Tue. Nov 26th, 2024

धादिङको सेर्तुङमा लघु जलविद्युत आयोजना संचालनमा

10616222_898815170140058_6576244345775986023_n

धादिङ । धादिङको विकटमा पर्ने सेर्तुङ गाउँ विकास समितिको बोराङमा निर्माण सम्पन्न लघुजलविद्युत आयोजना शनिबारबाट संचालनमा आएको छ ।

आयोजनाको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं पूर्व गृहमन्त्री बुद्धिमान तामाङ शुक्रबार एक विशेष कार्यक्रम सहित उद्घाटन गरेका हुन् । बोराङमा निर्माण सम्पन्न भएको ४० किलोवाट क्षमताको छोक्ला लघु जलविद्युत आयोजनाको औपचारिक उद्घाटन गर्न शनिबार पूर्व गृह मन्त्री तामाङ सहित सभाषद परशुराम तामाङ, धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ हेलिकप्टर चार्टर गरी बोराङ पुगेका थिए ।

सेर्तुङ गाविसको वडा नम्बर १ र २ का स्थानीयहरुलाई लक्षित गरी निर्माण गरिएको लघु जलविद्युत उद्घाटन गर्दै नेता तामाङले सरकारले विद्युत नीति खुकुलो बनाएर नीजि क्षेत्रलाई पनि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । इच्छाशक्ति भए पछाडि पारिएका समुदायको विकास जहिलेपनि सम्भव रहेको प्रष्ट्याउँदै तामाङले जनताको काम गर्न पदमै रहनुपर्छ भन्ने नरहेको धारणा व्यक्त गरे । सडक संजालले छुन नसकेको गाउँमा हेलिकप्टर चार्टर गरेर पुगेका राप्रपा नेता तामाङले ग्रामीण समुदायको विकासका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विजुली, सडक र खानेपानीको लागि व्यक्तिगत रुपमा नै सहयोग गर्दै आएकोले उत्तरी धादिङको विकासको काममा सहयोग गर्न सधै तयार गरेको बताए ।

राप्रपा नेता एवं पूर्व गृहमन्त्री तामाङसंगै लघु जलविद्युत उद्घाटन गर्न बोराङ पुगेका सभाषद परशुराम तामाङ, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ, सामाजिक कार्यकर्ता सिंह तामाङ लगायतले उत्तरी धादिङको विकासको लागि आफुहरु सधै सकारात्मक रहेको बताएका छन् । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, जिल्ला विकास समिति धादिङ र स्थानीयहरुको जनश्रमदान सहित एक करोड ५४ लाख ५० हजार रुपैया लगानीमा लघु जलविद्युत आयोजना सम्पन्न भएको छ ।

आयोजनाको लागि सेर्तुङ गाउँ विकास समितिले पनि एक लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता गरेको उपभोक्ता समितिका अध्यक्ष फैछिरिङ तामाङले जानकारी दिए । आयोजनाबाट स्थानीय ३ सय ५० घरधुरी लाभान्वित भएका छन् । गाउँमा विजुली बत्ति बल्न थालेपनि धादिङको विकटमा पर्ने सेर्तुङ गाउँ विकास समिति बोराङका स्थानीय खुसी भएका छन् । गाउँमा विजुली बलेपछि साँझ विहान बालबच्चा पढाउन सजिलो हुने र कुटानी पिसानी मिल चलाउन समेत सकिने भन्दै स्थानीयहरुले खुसी व्यक्त गरेको सामाजिक कार्यकर्ता सिंह तामाङले बताए । भर्खरैबाट संचालनमा आएको लघुजलविद्युत आयोजना दिगो बनाउन स्थानीयहरुको नै महत्वपूर्ण जिम्मेवारी रहेको उनले बताए ।

About The Author

अन्य समाचारहरु: