहारीमा १०० देखि १५० जनाले आन्तरिक रेमिट्यान्स पठाउने गरेको छ । सामान्य समयमा दैनिक ५० देखि ६० लाखको हाराहारीमा रेमिट्यान्स भित्र्याउदै आएकोमा दशै अगाडि दैनिक डेढ करोड भुक्तानी भएको गिरीले बताए ।

जिल्लाका सबैजसो कम्पनीबाट बाह्य र आन्तरिक कारोबार बढेको हो । अघिल्लो वर्ष २०७३ /०७४ मा बाह्य रेमिट्यान्स १ अर्ब ६६ करोड ५८ हजार ३ सय ११ र आन्तरिक तर्फ ५१ करोड १० लाख ९५ हजार ३ सय ७० गरी जम्मा २ अर्ब १७ करोड ११लाख ५३ हजार ६ सय ८१ भित्रिएको छ ।

त्यस्तै २०७२/०७३ मा बाह्य रेमिट्यान्स तर्फ १ अर्व ५२ करोड ३४ लाख ५१ हजार ५ सय २५ रुपैंया र आन्तरिक तर्फ ४८ करोड ११ लाख ७७ हजार ४ सय ५३ रुपैंया गरि जम्मा २ अर्ब ४६ लाख २८ हजार ९ सय ७८ रुपैंया रेमिट्यान्सको कारोबार भएको थियो ।

त्यस्तै आर्थिक वर्ष ०७१/७२ मा जम्मा २ अर्व १ करोड ११ लाख ५४ हजार ७ सय ८७ रुपैंया बराबर रेमिट्यानसको कारोबार भएको थियो । जस अन्तर्गत १ अर्व ५६ करोड ५७ हजार ३ सय १६ रुपैंया र आन्तरिक तर्फ ४५ करोड १० लाख ९७ हजार ४ सय ७१ रहेको छ ।

विदेशमा रहेका नेपालीहरुले खासगरी आइएमई गरी रकम पठाउने गर्दछ । मलेसिया, साउदी, कतार, बहराइन, दुवई, अमेरिका, जापान, लन्डन, कुवेत, इराक, अफगानिस्तान लगायतका देशहरुबाट रेमिट्यान्स आउने गरेको छ । यी देशहरु मध्ये सबैभन्दा बढी मलेसिया, साउदी, कतार, बहराइन, दुवई जस्ता खाडी मुलुकहरुबाट ८५ प्रतिशत रेमिट्यान्स भित्रिने गिरीले बताए ।

विदेशबाट रकम पठाउँदा विशेषगरी आइएमई, प्रभु, वइस्टन युनियन, सिद्धार्थ, सीटि एक्सप्रेस, पृथ्वी एक्सप्रेस, सेवा मनि ट्रान्सफर, सूर्यदयो रेमिट प्रयोगमा आइरहेको छ । यसरी पाएको रकमले कोहीले घरपरिवारमा खर्च, विदेश जाँदा लागेको ऋण तिर्ने पनि गरेको छ भने कसैले उपभोग्य सामानहरु खरिद, मनोरञ्जनका साधनहरु (टेलिभिजन, मोबाइल, ल्यापटप, कम्प्यूटर), गरगहनामा खर्च गर्ने गर्दछ । कसैले उत्पादनमूलक कार्यमा पनि खर्च गरेको पाइन्छ ।

२०७४ असोज २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: