लक्की चौधरी –
पृष्ठभूमि :
नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संगठन हो । पत्रकारलाई संगठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक–अधिकार प्रवद्र्धन गर्ने यसको मूल ध्येय, लक्ष्य र दायित्व हो । पत्रकारको संगठन खोलिएको ६ दशक भन्दा बढी हुँदा पत्रकारको संख्या करिव १४ हजार पुगेको छ, भने पत्रकारिताको आयाममा पनि धेरै परिवर्तन आएका छन् । यस आलेखमा संघदेखि महासंघ हुँदै अहिलेसम्म आउँदाको अवस्था र त्यसबीचमा भएका महत्वपूर्ण पक्षलाई समेटने प्रयास गरिएको छ ।
पत्रकार संघ
नेपालमा २००७ सालमा राणा शासनको अन्त्य भई प्रजातन्त्र बहाली भयो । त्यसको एक वर्षपछि पत्रकारको संगठन स्थापना भएको पाइन्छ । ‘नेपालमा सबैभन्दा पहिले २००८ साल जेठमा ‘नेपाल पत्रकार संघ’ नामक पत्रकारहरुको एउटा संगठनको स्थापना भयो । यस संघका सभापति श्री सत्यनारायण बहादुर श्रेष्ठ र सेक्रेटरी श्री भोजबहादुर सिंह न्यौपाने हुनुहुन्थ्यो’ (देवकोटा, २०५१, पृ. १४९) ।
२००८ साल जेठमा सत्यनारायणबहादुर श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार संघ नामक एउटा संस्था स्थापना गरिएको अभिलेख पाइन्छ । तर त्यसले निरन्तरता पाएको देखिदैन । (दाहाल, २०६०, पृष्ठ ३ )
संघको उद्देश्य नेपालका पत्रकार तथा नेपाल बाहिरका नेपाली पत्रकारलाई संगठित गरी तिनीहरुको आवश्यक सुविधाका लागि प्रयत्नशील रहने, नेपाल बाहिरका पत्रकारसँग सम्बन्ध स्थापित गरी नेपाली श्रमजीवी पत्रकार र समाचारपत्रहरुको अधिकारको रक्षा गर्नुथियो । संघको सदस्यता प्राप्त गर्न नेपाली पत्रकार हुनुपर्ने, समाचारपत्रका सम्पादकीय विभागका सदस्य हुनुपर्ने र नियमित लेखन कार्यमा संलग्न हुनुपर्ने थियो । श्रेष्ठले २००९ सम्म संघको नेतृत्व गरेका थिए । पछि संघ निष्किृय रह्यो ।
‘२०१२ साल चैत १६ गते पत्रकारहरुको अर्काे बैठक बस्यो र यस बैठकले ‘नेपाल पत्रकार संघ’ नामक पत्रकार–संघको गठन ग¥यो’ (देवकोटा, २०५१, पृ. १५१) । यस संघका सभापति ‘नेपाल पुकार’ पत्रिकाका सम्पादक कृष्णप्रसाद उपाध्याय (भट्टराई) थिए । यही पत्रकार संघलाई नै नेपाल पत्रकार महासंघको अविछिन्न उत्तराधिकारीवाला संस्थाकोरुपमा लिने गरिएको छ । नेपाल पत्रकार संघको विधान २०५१ मा ‘नेपाल पत्रकार संघ नामक अविछिन्न उत्तराधिकारवाला स्वशासित, व्यावसायिक एवं पेशागत संस्था संस्थापित भएको छ’ भन्ने उल्लेख गरिएको थियो । भट्राईले अध्यक्ष भएर एक वर्ष संघको नेतृत्व गरेका थिए । नेपाल पत्रकार महासंघको २०५६ साल असार १३ गते बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेपाल पत्रकार महासंघ (तत्कालिन संघ) का प्रथम सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई लगायतको सम्मानमा निकट भविष्यमा स्वागत समारोह आयोजना गर्ने निर्णय गरेको थियो । र, सोही अनुसार कार्यक्रम पनि भएको थियो । महासंघले उनलाई संस्थापक सभापति मान्ने गरेको छ ।
त्यसपछि संघको अध्यक्षमा दाताराम शर्मा (२०१३–२०१८), फत्तेबहादुर सिंह (२०१८–२०१९) भए । पशुपतिदेव पाण्डे (२०१९–०२५), मणिन्द्रराज श्रेष्ठ (२०२५–०२७), गोपालदास श्रेष्ठ (२०२७–०३०), गोकर्णदेव पाण्डे (२०३०–०३२), इन्द्रकान्त मिश्र (२०३२–०३५), मञ्जुरत्न शाक्य (२०३५–०३९), निर्मलकुमार अर्याल (२०३९–०४३), मणिराज उपाध्याय (२०४३–०४६), गोविन्दराज वियोगी (२०४६–०४९), होमनाथ दाहाल (२०४९–०५२), हरिहर विरही (२०५२–०५४) भए (चौधरी, २०७३, पृृ. १४१–१४२) ।
