३० साउन, गोरखा –
गोरखाका पाँच जनामा स्वाइनफ्लु पुष्टि भएको छ । गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ ।
एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीका नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षणका लागि पठाएको थियो ।
परीक्षणमा स्वाइनफ्लुका जीवाणु भेटिएपछि बिरामीलाई स्वाइनफ्लु लागेको पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीका अनुसार एक सयजनाको हाराहारीमा रुघाखोकीलगायत समस्या लामो समयसम्म देखिएपछि परीक्षण गर्दा स्वाइनफ्लुको भाइरस एचवानएवान देखिएको हो ।
बिरामीमा रुघाखोकी लाग्ने, घाँटी खुख्ने, ज्वरो आउने, पखला लाग्नेजस्ता लक्षणहरू देखापरेका छन् ।
२०७४ साउन ३० गते प्रकाशित