मनसुन सुरु भएसँगै किसानहरु खेतबारीमा व्यस्त हुन थालेका छन् । बैशाख र जेठ महिनामा पानीको मुल नफुटेको र असारको सुरु सुरुबाट वर्षाभएसँगै किसानहरुलाई अहिले खेतमा धान रोप्ने चटारो परेको छ । हालसम्म धादिङमा १० प्रतिशत मात्र रोपाईँ सकिएको छ । धान दिवसको रुपमा असार १५ लाई लिने गरिन्छ । धादिङमा हरेक वर्ष धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने गर्दछ । यसै विषयमा जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटासँग पाविलन्यूज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानीको सारसंक्षेप
यस वर्ष धादिङमा कति प्रतिशत धान रोपार्इं सकियो ?
-१० प्रतिशत मात्रै धान रोपाईं सकिएको छ ।
मध्य असारसम्म आइपुग्दा पनि किन ढिला रोपाईँ ?
– विशेषत चैते धान उत्पादन हुने क्रम जारी रहेकाले पनि असारे धान रोपाईंमा ढिला भएको हो । चैते धान पनि ढिलै लगाइएकोले त्यसको प्रभाव अहिले देखिएको छ । अर्कोतर्फ नेपालमा मनसुन भित्रीन ढिला भएकोले वर्षा पनि ढिलै सुरु भयो र रोपाईं पनि ढिलै भएको हो जस्तो लाग्छ । अब असारको अन्तिमसम्म पक्कै धान रोपाईंको गतिले तिव्रता लिन्छ । आकाशेपानीको भर पर्नु भएका कारण पनि रोपाईँ ढिलो भएको हुन सक्छ ।
असार १५ मा मनाइने धान दिवसको सार्थकता के हो ?
– खासगरी किसानहरुलाई प्रोत्साहन गर्न, उनीहरुलाई यसपेशाप्रति सकारात्मक सन्देश दिनका लागि हरेक वर्षको असार १५ गतेका दिन धान दिवस मनाईने गर्दछ । यस दिन किसानहरुसँगै खेतबारीमा रोपाईँ गर्ने, दहिचिउरा खाने र रमाइलो गर्ने चलन छ ।
धादिङमा कति क्षेत्रफलमा धान रोपाईं हुन्छ ?
– वर्षे धान लगाइने क्षेत्रफल १९ हजार ३ सय ५ हेक्टर रहेको छ भने चैते धानको क्षेत्रफल लगभग २६ सय हेक्टर रहेको छ ।
धादिङको हावापानी अनुसार कुन जातको धान लगाउनु राम्रो हुन्छ ?
– धादिङ जिल्लामा विशेषगरी टारहरु अर्थात कम उचाई भएका ठाऊँहरुमा मकवानपुर १, सावीत्री, सुख्खा १, २, ३, ४, ५ रामधान जस्ता धानहरु हामीले लगाउने गरेका छौं भने त्यो भन्दा बढि उचाई भएका ठाउँहरुमा अर्थात अलि चिसो हावापानी भएका ठाउँहरुमा चाहि खुमल ४, खुमल १० जस्ता केहि खुमल जातका धानहरु संगै हाइब्रेड जातका धानहरु लगाउन हामीले किसानहरुलाई सिफारिस गर्दै आएका छौं । त्यसैगरी हाइव्रिड धान पनि अत्याधिक मात्रामा किसानहरुले लगाउने गरेको पाइन्छ ।
धादिङमा धान उत्पादनको अवस्था कस्तो छ ?
– वार्षिक वर्षे धानको उत्पादन लगभग ३७ हजार ९ सय ६७ मेट्रिक टन रहेको छ भने वर्षे धानको तुलनामा चैते धानको उत्पादकत्व अलि कम छ । चैते धान चाहिं लगभग ७ हजार ५ सय मेट्रिक टन उत्पादन हुँदै आएको छ । खाली जग्गाहरुमा खेती नगरी घर बनाउने क्रम बढेकोले पनि धानखेतीमा ह्रास आएको छ ।
हरेक वर्ष जिल्ला कृषि विकास कार्यलय धादिङले कृषकहरुलाई अनुदानमा धानको विऊ दिइरहेको छ, अनुदानमा पाएको विऊले उत्पादन दिएन भन्ने गुनासो पनि त्यत्तिकै छ नी ?
