
१४ असार, काठमाडौँ –
राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गसाथ सहभागी भई मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेकी छन् ।
उनले नेपाली जनताको लामो सङ्घर्षको फलस्वरूप नेपालको संविधानसभाद्वारा निर्मित संविधान जारी भएपछि हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा निर्वाचन शान्तिपूर्ण ढङ्गले सफल बनाउन यस्तो आह्वान गरेकी हुन् ।
‘देश सङ्घीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र उक्त संरचनाअन्तर्गत सबै निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था गरेको छ । निर्वाचनको शृङ्खलाको रूपमा व्यापक जनसहभागितासहित वैशाख ३१ गते पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको सवर्विदितै छ । ’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले विज्ञप्तिमा भनेकी छन् । , ‘स्थानीय तहको दोस्रो चरणको निर्वाचनको पनि उत्तिकै महत्व छ । यस निर्वाचनले स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्याई सामाजिक र आर्थिक समृद्धिको ढोका खोल्नेछ भन्ने मलाई विश्वास छ । ’
यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत बुधबार हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न सबैमा आह्वान गरेकी छन् ।
मतदानको अघिल्लो दिन मङ्गलबार एक सन्देश दिँदै उहाँले भन्नुभयो, “यस ऐतिहासिक अवसरमा प्रथम चरणको निर्वाचनमा सहभागी नागरिकको जस्तै सक्रिय रूपमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्न म सम्पूर्ण मतदाता दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अपिल गर्छु । ”
प्रधानमन्त्री देउवाले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले संविधानसभामार्फत बनाएको नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सङ्घीय शासन प्रणालीको व्यवस्था गरेकोमा जनताको सबै भन्दा नजिक रहेको जनप्रतिनिधि छनोट गर्ने अन्तिम अवसरको सदुपयोग गर्ने समयमा नेपालीहरू उभिएको सन्देशमा उल्लेख गरिएको छ। गोरखापत्र दैनिकबाट
२०७४ असार १४ गते प्रकाशित