१० फागुन, धादिङ। आमा र नवशिशु मृत्युको कारण पत्ता लगाएर सुधारका गतिविधि संचालन गर्नका लागि धादिङमा मातृ शिशु सुरक्षा कार्यक्रम सुरु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङ र ओनहर्ट ओल्डवाइड नेपालले संचालन गर्न लागेको कार्यक्रमको बारेमा आइतबार एक कार्यक्रम गरी औपचारिक जानकारी गराएको हो । जिल्लाका दुर दराजमा समेत सहजै स्वास्थ्य सेवा उपलब्ध गराएर नवजात शिशु र गर्भवतीहरुको ज्यान बचाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको ओनहार्ट ओल्डवाइटका कार्यक्रम निर्देशक सुर्य भट्टले बताएका छन् । महिला र बालबालिहरुले गुणस्तरीय स्वास्थ्य सेवा नपाइरहेको तथ्याङ्कको आधारमा धादिङमा यो कार्यक्रम ल्याइएको हो ।
स्वास्थ्य क्षेत्रमा जिल्लाको आवश्यकता महशुस गरेर विशेषगरी महिलाहरुको स्वास्थ्यमा सुधार ल्याउन घारघरमा नै पुगेर सेवा उलब्ध गराउने निर्देशक भट्टले जानकारी दिए । कार्यक्रम अन्तर्गत विशेष गरी स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर गाउँ गाउँमा परिचालन गर्ने, स्वास्थ्य सस्थाहरुको स्तर उन्नति गर्ने र आवश्यक सामाग्री उपलब्ध गराउने जिल्ला जनस्वास्थ्य अधिकृत जीवनकुमार मल्लले बताए । कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले कार्यक्रमको उद्देश्य प्राप्तीका लागि लक्षित समुदायको आवश्यकता परिचान गरेर काम गर्न आग्रह गरे ।
स्वास्थ्य चौकी भवन, डाक्टर र औषधी भएर मात्र समस्या समाधान गर्न नसकिने भन्दै उहाँले खानेपानी, कृषि, यातायात लगायत सबै क्षेत्रको संगै विकास गर्दै लैजानुपर्ने बताए । विभिन्न संघसस्थाहरुसंग समन्वय गरेर अघि बढ्न पनि जिल्ला स्वास्थ्य कार्यालयलाई सुझाव दिए । आजबाट औपचारिक रुपमा सुरु भएको मातृ शिशु सुरक्षा कार्यक्रम ४ वर्षसम्म निरन्तर रहने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार यस कार्यक्रमका लागि चार वर्षमा ५ करोड ४० लाख रुपैया खर्च गरिनेछ ।