महासंघमा नेतृत्वः
तत्कालिन संघका सभापति हरिहर विरहीको पालामा २०५३ जेठ २८ र २९ गते धरानमा भएको तत्कालिन संघको वार्षिक साधारणसभाले संघलाई महासंघमा लग्ने आधिकारीकरुपमा विधान अनुमोदन गरेको थियो । सोही अनुमोदित विधानअनुरुप संघ, महासंघमा परिणत भएपछि २०५४ भदौ ३० गते भएको महाधिवेशनले किशोर नेपाल (२०५४–०५६) लाई सभापतिमा निर्वाचित ग¥यो । सैद्धान्तिकरुपमा संघलाई महासंघ बनाउने निर्णय विरहीको पालामा भएपनि व्यवहारमा महासंघको प्रथम सभापति हुने अवसर नेपाललाई जुर्यो । २०५६ मंसिर १९ गते अर्को महाधिवेशन सम्पन्न भयो । महाधिवेशनबाट सभापतिमा सुरेश आचार्य (२०५६–२०५९) निर्वाचित भए । त्यसपछि महासंघको सभापतिमा तारानाथ दाहाल (२०५९–०६२), विष्णु निष्ठुरी (०६२–०६५), धर्मेन्द्र झा (०६५–०६८), शिव गाउँले (०६८–०७१) र डा. महेन्द्र विष्ट (०७१–०७४) निर्वाचित भए । महासंघको मुख्य नेतृत्वलाई सभापति भन्ने गरिएकोमा २०६४ साल असार १५ गतेको चितवनमा आयोजित अध्यक्षहरुको भेलाले सभापतिलाई अध्यक्ष भन्ने व्यवस्था गरेको थियो ।
२०७१ वैशाख २० र २१ गते काठमाडौंमा सम्पन्न २४ औं महाधिवेशनले डा. विष्टको कार्य समितिलाई निर्वाचित गरेको थियो । तीनवर्षे कार्यकाल २०७४ वैशाख २१ गते समाप्त हुनुपर्ने भएपनि स्थानीय तहको निर्वाचनका कारण कार्य समितिको कार्यकाल साढे तीन महिना लम्बियो । अर्थात् डा. विष्ट २०७४ भाद्र ५ गतेसम्म नेतृत्वमा रहे ।
महासंघको विगत
वि.सं. २००८ सालमा नेपाल पत्रकार संघ गठन गर्दा त्यसको उद्देश्यमा श्रमजीवी पत्रकारको हकहित गर्नु उल्लेख थियो । सत्यनारायणबहादुर श्रेष्ठ अध्यक्ष रहेको संघको प्रतिनिधिमण्डलले त्यही विषयमा गृहमन्त्रालय पुगेर सरकारलाई घचघच्याएको थियो (विष्ट, २०७२, पृ. ४) । संघ गठन अघि नै २००८ वैशाख ९ गते काठमाडौंस्थित सरस्वती सदनको पटाङ्गिनीमा भारतीय दैनिकपत्र ‘सर्चलाइट’ का उपसम्पादक नवल किशोरको अगुवाईमा भेलाको आयोजना भएको थियो । परिवर्तित प्रजातन्त्र र नेपाली पत्रकारको हितरक्षा र सुविधा दिलाउने उद्देश्यसाथ सो भेलाको आयोजना गरिएको उल्लेख छ । संघ गठनको एक वर्षपछि २००९ वैशाख २८ गते संघको दोस्रो सभा भयो । सो सभाले पुनः श्रेष्ठलाई नै सभापति बनाएर कार्यसमितिलाई पूर्णता दियो । जसअनुसार उपसभापतिमा प्रेमराज शर्मा (गोरखापत्र), सचिव भोजबहादुर सिंह न्यौपाने (तरंग), सहसचिव रामहरि जोशी (नेपाल पुकार), कोषाध्यक्ष रामराज शर्मा (नेपाल पुकार), सदस्य नारायणप्रसाद उपाध्याय (युगवाणी), देवेन्द्रराज शर्मा, भीमभक्त जोशी (उद्योग), प्रकाशचन्द्र टण्डन (पि.टि.आई.) थिए (देवकोटा, २०५१, पृ. १४९) ।
संघको दुईजना साधारण सदस्यको सिफारिसमा सदस्य प्राप्त गर्नसक्ने प्रावधान तोकिएको थियो । साधारण सदस्यता प्राप्त गर्न प्रवेश शुल्क एक रुपियाँ र वार्षिक शुल्क दुई रुपियाँ तोकिएको थियो । तर, पत्रकारको आन्तरिक विवादले त्यो संघले निरन्तरता पाएको देखिएन ।
कृष्णप्रसाद उपाध्याय भट्टराई
