१०, असोज –
एडिसन काभानीले नेइमारलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) को ड्रेसिङ रुममा पहिलो पटक पुर्गको बेला ‘के तिमी आफूलाई मेस्सी सम्झेका छौ ?’ भनेको खबर सार्वजनिक भएको छ ।
लिग वान फुटबल अन्तर्गत पेनाल्टी प्रहार गर्ने विषयमा काभानी र नेइमारबिच विवाद भएको खबर आइरहेका बेला यस्तो कुरा सार्वजनिक भएको हो ।
विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका नेइमार र काभानीलाई पेनाल्टी विवादपछि अहिलेसम्म एक अर्कालाई आँखामा आँखा जुधाएर हेरेको देखिएको छैन । तर काभानीले नेइमारलाई ‘आफूलाई मेस्सी सम्झन्छौ’ भनेको कुरा सार्वजनिक भएपछि उनीहरुबिचको सम्बन्ध सुरुवातदेखि नै राम्रो नरहेको देखिएको छ ।
स्पेनिस पत्रिका एल पाइसका अनुसार काभानीले नेइमारलाई सुरुवातमा नै राम्रो व्यवहार गरेका थिएनन । काभानीले नेइमार पहिलो पटक पिएसजीको ड्रेसिङ रुममा छिरेका बेला ‘यो को हो ? के तिमी आफूलाई मेस्सी ठान्छौ ?’ भनेको एल पाइसले दाबी गरेको छ ।
काभानीले मजाक गरेका थिए वा नेइमारको अपमान गर्न त्यसो भनेका थिए भन्ने खुलेको छैन । तर यसले सम्बन्धमा सुरुमा नै चिसोपन बढाउन सहयोग गरेको विश्लेषण भने गरिएको छ ।
२०७४ असोज १० गते प्रकाशित