
५ साउन, धादिङ –
धादिङमा राजश्व संकलनमा ४६ प्रतिशत बृद्धि भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यलय धादिङले दिएको जिल्लाको वित्तिय विवरण अनुसार आर्थिक वर्ष २०७३/ ०७४ मा अघिल्लो आर्थिक बर्षको तुलनामा राजश्व संकलनमा ४६ प्रतिशतले बृद्धि भएको हो । यस बर्ष कुल ३६ करोड ४७ लाख ८२ हजार ८ सय ६२ रुपैया राजश्व संकलन भएको छ ।
आव २०७२/०७३ मा कुल २४ करोड ९१ लाख २६ हजार १ सय ४२ रुपैया राजश्व संकलन भएको थियो भने आव २०७१/०७२ मा १९ करोड ६९ लाख ८९ हजार ३ सय १५ रुपैया राजश्व संकलन भएको थियो ।
विगतका वर्षहरुमा भन्दा यस बर्ष राजश्व संकलन अत्याधिक बृद्धि हुनुमा विकास बजेटहरु बढी खर्च हुनु र बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण गर्दाको पुँजिगत लाभकर प्रमुख कारक रहेको कोष तथा लेखा नियन्त्रक कार्यलय धादिङका प्रमुख कोष नियन्त्रक यज्ञ प्रसाद ढकालले जानकारी दिए ।
उनले भने, ‘हामीले ३०–३५ प्रतिशतको हाराहारीमा राजश्व बृद्धि हुने अनुमान गरेका थियौ, विगतको वर्ष भन्दा ५० करोड बढी विकास बजेट खर्च भयो, विकास बजेट खर्च हुँदा राजश्वमा बृद्धि हुने नै भयो, घर जग्गाको कारोवारमा बृद्धि भएकै छ, यता बुढीगण्डकी आयोजनाबाट पनि पुजिगत लाभकर आएकाले यस बर्ष राजश्व सकलन बढी देखिएको हो ।’ गत वर्ष ७० करोड मात्रै विकास बजेट खर्च भएको थियो भने यस १ अर्व २० करोड विकास बजेट खर्च भएको ढकालले जानकारी दिए ।
त्यस्तै विनाशकारी भुकम्प २०७२ बाट घरबार विहीन भएका भुकम्प पीडितहरुलाई घर बनाउनको लागि अनुदान स्वरुप वितरण गर्न भनेर आएको रकम मध्ये १ अर्व ३८ करोड ४८ लाख १८ हजार रुपैया वितरण हुन नसकि फिर्ता भएको छ ।
धादिङका ७० हजार ५ सय घरधुरीलाइ अनुदान रकम वितरण गनुपर्ने भएपनि पहिलो किस्ताको रकम बापत ६५ हजार घरधुरीलाइ ३ अर्व २५ करोड रुपैया वितरण गरिएको र दोस्रो किस्ता बापत जम्मा ३ हजार ६ सय २४ घरधुरीलाइ ५४ करोड छत्तिस लाख रुपैया वितरण भएको छ । प्रमुख कोष नियन्त्रक ढकालले भने, ‘पहिलो किस्ताको ५० हजार रुपैया ६५ हजार घरधुरीलाई वितरण गरिएपनि दोस्रो किस्ताको रकम जम्मा ३६ सय २४ घरधुरीलाइ मात्रै वितरण भएको छ । अहिले फिर्ता भएको रकम दोस्रो किस्ताको निकासाको लागि आएको रकम हो ।’
पहिलो किस्ता निसर्त रुपमा दिएपनि दोस्रो किस्ता पाउनको लागि अनिवार्य घरको जग हालेको हुनुपर्ने भएपछि दोस्रो किस्ताको रकम वितरण हुन नसकेको हो । पहिलो किस्ता लिएर घर बनाउनेहरु ज्यादै थोरै रहेको र तीमध्येमा पनि दोस्रो किस्ता पाउन योग्यहरु अझै कम रहेकाले भुकम्प पीडितहरुको लागि आएको रकम फिर्ता भएको हो ।
२०७४ साउन ५ गते प्रकाशित