२०१२ साल पुस १९ गते उदयराज शास्त्रीको आमन्त्रणमा नेपाल समाचारको कार्यालयमा पत्रकारको बैठक आयोजना गरिएको थियो । तर, सो दिन पत्रकारको उपस्थिति कम भएपछि केही ठोस निर्णय भएन । ‘२०१२ साल चैत १६ गते पत्रकारहरुको अर्काे बैठक बस्यो । त्यस बैठकले ‘नेपाल पत्रकार संघ’ नामक पत्रकार–संघको गठन ग¥यो’ (देवकोटा, २०५१, पृ. १५१) । सो समितिको उपसभापतिमा फत्तेबहादुर सिंह, मन्त्रीमा मणिराज उपाध्याय, सहायक मन्त्रीमा राम सिंह र कोषाध्यक्षमा उदयराज शास्त्री चयन भए । सदस्यमा हृदयचन्द्रसिंह प्रधान, शारदा रेग्मी र राजबहादुर मिश्र छानिएका थिए । संघको उद्देश्यमा देशमा प्रबुद्ध र उत्तरदायी जनमतको सिर्जना गर्न स्वच्छ पत्रकारिताको विकासमा सहयोग गर्ने, राष्ट्रिय हितमा धक्का नपर्ने गरी पत्रकारको हक र अधिकारका लागि प्रयास गर्ने, पत्रकारउपर समयसमयमा आइपर्ने कष्टहरुको निराकरणका लागि आवश्यक कदम उठाउनु थियो । साधारण सदस्यता पाउन दुईजना सदस्यको सिफारिसको आवेदन, प्रवेश शुल्क १० रुपियाँ र मासिक १ रुपियाँ बुझाउने व्यवस्था गरियो । साधारण सदस्यता प्राप्त गरेको तीन महिना पूरा नहुँदासम्म साधारणसभामा मतदान गर्न नपाउने व्यवस्था तोकियो । संघको सदस्य निर्वाचित हुन कम्तिमा पत्रकारिता गरेको दुई वर्ष पुग्नुपर्ने व्यवस्था गरिएको थियो (देवकोटा, २०५१, पृ. १४०) ।
यो संघको गठन गर्दा यसअघि नेपाल पत्रकार संघ गठन भएको विषय वा पृष्ठभूमिलाई कतै उल्लेख गरेको पाइन्न । विगतको संघ निस्कृय भएकाकारण गठित यस संघको नेतृत्वबीच सुरुको चरणमा निकै विवाद भएको देखिन्छ । भट्टराई नेतृत्वको संघका सहायक मन्त्री राम सिंह गैरनेपाली रहेको प्रस्ताव नै बैठकमा ल्याइएको थियो । २०१३ चैत १५ गते बवरमहलमा बसेको बैठकमा राष्ट्रवाणीका पत्रकार भरतशम्शेर जबराले सिंहविरुद्धको प्रस्ताव ल्याएका थिए । गैर नेपाली भएकाले सिंहलाई कार्य समितिबाट निष्काशनको माग उनले गरेका थिए । जबराको प्रस्तावमा केदारनाथ र मणिराज उपाध्यायले समर्थन गरे । सो विवाद सल्टाउन लामो समय लागेको थियो । सिंहलाई समितिबाट हटाउनुपर्छ भन्ने प्रबल माग गर्नेमा गोपालदास श्रेष्ठ पनि थिए । पछि श्रेष्ठलाई नै एक वर्षकालागि साधारण सदस्यबाट निष्काशित हुनुपरेको थियो (देवकोटा, २०५१, पृ. १४०) । हुदलिय व्यवस्थाको पनुर्वहालीपछि भट्टराई (२०४७–४८, २०५६) मा देशको प्रधानमन्त्री भए ।
दाताराम शर्मा
शर्मा संघको अध्यक्ष हुँदा पनि पत्रकारबीचको आपसी कलह साम्य भएको थिएन । पत्रकारबीच गुट र उपगुट चलिरहेको थियो । भट्टराई संघको अध्यक्ष हुँदा ‘कमनर’ पत्रिकाका सम्पादक गोपालदास श्रेष्ठको नेतृत्वमा अर्को समूह खडा गरिएको थियो । सो समूहले भट्टराई नेतृत्वको संघलाई मान्यता दिएको थिएन । भट्टराई समूहले श्रेष्ठले संघकाविरुद्ध षडयन्त्र गरेको भन्दै साधारण सदस्यबाट एक वर्षसम्म हटाउने निर्णय गरेको थियो । २०१३ चैत २८ गते बसेको पत्रकारको भेलाले दाताराम शर्मालाई अध्यक्ष बनाएर संघको नयाँ कार्य समिति गठन गरेको थियो । तर, सो संघ गठनमा पत्रकार मणिकलाल श्रेष्ठलाई चित्त बुझेन । उनले विज्ञप्ति प्रकाशित गर्दै पत्रकारले प्रजातान्त्रिक परिपाटी मिच्दै साधारण शिष्टतासमेत नामेट पारेको आरोप लगाए । आपसी कलह र मतभेदकाबीच संघलाई निरन्तरता दिइएको थियो । पत्रकारबीच कलहको मुख्यकारण पत्रकारबाट विदेश भ्रमणमा को जाने भन्ने निमन्त्रणा थियो (देवकोटा, २०५१ पृ. १४२) । तथापि शर्माले २०१८ सम्म संघको नेतृत्व गरेका थिए ।
