७ भदौ, काठमाडौं ।
शिक्षा मन्त्रालयले अटेर गर्ने उपसचिवलाई तीन दिनभित्र खटाइएका स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गरी सो निर्देशन दिएको हो । मन्त्रालयले करिब डेढ महिनाअघि ७८ जना उपसचिवलाई महानगर, उपमहानगर र नगरपालिकामा खटाएको थियो ।
उपप्रधान तथा शिक्षा मन्त्री स्तरीय निर्णयअनुसार तीन दिनभित्र खटाएको स्थानीय तहमा हाजिर हुन नजाने भएमा कारण खोली लिखितरुपमा निवेदन दिनसमेत निर्देशन गरेको छ ।
खटाइएको स्थानमा हाजिर पनि नहुने र निवेदन पनि नलेख्ने कर्मचारीलाई अर्को कुनै पनि व्यवस्था गर्न नसक्ने पत्रमा उल्लेख छ । मन्त्रालयले कनिष्ठ कार्यकारी अधिकृत कार्यरत स्थानीय निकायमा वरिष्ठ उपसचिवलाई नपठाउने जनाएको छ ।
शिक्षा मन्त्रालयका उपसचिव देवकुमार बरालले मन्त्री श्रेष्ठ स्वयंले कनिष्ठ कार्यकारी अधिकृत रहेको स्थानीय तहमा वरिष्ठ उपसचिव नखटाइने निर्णय भएको जानकारी दिए, ।
नेपाल समाचारपत्रबाट ।
२०७४ भदौ ७ गते प्रकाशित