

सरिता श्रेष्ठ / १५ असार, धादिङ –
मध्यअसार सम्म धादिङ जिल्लामा १० प्रतिशत मात्र रोपाईँ सकिएको छ । चैते धान लगाउन ढिला भएका कारण र ढिला मनसुनका कारण समयमा रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ ।
धादिङ जिल्लामा १६ हजार ५ सय ५० हेक्टर क्षेत्रमा धान खेती गरिदै आएपनि समयमा बर्षा नहुँदा रोपाइँ नै प्रभावित भएको छ । पानीको अभावले गर्दा रोपाई गर्न नसकेका किसानहरु पानी पर्न थालेपछि रोपाईँमा व्यस्त हुन थालेका छन् । बैशाख र जेठ भर पनि पर्याप्त बर्षा नभएका कारण मुल नफुटेको र असार शुरु भएपछि मात्र भएको वर्षाका कारण हालसम्म दश प्रतिशत क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले जानकारी दिए ।
देवकोटाका अनुसार धादिङ जिल्लामा वार्षिक ३७ हजार ९ सय ६७ मेट्रिक टन वर्षे धान र ७ हजार ५ सय मेट्रिक टन चैते धान उत्पादन हुँदै आएको छ । विशेषगरी टारहरु अर्थात कम उचाई भएका ठाउँहरुमा मकवानपुर १, सावीत्री, सुख्खा १, २, ३, ४, ५ रामधान जस्ता धानहरु लगाइने गर्दछ ।
बढि उचाई भएका ठाउँहरुमा अर्थात अलि चिसो हावापानी भएका ठाउँहरुमा खुमल ४, खुमल १०, हर्दिनाथ १, हर्दिनाथ २, सुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान खेती गरिदै आएको छ । जिल्लाको नीलकण्ठ नगरपालिका, सल्यानटार, गजुरी, नौविसे, जीवनपुर, गोगनपानी, कल्लेरी, ज्यामरुङ, सांकोष, त्रिपुरेश्वर, मार्पाक र दार्खा धान खेती हुने पकेट क्षेत्र मानिदै आएको छ । तर यस ठाउँका अधिकांश फाँटहरु पानी नपरेको कारण बाँझै छन् ।
गाउँमा काम गर्ने कामदारको पनि अभाव देखिएको छ । अधिकांश युवाले बैदेशिक रोजगारी र अध्ययनका लागि गाउँ छाडेकाले काम गर्ने कामदारको अभाव देखिएको हो । जिल्लाका ग्रामिण क्षेत्रका अधिकांस भागमा अहिले पनि परम्परागत शैलीमा गोरुले नै रोपाई गर्ने गरिन्छ भने आधुनिक कृषि यन्त्रको प्रयोग पनि बढ्दो क्रममा छ ।
अघिल्ला वर्षहरुमा भूकम्पका कारण खेतबारीमा देखिएको थियो तर अहिले बिस्तारै त्यो पीडालाई भुलेर किसानहरु कृषिकर्ममा फर्कन थालेका छन् । किसानको बस्ने ठाउँ छैन । त्यसैले १ आना जग्गा पनि बाँझो नराखीकन खेती गर्नका लागि कार्यलयले अनुरोध गरेको छ । बस्ने खाने स्थान सुरक्षित नहुँदा पनि किसानहरु खेती गर्न भने छोडेका छैनन् ।
२०७४ असार १५ गते प्रकाशित