

सरिता श्रेष्ठ / १ साउन, धादिङ –
धादिङको ज्वालामुखीका प्रविन शाक्य आफ्नो दैनिकी करेसाबारीमा नै बिताउँछन् । उनले दशवर्षेदेखि कृषि पेशा गरेर घर व्यवहार चलाइरहेका छन् । आधुनिक प्रविधिसँगै उनले तरकारी खेतीमा आधुनिक प्रविधिको प्रयोग गर्न थालेका छन् । व्यवसायिक खेती गर्नका लागि निकै सहज हुने भएका कारण कृषकहरु आकर्षित देखिन्छन् । सुरुमा बंगुर पालन, माछा पालन गरेका उनले अहिले ट्रनेलमा गोलभेडा, क्याप्सीकम लगायतका तरकारीहरु उत्पादन गर्ने गर्दछ । आफ्नो करेसाबारीमा परम्परागत तरिकाले खेती गर्दै आएका शाक्यले ४ बर्ष अघिबाट नयाँ प्रबिधि अपनाएका हुन ।
५ वर्ष उनी कोरियामा गएर खेतीका बारेमा नयाँ ज्ञान सिकेर आएका थिए । उनी भन्छन् ‘कृषिमा आधुनिकिरकणको आवश्यक छ ।’ उनको कृषि क्षेत्रलाई व्यवस्थित र आधुनिकीकरण गर्न आइसिडिसि धादिङले टनेल, थोपा सिंचाई र ड्रम प्रदान गरेपछि खेती गर्ने तौरतरिका परिवर्तन गरेका हुन् । अहिले टनेलमा गोलभेडा छ । दिनकै १५ केजीको दरले टिप्छु । ५ वर्ष वैदेशिक रोजगारको शिलशिलामा कोरियामा सिकेको ज्ञान तथा सिप यहाँ काम लागेको छ – उनी भन्छन् । एउटा हाईटेक टनेलभित्र पाँच वर्षसम्म खेती गर्न सकिने गरी टेनल निर्माण गरेको छु अब व्यवसायिक बन्न यसले सहयोग पु¥याउने आशा लिएकी छु । तरकारी खेतीबाट मासिक २० देखि ३० हजारसम्म आम्दानी लिने गरेको उनले बताए ।
ज्वालामुखीकै खड्कराज शाक्यपनि ट्रनेलभित्र तरकारी खेती गरेर आम्दानी लिने गर्दछ । रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादनमा बृद्धि र लागत घटाउन ‘हाईटेक टनेल’ भित्र उनले तरकारी खेती गरेका हुन । टनेलभित्र बेमौसमी तरकारी खेती गरेर बढी मूल्य पार्न सकिनुका साथै रोग कम लाग्ने, उत्पादन गुणस्तरीय हुने र श्रमशक्तिको बचत हुने उनको भनाई छ । पहिले खुल्ला ठाउँमा खेती गरिन्थ्यो । उनी भन्छन् –‘रोग किराले हैरान पाथ्र्यो अहिले ट्रनेलभित्र खेती गर्दा वर्षा बढी हुने, फल कुहिने, नलाग्ने जस्ता समस्याबाट वञ्चित छु ।’
यस क्षेत्रमा संकलन केन्द्र पनि स्थापना गरिएको छ । संकलन केन्द्र, सामुदायिक भवन, कृषि सडक, साना सिंचाइका संरचनाहरु बनेपछि स्थानिय खुसी छन् । त्यस्तै खानेपानीको ट्याङकी निर्माणपछि कठिनाई कम भएको स्थान्ीय पम्फा थापा मगरले बताइन् । उनी भन्छिन् – कृषि क्षेत्रमा लगानी र परिश्रम गरियो भने जिविकोपार्जन गर्न त्यहि गाह्रो छैन रहेछ । महिला उद्यमी सहकारी मार्फत गाउँमा संकलन केन्द्र स्थापनाबाट राम्रो फाइदा छ ।
भुकम्पछि धादिङका अधिकाशं क्षेत्रहरुमा खानेपानीको समस्या देखिएको थियो । कतिपय ठाउँमा मर्मत संहार भैसक्यो भने कतिपय ठाउँमा समस्या अझै विद्यमान छ । खानेपानीको समस्या झेल्दै आएकी ज्वालामुखी गाउँपालिका ६ धादिङकी निरमायाँ मास्की भनिछन् खानेपानीकै कारण छिमेकीसँग झगडा परेको हिजो जस्तै लाग्छ । अभावमा यस्तै हुने रहेछ । अहिले भत्किएको ट्याङ्की मर्मत भएपछि सहज भएको छ । न छिमेकीसँग झगडा गर्नु परेको छ न त घरायसी काममा बाधा पुगेको छ । कपडा धोएको, भाडा माझेको जस्ता पानीले सिंचाइमा पनि सहयोग पुगेको छ ।
भुकम्पले क्षत विक्षत बनेका सामाजिक संरचनाको पुनः निर्माणमा यूएनडिपी र आइएमसीको आर्थिक सहयोगमा आइसिडिसि धादिङले विभिन्न क्षेत्रमा सहयोग गरिरहेको छ । यूएनडिपी र आइएमसीको आर्थिक सहयोगमा आइसिडिसि धादिङको संयोजनमा सामुदायिक संरचना पुनः निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रमको साथ पाएपछि भुकम्पले निम्त्याएका समस्याहरु समाधानमा स्थानिय जुटेका हुन् ।
यस कार्यक्रमबाट जिल्लामा ३ हजार ३ घर परिवार लाभान्वित बनेका छन् । सामुदायिक संरचना तथा जिविकोपार्जन सुधार कार्यक्रम अन्तरगत मात्रै पनि धादिङको साविकका गाविसहरु मुरलीभञ्ज्याङ, चैनपुर, ढोला, खरी, मैदी र सलाङमा यस परियोजना संचालन गरिएको कार्यक्रम संयोजक दिपक ढुवाडीले बताए ।
२०७४ साउन १ गते प्रकाशित