२ साउन काठमाण्डौ ।
उन्नाइस वर्षमुनि (यु १९) विश्वकप एसियाली छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई चार विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ । सिंगापुरस्थित सिंगापुर क्रिकेट क्लब, पादाङ स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरले २९ ओभरमा ७३ रन जोड्दै अल आउट भयो ।
चौहत्तर रनको झिनो लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । सुरुवाती ब्याट्सम्यान सन्दीप सुनार एक रनमा आउट भए भने आसिफ शेख चार रनमा आउट भएपछि नेपालको इनिङ सुरुमै धर्मराउन थालेको थियो ।
त्यस्तै तेस्रो नम्बरमा आएका प्रनित थापामगरले बनाएको २३ रन नेपाली ब्याट्सम्यानले बनाएको सबैभन्दा धेरै रन हो । नेपालका अनिल साहले १९, दीपेन्द्रसिंह ऐरी दुई तथा प्रकाश केसीले छ रनमात्र जोडे । रोहितकुमार पौडेलले अविजित ११ रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए भने शाहव आलमले तीन तथा किशोर महतोले दुई विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरका ब्याट्सम्यान ब्रिगुर आयरले सर्वाधिक ४२ रन जोडे भने सिन अग्रवालले ११ रन जोड्नुबाहेक अन्यले दोहोर अङ्क जोड्न सकेनन् ।
२०७४ साउन २ गते प्रकाशित