– एकदमै राम्रो पश्न सोध्नुभयो । गत साल हर्दिनाथ १ जातको धान हामीले कृषकहरुलाई दिएका थियौं । यो जातको धान चैतमा लगाउनुपर्ने थियो । चैतमा लगाउनुपर्ने धान भएपनि उहाँहरुको माग अनुसार हामीले वर्षामा दियौं । वर्षा सिजनमा यो जातको धान लगाऊँदाखेरी धानमा नेकब्लास्ट भन्ने बालाको फेद कुहिने रोगले गर्दाखेरी धान खेती सखाप भयो । त्यसकै प्रभावले हुन सक्छ कृषकहरुबाट कृषिले दिएको विऊ फलेन, रोग किराहरुको प्रकोप बढि भयो भन्ने गुनासो छ । तर यस वर्ष हामीले मकावनपुर १, सावित्री, सुख्खा, सुख्खा ५, रामधान जस्ता धानका विऊहरु वितरण गरेका छौं । म किसानहरुलाई यस वर्ष के विश्वास दिलाउन चाहन्छु भने– ‘तपाईंहरुले लगाएको धान यसवर्ष कुनै पनि किसिमको रोग किराबाट क्षती हुँदैन । राम्रो उत्पादन हुन्छ । ढुक्क हुनुहोस् ।’
यसपाली कतिले अनुदानको धान लगाए ?
– यस वर्ष हामीले थारै मात्र विउ वितरण गरेका छौं । लगभग २३ सय ५० किलो मात्रै धानको विऊ जिल्ला कृषि विकास कार्यलय धादिङले कृषकहरुलाई वितरण गरेको छ । यो निकै थोरै हो, नगन्य नै हो । हामीलाई त धेरै विऊ चाहिन्छ । धादिङमा धान उत्पादन हुने क्षेत्रफल लगभग १९ हजार ५ सय हेक्टर छ । त्यस हिसावले जिल्ला कृषि विकास कार्यलयले वितरण गरेको २३ सय ५० किलो धान निकै नै थोरै हो । गतसाल हामीले मुलविऊ दिएको हर्दिनाथ १ जातको धान विग्रिएको कारणले विऊको अभाव सिर्जना भयो र हामीले सबै किसानहरुलाई धानको विऊ पु¥याऊन सकेनौं । केहि किसान साथीहरुले त आफुले उत्पादन गरेको धानको विऊ अर्को साथीलाई दिएर पनि सहयोग गर्नुभएको छ ।
भूकम्पले रोपाईँमा कत्तिको प्रभाव पारेको छ ?
– भुकम्पको प्रभाव त रोपाईंमा मात्रै होइन सबैतिर छ । किसानको बस्ने बास छैन । तर पनि १ आना जग्गा पनि बाँझो नराखीकन किसानहरुले चैते धान लगाऊनुभएको छ । बस्ने खाने स्थान सम्म सुरक्षित नहुँदा पनि किसानहरु खेती गर्न भने एकदमै लालायीत देखिनुभएको छ । यो निकै खुशीको कुरा हो ।
जिल्ला कृषि विकास कार्यलय धादिङले किसानहरुको हक हितका लागि कस्ताकस्ता कार्यक्रमहरु गरिरहेको छ ?
– अवश्यै नै किसानहरुकै लागि भनेर जिल्ला कृषि विकास कार्यलय भएको हो । हामीले किसानहरुका पक्षमा विविध कार्यक्रमहरु गरेका छौँ । किसानहरुलाई अनुदान दिने, बिमा गर्ने, औजारसामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिएका छौँ । किसानहरुका गुनासा सुनि समाधानका लागि पहल पनि गरेका छौँ । असार ३० गते हाम्रो यो आर्थिक वर्ष सकिन्छ र साऊनबाट नयाँ आर्थिक वर्ष सुरु हुन्छ । देश अहिले संघियतामा गइसकेको छ । अब गाऊँपालिका, नगरपालिकाबाट हाम्रो सम्पुर्ण कामहरु हुन्छ । अब मलाई जहाँसम्म लाग्छ जिल्ला कृषि विकास कार्यलय १ वर्ष सम्म मात्रै जिल्लामा रहन्छ । अबको नयाँ कार्ययोजनाको जिम्मा त संभवत स्थानिय स्तरबाटै संचालन हुन्छ ।
अन्तमा,
– किसान दाजुभाई दिदिबहिनीहरुलाई हाम्रो मुख्य खाना भात भएकोले धान लगाऊने यो सिजनमा जग्गा बाँझो नराख्न म अनुरोध गर्छु । दुई बाली धान अबको आर्थिक संवृद्धीको आधार भएकोले धान खेतीमा लाग्न पनि म किसान साथीहरुलाई विनम्र अनुरोध गर्छु ।
२०७४ असार १५ गते प्रकाशित