

२१ साउन, काठमाडौं –
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गर्ने विकल्पबारे छलफल सुरु गरेको छ । अहिलेसम्म तीनवटा विकल्प देखिएका छन्, त्यसमाथि आयोगले छलफल गरिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका पदाधिकारीलाई प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन कति सम्भव छ भनेर सोधेपछि आयोग विकल्पको खोजीमा लागेको हो ।छलफल अहिले प्रारम्भिक चरणमै रहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोग प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र बनाउन सकिने छलफलमा छ । त्यसो हुँदा प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि एउटा र समानुपातिकतर्फका लागि अर्को मतपत्र हुनेछ । मतदाताले दुईवटा मतपत्रमा मतदान गरे पुग्छ । तर, यो विधि अपनाउँदा प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्रभित्र प्रदेशका दुईवटा निर्वाचन क्षेत्र अटाउनुपर्ने हुन्छ । आयोगले यस विषयमा निर्वाचन क्षेत्र निर्धारण आयोगसँग छलफल गर्ने तयारी गरेको छ ।
आयोगले प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि एउटै मतपत्र बनाएर प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन गर्न सकिने विकल्प पनि अघि सारेको छ । यो विकल्पअनुसार प्रदेश सभा र प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मतलाई नै दलले समानुपातिकतर्फ पाएको मत मानिने छ । यो विधि अनुसार एउटा दलको प्रत्यक्षको उम्मेदवारलाई मत दिएर समानुपातिकमा अर्को दललाई मत दिन भने पाइने छैन ।
आयोगले दुवै निर्वाचन एकै दिन गर्न तेस्रो विकल्पमा विद्युतीय मतदान उपकरणको उपयोगलाई लिएको छ । सुगम क्षेत्रमा विद्युतीय मतदान उपकरण उपयोग गरेर बाँकी क्षेत्रमा मतपत्रकै प्रयोग गर्न सकिन्छ । नयाँ पत्रिका दैनिकबाट
२०७४ साउन २१ गते प्रकाशित