१७ फागुन, भक्तपुर । होली पर्वमा विकृति फैलाउँदै लोला हान्ने, पानी छ्याप्नेलगायत कार्य गर्नेलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको छ ।
होली पर्वको नाममा जथाभाबी लोला हान्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिए । प्रहरी प्रशासनले होली पर्वलाई विकृतिमुक्त बनाउनका लागि सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको छ ।
विगतमा बिस्केट जात्रा, गाईजात्राजस्ता चाडपर्वमा विकृति फैलाउन सहयोग पुर्याउने होली पर्वमा प्रहरीको विशेष निगरानीमा राखेको बताउँदै विकृति फैलने कुनै कार्य नगर्न प्रहरीले आग्रह गरेको छ ।
होलीको दिनमा समेत कसैको इच्छा विपरीत होलीको नाममा फोहोर पदार्थ फाल्ने, रङ्गे दल्ने, जबर्जस्ती लोला हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत बढीमा दुई वर्षसम्मको जेल सजाय हुने प्रहरीले जनाएको छ ।
विगतमा यस्ता विकृतिका कारण लोला लागेको कानको जाली फुट्ने, घाइते हुने भएको र लोला हान्दा ज्यानै जान सक्ने भएकाले यस्ता कार्यमा संलग्न हुनेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही गरिने महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले बताए ।
जिल्ला प्रशासन कार्यालयले पनि कहीँ कतै होली पर्वका नाममा यस्ता गलत कार्य भएमा तुरन्त प्रहरीलाई खबर गर्नसमेत अनुरोध गरेको छ । रासस