२०१८ साल भाद्र १० गते तत्कालिन सगरमाथा संवाद समितिको कार्यालयमा बैठक बसी संघमा देखिएको विवाद र आपसी तिक्तता अन्त्यका विषयमा पत्रकारबीच छलफल भएको थियो । पत्रकार मदनलोचन सिंहको अध्यक्षतामा बसेको सो बैठकले नै आपसमा मेलमिलाप गरी फत्तेबहादुर सिंहको सभापतित्वमा कार्य समिति पुनर्गठित गरेको थियो ।
फत्तेबहादुर सिंह
२०१८ भाद्र ७ गते पत्रकारको पुनः बैठक बस्यो । संघको अर्को कार्यसमिति गठनमा बैठक केन्द्रीत थियो । सगरमाथा संवाद समितिको कार्यालयमा बसेको बैठकमा पत्रकार शशिकला शर्मा, गोविन्द वियोगी, उमाकान्त दास, मणिन्द्रराज श्रेष्ठ, इन्द्रकान्त मिश्र, रमेशनाथ पाण्डे, मणिराज उपाध्याय लगायतका पत्रकारको सहभागिता थियो । भाद्र १० गते संवाद समितिको कार्यालयमा बसेको पत्रकारको अर्को भेलाले (ने.भा.प.) का सम्पादक फत्तेबहादुर सिंहलाई अध्यक्ष बनाएर संघको नयाँ कार्य समिति चयन गरेको थियो । कार्य समितिको सचिवमा मणिराज उपाध्याय, कोषाध्यक्षमा उमाकान्त दास, सदस्यहरुमा गोपालदास श्रेष्ठ, मणिन्द्रराज श्रेष्ठ, श्यामप्रसाद, इन्द्रकान्त मिश्र चुनिएका थिए । सिंहकै नेतृत्वको कार्य समितिले संघ दर्ताका लागि संघसंस्था रजिष्ट्रेशन ऐन २०१९ अन्तर्गत २०१९ वैशाख ३१ गते निवेदन दर्ता गराएको थियो । तत्कालिन राष्ट्रिय निर्देशन मन्त्रालयले संघलाई सोहिदिन ३१ गते नै स्वीकृति प्रदान गरेको थियो (देवकोटा, २०५१, पृष्ठ १४३) । सिंहले २०१९ सालसम्मा संघको नेतृत्व गरेका थिए ।
पशुपतिदेव पाण्डे
निकै कसरत र उतार–चढावकाबीच पशुपतिदेव पाण्डे संघको अध्यक्ष चुनिएका थिए । नेपालस्थित भारतीय राजदूताबासका प्रेससचिव एम.एस. जुगरानले आफ्नो निवास शान्ति निकेतनमा २०१९ भाद्र ५ गते एक रात्रीभोजको आयोजना गरेका थिए । त्यसमा विदेशी प्रतिनिधिसहित नेपाली पत्रकारलाई आमन्त्रण गरिएको थियो । ‘नौलाख तारा…’ भन्ने गीतमाथि भारतले प्रतिबन्ध लगाएको समाचार त्यतिबेला ‘दि मदरल्याण्ड’ र ‘नेपाल समाचार’ पत्रिकाले प्रकाशन गरेका थिए । त्यही समाचारलाई लिएर जुगरानले रात्रीभोजमै पत्रकारको अपमान गरेका थिए । ‘समाचार छाप्ने पत्रकार मेरो घरबाट निस्केर गैजाउ’ भनेपछि दि मदरल्याण्डका सम्पादक मणिन्द्रराज श्रेष्ठ र नेपाल समाचारका सम्पादक शंकरनाथ शर्मा रात्रीभोज समारोहबाट निस्केका थिए ।
अपमानको विषयले नेपाली पत्रकारमाझ नयाँ वहस शुरु गरिदियो । दुईजना पत्रकारको अपमान नभई सिंगो नेपाली पत्रकारको अपमान गरिएकोरुपमा पत्रकारले लिए । केही पत्रकारले जुगरानको अपमानका विरुद्धमा नाराबाजीसमेत गरे । मित्रराष्ट्र भारतबीरुद्ध नाराबाजी गरेको भन्दै पत्रकारलाई प्रशासनले पक्राउ गरेको थियो (देवकोटा, २०५१, पृ. १४५) । जुगरानको विरुद्धमा संघ बोलोस् भनेर २१ जना पत्रकारले लिखित हस्ताक्षरसहितको पत्र संघलाई बुझाएका थिए । पत्रमा संघको भेला ४८ घण्टा भित्र बोलाइयोस् भन्ने माग गरिएको थियो । संघले केही प्रतिक्रिया नदिएपछि पत्रकार मणिन्द्रराज श्रेष्ठले संघको कार्य समिति र साधारण सदस्यबाट राजीनामा पेश गरे । २०१९ भाद्र १० गते असन्तुष्ट पत्रकारको खिंचापोखरीस्थित मीरा होममा बैठक बस्यो । बैठकले दुईजना पत्रकारमाथि भएको जुगरानको अपमानलाई नेपाली पत्रकारको अपमान भएको ठहर ग¥यो । तीन महिनासम्म भारतीय समाचार प्रकाशन नगर्ने निर्णय पनि ग¥यो । सोही बैठकले तत्काल संघको नयाँ कार्य समिति गठनको माग गरेपछि २०१९ असोज १५ गते बसेको पत्रकारको भेलाले पशुपतिदेव पाण्डेलाई अध्यक्षमा चुनेको थियो । सो कार्य समितिमा सचिव मणिकलाल श्रेष्ठ, कोषाध्यक्षमा विनय गुरुवाचार्य, सदस्यमा शशिकला शर्मा, शिवहरसिंह प्रधान, मदनलोचन सिंह, गोविन्द वियोगी थिए । पाण्डेले २०२५ सम्म संघको नेतृत्व गरेको थियो ।
मणिन्द्रराज श्रेष्ठ
जुगरानको घटनाले पत्रकार विभाजित भएका थिए । तिक्तताले पत्रकार बाँडिएपछि पुनः पत्रकारबीचको एकताको महशुस गरियो । २०२३ फागुन २४ देखि २७ गतेसम्म काठमाडौंमा पत्रकारको सम्मेलन आयोजना भयो । सम्मेलनमा १३९ जना पत्रकारको सहभागिता थियो (देवकोटा, २०५१, पृ. १६२) । सम्मेलनको उद्घाटन तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले गरेका थिए । पछि मणिन्द्रराज श्रेष्ठ संघको अध्यक्ष भए । श्रेष्ठले २०२५ देखि २०२७ सम्म संघको नेतृत्व गरेका थिए ।
गोपालदास श्रेष्ठ
कृष्णप्रसाद भट्टराई नेतृत्वको कार्यसमितिका सहायकमन्त्री राम सिंह गैर नेपाली नागरिक भएको अभियानको नेतृत्व गरेका श्रेष्ठ भट्टराई विरुद्धको समूहको नेतृत्वकर्ता थिए । उनलाई सो कार्य समितिले संघको साधारण सदस्यबाट निष्काशन समेत गरेको थियो । पछि पत्रकारबीच मेलमिलाप भएपछि श्रेष्ठ २०२७ देखि २०३० सम्म संघको अध्यक्ष भएर काम गर्ने अवसर पाएका थिए ।
गोकर्णदेव पाण्डे
पाण्डे २०३० सालदेखि २०३२ सम्म संघको नेतृत्वमा बसे । पञ्यायती शासनकालमा संघको नेतृत्व गर्न धेरै चुनौती थियो । त्यतिबेलाको शासन व्यवस्थासँग जुझ्दै पत्रकारको हकहित र प्रेस स्वतन्त्रताको विषयमा काम गर्नुपर्ने अवस्था थियो । अनेक समस्या र चुनौतिकाबीच पाण्डेले कार्यकाल सम्पन्न गरेका थिए ।
इन्द्रकान्त मिश्र
नेपाली पत्रिकाका सम्पादक समेत रहेका इन्द्रकान्त मिश्रले २०३२ देखि २०३५ सम्म संघको नेतृत्व गरेका थिए । मिश्र तत्कालिन संघका नवौं अध्यक्षकोरुपमा निर्वाचित भएका थिए । उनको कार्यकालमा पनि संघलाई निरन्तरता दिंदै पत्रकारको हकहितको पक्षमा उल्लेख्य काम भएका थिए । पत्रकारको दायरा फराकिलो बनाउन प्रेस स्वतन्त्रताका विषयमा पत्रकारबीच वहस र पैरवी गरिएका थिए । मुलुकमा लोकतन्त्र आइनसकेको अवस्थामा नेपाली पत्रकारिताको प्रवद्र्धन निकै चुनौतिपूर्ण थियो । तथापि संघलाई जोगाउन पत्रकारको भूमिका सराहनीय थियो ।
मन्जुरत्न शाक्य
शाक्यले २०३५ सालदेखि २०३९ सम्म संघको नेतृत्व गरेका थिए । उनले सुरुमा पत्रकारबीचको एकता कायम गर्दै नेपाली प्रेसको प्रवद्र्धनका निम्ति वाक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पत्रकारले आन्तरिकरुपमा पहल गरेपनि पछि संघलाई पञ्चायती शासकको सेवकको रुपमा पु¥याउन खोजेको भनी विरोध भएको थियो । मिडियामाथि शासकहरुको प्रत्यक्ष निगरानी रहेकाबेला संघलाई जोगाइराख्न नसकेकै कारण संघ विभाजन हुन पुगेको थियो । उनको कार्यकाल त्यति सफल नदेखिए पनि संघको नेतृत्व प्रदान गर्नेकाम भएको थियो ।
निर्मलकुमार अर्याल
अर्याल २०३९ सालदेखि २०४३ सम्म संघको नेतृत्वमा रहे । मुलुकको पञ्चायती शासनको उत्तरार्ध र लोकतन्त्र बहालीकानिम्ति आन्दोलनको सुरुवात गर्ने चरणमा संघको नेतृत्व चुनौतिपूर्ण थियो नै । प्रजातन्त्र स्थापनाकालागि नेताहरु आन्तरिकरुपमा सल्बलाएका बेला अर्यालले संघको नेतृत्व गरेका थिए । पत्रकारिताको धर्म निर्वाह गर्नु एकातिर थियो भने अर्कोतिर प्रजातन्त्रकानिम्ति प्रेसले खेल्नुपर्ने भूमिका अर्कोतिर थियो । दुवै पक्षलाई तारतम्य मिलाउन पत्रकारलाई निकै सकस भएकाबेला अर्यालले संघको नेतृत्व सम्हालेका थिए । सो अवधिमा प्रजातन्त्रको पुनर्वहालीकानिम्ति केही राजनीतिकदलका नेताहरु भूमिगत आन्दोलनमा थिए ।
मणिराज उपाध्याय
समाज पत्रिकाका सम्पादक उपाध्याय कृष्णप्रसाद भट्टराई नेतृत्वको नेपाल पत्रकार संघमा मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए । धेरै लामो समयपछि उनलाई संघको नेतृत्वमा आउने अवसर जुरेको थियो । उपाध्यायले २०४३ सालदेखि २०४५ सम्म संघको अध्यक्ष भएर जिम्मेवारी निर्वाह गरेका थिए ।
गोविन्द ‘वियोगी’
पत्रकारबीचमा २०१२ सालमा कलह भएयता पत्रकारबीच एकता र राजधानी केन्द्रीत संघलाई विस्तार गराउने अभियानका एकजना अभियन्ता वियोगी पनि थिए । दाताराम शर्मा नेतृत्वको संघको सदस्यको जिम्मेवारी निर्वाह गरेका वियोगीले संघको तीन वर्ष नेतृत्व गरेका थिए । २०४६ सालदेखि २०४९ सम्म उनले नेतृत्व गरे । उनकै कार्यकालमा प्रजातन्त्रको पक्षमा लड्न आह्वान गरिएको झापा घोषणा वहुचर्चित थियो । वियोगीको कार्यकालमा जारी २०४७ सालमा जारी संविधानले प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको थियो ।
होमनाथ दाहाल
दाहालको कार्यकालमा मुलुकले प्रेसमा उल्लेख्य उपलब्धी हात पारेको थियो । नयाँ प्रेस ऐन बनाउने, संशोधन गर्ने र प्रेसको प्रवद्र्धनका कामहरु उनको कार्यकालका सुखद पक्षहरु हुन् । दाहालले २०४९ देखि ०५२ सालसम्म संघको नेतृत्व गरेका थिए । श्रमजीवी पत्रकार ऐन पनि सोही बेलामा जारी गरिएको थियो ।
हरिहर विरही
जतिबेला मुलुकमा नेकपा माओवादीले सशस्त्र विद्रोह शुरुगरेको थियोे, त्यतिबेला विरही संघको नेतृत्वमा आए । नेपाली प्रेस एक किसिमको भय र त्रासमा पुग्यो । त्यतिबेला राज्य र गैर राज्यपक्षबाट पत्रकारलाई बेला बेलामा धम्की दिने, तर्साउने र आफ्नो पक्षमा समाचारहरु प्रकाशनको दबाव दिने गरिएको थियो । पत्रकारको सुरक्षा र व्यावसायिकता जेगाउने चुनौतिका बीच विरहीले नेतृत्व गरेको संघले सो कार्यकालमा पनि उल्लेख्य काम गरेको थियो । विरहीले २०५२ सालदेखि २०५४ सालसम्म संघको नेतृत्व सम्हालेका थिए । सोही कार्यकालमा २०५३ जेठ २८ र २९ गते धरानमा भएको संघको वार्षिक साधारणसभाले संघबाट महासंघमा जानेगरी विधान संशोधन गरेको थियो । संघलाई महासंघमा रुपान्तरित गर्ने गहन जिम्मेवारी विरही सभापति रहनुभएको समयमा भएको हो । यस दृष्टिले विरहीलाई रुपान्तरित महासंघको प्रथम सभापति मान्नु पर्दछ (दाहाल, २०६० पृष्ठ ७ ) ।
किशोर नेपाल
विरहीको पालामा नै सैद्धान्तिकरुपमा संघलाई महासंघ बनाउने निर्णय भएपनि व्यवहारतः किशोर नेपालको पालामा महासंघ कार्यान्वयनमा आयो । उहाँकै पालादेखि नेपाल पत्रकार संघ, महासंघमा रुपान्तरण भएको मान्न सकिन्छ । नेपालले २०५४ देखि २०५६ सालसम्म दुईवर्ष महासंघको नेतृत्व गरेका थिए । नेपालका पालामा पनि नेपाली प्रेसको उत्थान र पत्रकार हकहितका विषयमा थुप्रै काम भएका थिए ।
सुरेश आचार्य
२०५६ मंसिर १९ गते सम्पन्न महासंघको महाधिवेशनले आचार्यलाई सभापतिमा चयन गरेको थियो । उनकै पालादेखि सभापतिको कार्यकाल दुई वर्षबाट तीन वर्ष कायम गरिएको हो । आचार्यको पालादेखि पत्रकारको न्यूनतम पारिश्रमिकको मुद्दाले चर्चा पाएको थियो । पत्रकारको क्षमता अभिबृद्धि, प्रेस स्वतन्त्रता र पत्रकारको पारिश्रमिकका विषयमा सो कार्यकालमा उल्लेख्य काम भएका थिए । आचार्यले २०५९ सालसम्म महासंघको नेतृत्व सम्हालेको थिए ।
तारानाथ दाहाल
२०५९ सालदेखि ०६२ सम्म महासंघको नेतृत्व सम्हालेका दाहालको पालामा पत्रकारको दक्षता अभिबृद्धि, सम्पादकीय स्वतन्त्रता, प्रेस नीति र सूचनाको हकका विषयमा पर्याप्त छलफल, वहस र उपलब्धी हासिल भएका थिए । माओवादीको सशस्त्र विद्रोह कायमै रहेकाले पत्रकारको सुरक्षाको विषय उनको कार्यकालमा चुनौतिको विषय थियो । उनकै कार्यकालमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गरी प्रेसमाथि दमन गरेका थिए । २०६१ साल माघ १९ को शाही घोषणाविरुद्ध बोल्ने महासंघ पहिलो पेशागत संस्था थियो ।
विष्णु निष्ठुरी
निष्ठुरी २०६२ देखि ०६५ सालसम्म सम्ममहासंघको सभापति रहे । उनकै कार्यकालमा २०६२÷०६३ सालको जनआन्दोलन सफल भएपछि तत्कालिन नेकपा माओवादी र सात दलबीच विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति प्रक्रियामा माओवादी आएपनि द्वन्द्वकालिन धङ्धङी माओवादी कार्यकर्तामा कायमै थियो । पत्रकारमाथिको आक्रमण र धम्की रोकिएको थिएन । तथापि महासंघको दायरा विस्तार, प्रेस स्वतन्त्रको रक्षा तथा प्रवर्धन र पत्रकार हकहितका विषयमा उनको कार्यकालमा महत्वपूर्ण कामहरु भए ।
धर्मेन्द्र झा
झा महासंघको नेतृत्वमा पुग्ने मधेसमूलका पहिला पत्रकार थिए । झाले २०६५ देखि ०६८ सम्म महासंघको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए । मुलुकमा लोकतन्त्रको स्थापना पश्चात् शुरुभएको उनको कार्यकालमा नेपाली प्रेसको दायरा झन फराकिलो हुने अवसर पाएको थियो । पत्रकारको सुरक्षा, व्यावसायिक पत्रकारिता, नेपाली प्रेसलाई जिम्मेवार बनाउने महत्वपूर्ण कदमहरु चालिएका थिए । उनको कार्यकालमा पत्रकार महासंघमा सदस्यता बृद्धिदेखि दक्षता अभिबृद्धिका लागि तालिम प्रशिक्षणको राम्रो वातावरण बनेको थियो ।
शिव गाउँले
गाउँलेले २०६८ देखि ०७१ सालसम्म महासंघको अध्यक्ष भएर नेतृत्व सम्हाले । उनकै पालामा महासंघको कार्यालय टहराबाट आधुनिक भवनमा सारिएको थियो । पत्रकार कल्याण कोष खडागरी त्यसमा उल्लेखय रकम जम्मा गर्ने काम गाउँले नेतृत्वको कार्यसमितिले गरेको थियो । पत्रकारको सुरक्षा, सम्पादकीय स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिकको कार्यान्वयनको उल्लेख्य काम सो कार्यकालमा भएको थियो । पत्रकारको दक्षता अभिबृद्धिकालागि थुप्रै तालिम र प्रशिक्षणहरु सञ्चालनमा आए । महासंघमा पत्रकारको सदस्यता वृद्धिदेखि गुणस्तरीय पत्रकारिताका लागि सो कार्यकालमा काम भएका थिए ।
डा. महेन्द्र विष्ट
डा. विष्ट २०७१ वैशाख २० र २१ गते काठमाडौंमा भएको २४ औं महाधिवेशनबाट महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । महासंघको विधानमा तीनवर्षे कार्यकाल रहेपनि विष्ट तीन वर्ष साढे तीन महिना अध्यक्षको जिम्मेवारी निर्वाह गरे । स्थानीय तहको निर्वाचनले महासंघको महाधिवेशन सम्पन्न गर्न ढिलाई भएको हो । उनकै पालामा पत्रकार दुर्घटना विमा, ज्येष्ठ पत्रकार बृत्ति सम्मान, पत्रकार शैक्षिक बृत्ति लगायतको कार्यक्रम सञ्चालन गरिए । पत्रकारको दक्षता अभिबृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको पहल पनि विष्टकै पालामा भएको थियो । पत्रकारको न्यूनतम पारिश्रमिकमा शतप्रतिशत बृद्धि गर्नुकासाथै श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका निम्ति सञ्चार प्रतिष्ठानका साथै सरकार, संसदीय समिति र अदालतमा पनि सशक्त पहल भएका थिए । मुलुकमा भएको परिवर्तित र आमसञ्चार क्षेत्रका नयाँ आयमलाई समेट्दै नयाँ राष्ट्रिय सञ्चार नीति, २०७३ र पत्रकार आचार संहिता, २०७३ विष्टकै कार्यकालमा संशोधन भएको थियो । विष्टकै कार्यकालमा मुलुकमा नयाँ संविधान २०७२ असोज ३ गते जारी भएको थियो । जसमा प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ । नेपाल पत्रकार महासंघको विधान संशोधनमार्फत संगठनात्मक ढाँचामा पुनर्संरचना गरी संघीय समावेशी र ट्रेड यूनियन मैत्री बनाउने कामपनि यही अवधिमा भएको थियो । २०७४ भाद्र ४ र ५ गते काठमाडौंमा भएको २५ औं महाधिवेशनले गोविन्द आचार्यलाई महासंघको अध्यक्षमा निर्वाचित गरेको छ ।
निस्कर्ष :
स्थापनादेखि अहिलेसम्म आउँदा नेपाली मिडियाको चरित्र र महासंघका दायरा निकै फराकिलो भएको छ । पत्रकार महासंघको नेतृत्वले प्रेस स्वतन्त्रताको जगेर्ना, पत्रकारको भौतिक तथा पेशागत सुरक्षा, क्षमता विस्तार, संगठनात्मक पुनर्संरचना, व्यावसायिक पत्रकारिताको प्रवर्धन, नीतिगत सुधार लगायतमा काम गर्दैआएको छ । तरपनि प्रेस स्वतन्त्रा, भौतिक तथा पेशागत सुरक्षा, मिडियाको नीति तथा ऐन कार्यान्वयन, नीतिगत सुधार, आचार संहिताको पालना, संगठनलाई विस्तार, क्षमता अभिवृद्धि, विभिन्न संघ संस्थाहरुसँग सहकार्य लगायतका पक्षमा अझ धेरै काम गर्न आवश्यक छ । त्यसकालागि नेतृत्वले नेतृत्व लिने र त्यसमा सबैले सहयोग पु¥याउन जरुरी हुन्छ । त्यसअतिरिक्त विगतमा भएका राम्रा कामको स्वामित्व लिने र कमजोरीबाट शिक्षा लिएर नयाँ ढंगले अघि बढ्नु पर्ने हुन्छ ।
सन्दर्भ सामग्री
चौधरी, लक्की । २०७२ । संहिता । काठमाडौंः प्रेस काउन्सिल नेपाल ।
चौधरी, लक्की । २०७३ । चौतारी । काठमाडौंः प्रेस चौतारी नेपाल ।
चौधरी, लक्की । २०७४ । नेपाली पत्रकारिता चुनौति र उपलब्धी । काठमाडौंः नेपाल पत्रकार महासंघ ।
थापा, सूर्य । २०७३ । चौतारी । काठमाडौंः प्रेस चौतारी नेपाल ।
दाहाल, तारानाथ । २०६० । हाम्रा अग्रज र हाम्रो इतिहास । गोपाल बुढाथोकी (सं.),पत्रकारिता (पृष्ठ ३–८) । काठमाडौं, नेपाल पत्रकार महासंघ ।
देवकोटा, ग्रीष्मबहादुर । २०५१ (दोस्रो संस्करण) । नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास । काठमाडौंः साझा प्रकाशन ।
नेपाल पत्रकार महासंघ विधान । २०७४ । काठमाडौंः नेपाल पत्रकार महासंघको विधान २०६० (परिमार्जित २०७४) ।
विष्ट, महेन्द्र । २०७२ । पत्रकारिता । काठमाडौंः नेपाल पत्रकार महासंघ ।
विष्ट, महेन्द्र । २०७३ । पत्रकारिता । काठमाडौंः नेपाल पत्रकार महासंघ ।
विष्ट, महेन्द्र २०७३ । चौतारी । काठमाडौंः प्रेस चौतारी नेपाल ।
२०७४ भदौ १९ गते प्रकाशित