
सरिता श्रेष्ठ / २ असोज, धादिङ –
चाडपर्व नजिकिएको छ । बजारभाउ आकाशिएको छ । होटल व्यवसायले लुट मच्चाइरहेको छ । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ताको ढाड सेकाइरहेको छ । खाद्यान्नमा मिसावट र उपभोक्ता ठगी हुने गुनासो बारम्बार आइरहेका छन् । तर पनि अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला एवम् सरकारी निकाय दशैं तिहार नजिकिन थाल्दा मात्रै बजार अनुगमनमा सक्रिय देखिन थालेका छन् । कालोबजारी तथा उपभोक्ता ठगी उन्मुलन गर्ने निहुँमा मन्त्रीदेखि तल्लो निकायका कर्मचारीको गोजी भर्ने काम गरेको आरोप लाग्ने गरेको छ ।
धादिङमा पनि त्यहि क्रम दोहोरिएको छ । विगतमा जस्तै चाडपर्वको मुखमा आएर बजार अनुगमन हुने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ । विशेषगरी दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्वको समयमा मात्र अनुगमन हुने र त्यसपछिको समयमा खासै अनुगमन नहुने क्रम दोहोरिएको छ । बजार अनुगमनको बाहानामा आपूर्तिराज्मन्त्री कर्णबहादुर विश्वकर्माले धादिङबेसीका विभिन्न पसलमा पुगेर अनुगमन गरे । मासु पसल, तरकारी पसल, पेट्रोल पम्प, कस्मेटिक पसल तथा राजमार्ग क्षेत्रमा संचालनमा रहेको होटलहरुको अनुगमन गरे ।
अनुगमन गर्दै उनले भने – ‘चाडपर्वको समयमा उपभोक्ताहरुले दैनिक उपभोग्य सामान किन्दा कोही पनि नठगिउन भनेर उदेश्यले अनुगमनलाई तिव्रता पारिएको हो ।’ अनुगमनको बाटोलाई निरन्तरतामा लैजादै, दशै तिहार तथा मौसमी अनुगमन मात्र नभई सधै भरी यसलाई निरन्तरता दिने मन्त्री विश्वकर्माले बताए । मासु पसल तथा होटलमा फोहोर तथा गुणस्तर कम भएको भन्दै यसलाई कडाईका साथ अनुगमन गरी ब्यपारीहरुलाई करको दायरामा ल्याउन राज्यमन्त्री विश्वकर्माले स्थानीय प्रशासनलाई निर्देशन समेत दिए । अनुगमनको कार्य चाडपर्वको समयमा मात्र नभई जुनसुकै समयमा पनि निरन्तर रुपमा गरिने उनले बताए ।
अनुगमनका क्रममा सदरमुकाम क्षेत्रमा संचालित व्यापारीले मूल्य बढी लिएको, कर छली गरेको पाईएको छ । उनीहरुलाई कानुनको दायरामा ल्याएर कार्बाही गरिने उनले बताएका छन् । तर अघिल्ला वर्षहरुमा पनि उस्तै समस्या आउने र कार्बाही गरिने भनेर छोडिने गरेको उदाहरणहरु पनि प्रशस्त मात्रामा छन् । नीति नियम तथा कार्यान्वयन पाटो यति फितलो छ कि फेला परेका व्यापारीलाई सामान्य रूपमा सचेत तथा जरिवाना गराई छाडिने समेत गरेको पाईएको छ ।
चाडपर्वको मौका छोपेर विशेष त पृथ्वी राजमार्ग अन्तगत धादिङ जिल्लामा संचालित होटलहरुले खाना, खाजाको मूल्य बढी लिने गरेको गुनासो यात्रुहरुले गर्दै आइरहेका छन् । बढी नै मूल्य तिरेपनि स्वच्छ, ताजा र गुणस्तरको वस्तु तथा चीजहरू खान पाएका छैनन् । होटल व्यावसायीको मनपरी बढ्दै गएको आवाज गुन्जीरहेका छन् । राजमार्गको होटलमा गाडी रोक्छन् । प्यास लाग्छ पानी खानै प¥यो २० रुपैयाको पानीलाई ४० रुपैया लिन्छन् । ८० रुपैयाको रेड बुललाई १५० लिन्छन् , खाना, खाजाको पनि उस्तै महङगी छ । काठमाडौँ जाँदै गरेका यात्रु उमेश सापकोटाले बताए । उनले भने –‘होटलवालाको मनपरी छ, हामी उपभोक्ताले भनेजति तिर्नुपरेको छ ।’
अनुगमन गर्ने क्रममा टोलीले अनुगमन गर्ने प्रविधि तथा मापनयन्त्र समेत ल्याउने गरेको हुँदैन । भने एक व्यापारीले अर्को व्यापारीलाई अनुगमन गर्न टोली आउँदैछ भन्ने सन्देश प्रवाह गर्दा अनुगमन कार्य फितलो भएको देखिन्छ । अनुगमन टोली आउँदै छन् भन्ने सुइको पाउनासाथ व्यापारीहरु पनि ढोका थुनेर बस्ने गर्छन् । स्थानीय प्रशासन तथा केनिद्रय टोलीले हरेक वर्ष राजमार्ग क्षेत्रका होटलमा अनुगमन गर्ने गरेको छ तर त्यसको प्रगति शुन्य देखिएको छ । राजमार्ग हुँदै मन्त्री, नेता, जनता हरेक व्यक्ति हिड्छन् तर त्यसको प्रवाह कसैलाई पनि परेको छैन ।
चाडपर्वमा विशेष गरेर महँगी ह्वात्त बढ्ने गरेको छ, जसको सिकार आमउपभोक्ता नै हुने गरेका छन् । प्रत्येक वर्ष चाडपर्वमा व्यापारीहरुले चौथी हान्ने गर्दछन् । सडकदेखि सदनसम्म, खेतको आलीदेखि थालीसम्म, नुनदेखि सुनसम्म, अचारदेखि घिउसम्म, पानीदेखि तेलसम्म कुनै वस्तु तथा ठाउँ चोखो छैनन् । प्रत्येक वर्ष उपभोक्ता ठगिने, लुटिने क्रम बढ्दो भए तापनि उचित अनुगमन र कारबाहीमा प्रभावकारिता नहुँदा ठगिने पक्षमा सुधार आउन सकेको छैन । मिसावट गर्ने, गुणस्तरहीन बेच्नेलाई जेलसजायसम्मको कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन नसक्दा यो केवल देखाउने दाँत मात्र भएको छ ।
२०७४ असोज २ गते प्रकाशित