Wed. Nov 27th, 2024

६० लाख नेपालीलाई मुटुसम्बन्धी समस्या

१३ असोज, धादिङ –

विश्व मुटु दिवस, ‘मुटुलाई स्वस्थ राख्ने शक्ति सबैलाई बाँडौं’ भन्ने नाराका साथ शुक्रबार दिवस मनाइँदै छ । विश्व मुटु दिवसकै अवसरमा सार्वजनिक गरिएको एक तथ्याङ्कअनुसार नेपालमा मात्रै ६० लाख मानिसमा मुटुसम्बन्धी कुनै न कुनै समस्या छ । जसमध्ये अधिकांश मानिस जटिल प्रकारको मुटुसम्बन्धी समस्याबाट ग्रसित छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर वर्षेनी १७.७ लाख मानिसको मुटु रोगका कारण मृत्यु हुन्छ । नेपालमा २४ लाख महिला र ३६ लाख पुरुषलाई मुटुसम्बन्धी समस्या भएको अध्ययनले देखाएको छ । मुख्यतः वंशाणुगत गुण, व्यस्त जीवनशैली, अस्वस्थ खानपिन र सुर्तीजन्य पदार्थ सेवनका कारण मुटुका रोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. डीबी कार्की बताउँछन् । मुटुरोगबाट जोगिन स्वस्थ जीवनशैली अपनाउने र खानपानमा ध्यान दिन उनको सुझाव छ ।

चुरोट सेवन, नुनिलो वस्तु धेरै खानु र व्यायाम नगर्दा मुटु रोगीको संख्या दिनप्रतिदिन बढिरहेका उनको भनाइ छ । कम्तीमा पनि सुर्तीजन्य पदार्थ सेवनलाई त्याग्ने र जीवनशैलीलाई आरामदायी बनाउन सके धेरै मात्रामा मुटु रोगीको संख्या घटेर आउने उनको विश्वास छ । त्यसका लागि जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए ।

चिकित्सकहरुका अनुसार दुख्नु, दम बढ्नु, खुट्टा सुन्निनु, घाँटीको रक्तनली फुल्नु, ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु, औंलाका टुप्पा बाक्ला र चाक्ला हुनु, टाउको दुख्ने र चक्कर लाग्नु, मुटुको धड्कन रोकिने वा छिटो चल्नु, छातीमा हात राख्दा बिरालो कनेकोजस्तो थर्केको महशुस हुनु मुटु रोगका लक्षण हुन् ।

२०७४ असोज १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: