
१५ असार, धादिङ –
आज असार १५ अर्थात धान दिवस । धादिङका विभिन्न ठाउँहरुमा धान दिवस धान रोपाइँ गरी मनाइँदैछ ।
जिल्ला कृषि विकास कार्यलय धादिङले नीलकण्ठ नगरपालिका ८ वृत्ताबेसीमा रहेको खेतमा र थाक्रे गाउँपालिकाले पनि धान दिवस मनाउँदै छ ।
कृषि प्रधान देशमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसारको प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व रहेको छ । धानको क्षेत्रफल र उत्पादनलाई केलाउँदा यो अन्य बालीको तुलनामा झन्डै दोब्बर छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन वृद्धि हुँदा कूल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ । घट्दा आर्थिक स्थिति घट्छ । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ । पहिला धान चामल निर्यात गरिन्थ्यो । देशको अर्थतन्त्रमा यसले उल्लेखनीय भूमिका खेलेको छ ।
नेपालले विसं २०६२ देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । वर्षैपिच्छे कृषिमा परनिर्भरता बढ्दैगएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउने प्रचलन चलेको हो ।
संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ । २५ डिग्री तापक्रमदेखि ३२ डिग्री तापक्रमभित्र रही धानखेती गर्न सकिन्छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापा र सबैभन्दा कम मुस्ताङ जिल्लामा हुन्छ ।
२०७४ असार १५ गते प्रकाशित