Tue. Nov 26th, 2024

सुध्रिएनन् राजमार्गका होटल

????????????????????????????????????

शंकर श्रेष्ठ / १२ असार,  धादिङ   –

एक त कलंकी–नागढुंगा–नौबिसे सडकखण्डमा घन्टौँ जाम, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । त्यसमाथि गुनासो गर्दा होटल सञ्चालकबाट दुव्र्यवहार । होटल संचालकहरुले मनपरी मुल्य असुल्ने गरेको पाइएको छ ।

धादिङका राजमार्गका होटलमा सञ्चालकको मनपरी पाइएपछि पटक पटक अनुगमन पनि भइरहेकै छ । तर प्रभाव खासै देखिएको छैन । यात्रुले खानामा अखाद्य सामाग्री मिसिएको गुनासो मात्र गरेका छैनन्, उनीहरुले खाना सफा भएन भन्दा होटलका संचालक र मजदुरले दुव्र्यवहार गर्नुका साथै धम्क्याउने गरेको बताएका छन् ।

केही दिन अघि संचारकर्मी अर्जुन श्रेष्ठले चिकेन चाउमिनमा कपालको रौं र कमिला फेला पारे । गल्छीको कान्तिपुर होटलका विरुद्ध उनले जिल्ला प्रशासन कार्यालयमा मौखिक उजुरी गरेका छन् । श्रेष्ठले भने ‘एक सय २० तिरेर चिकेन चाउमिन खान लाग्दा रौं र टाउके कमिला भेटेँ, चाउमिन फिर्ता गरेर मःमः माग्दा अचार सढेर अमिलो थियो, होटलवालालाई भन्दा अरु सबैले यहि खाएका छन् तिमी होटलमा हल्ला नगर भनेर धम्क्याए ।’

काठमाण्डौबाट चितवन जाँदै गरेका एसबी बस्नेतले वेनिघाटको एक होटलमा मःमः खान पहिला पैसा तिरे । पैसा तिरेको चिट लगेर भान्सामा बुझाए । केही बेरमा मःमः आयो । तर मःमः काँटाचम्चाले टिप्नै नमिल्ने थियो । उनले भने ‘होटलवालाले उल्टै थर्काउदो रहेछ ।’

‘खानु भन्दा पहिले नै पैसा तिरेर खान लागेको मःमः दुई डल्लो पनि खान सकिएन, होटल वालासंग बोलेकी कुटुम्ला जस्तो गर्दाे रहेछ । हाम्रोमा हुने यस्तै हो, खाए खाउ नत्र जाउ भन्दै उल्टै थर्काए’ उनले भने ।
यात्रुहरुले होटलमा पसेर खानेकुरा खांदा आफुहरु ठगिनु परेको, खानाको बारेमा सोधपुछ गर्दा उल्टै र्दुव्यवहार सहनुपरेको बस्नेतले बताए । चालक र होटल मालिकको मिलेमहतोमा यात्रु ठगी गर्ने गरेको उनले गुनासो गरे ।

सधै यहि बाटो हिडिराख्नुपर्छ, माइक्रो यहीं रोक्छ । होटलवालालाई महंगो भयो ? खाना चिसो रहेछ ? भनेर सोध्न समेत हुदैन खानाको साटो गाली खाइन्छ, वोल्नै पाईदैन । नखाए के खाने ? एक पोखराका सुरेन्द्र लामिछानेले भने । पृथ्वी राजमार्गको सिम्ले स्थित नमस्ते नेपाल होटलले सादा खानाको १ सय ५० मुल्य भित्तामा टाँस गरेको छ, तर एक सय ८० रुपैयाँ लिइरहेको होटल संचालकहरु नै स्वीकार गर्छन् ।
प्रायजसो धादिङ काठमाण्डौ गर्ने गाडी रोकिने गरेको साथीभाई खाजाघरले एक प्लेट चनाको ५० रुपैयाँ सम्म लिने गरेको पाइएको छ ।

पृथ्वी राजमार्गको नौविसे देखि वेनिघाट आसपासका होटलहरुले यात्रुलाई सेवा दिने नाममा गुणस्तरहीन खाना खुवाएर मनपरी पैसा असुल्ने गरेको भेटिएको हो । राजमार्गका होटलहरुले दुषित खाने कुरा खुवाउने गरेको गुनासो आएपनि अनुगमनमा खटिएका जिल्ला प्रशासन कार्यालयले अनुगमन टोलीले भने त्यस्तो नभेटिएको प्रतिकृया दिएका छन् । बुधबारको अनुगमनमा संलग्न लिलाधर अधिकारीले भने–‘अहिले सरसफाई र मुल्यलाई प्राथमिकता दिइएको छ, गुनासो आएजस्तो अनुगमनमा प्रमाणहरु फेला परेनन् ।’
अनुगमनमा परेका अधिकांश होटल फोहोरी भेटिएका छन् । बाहिरबाट टिलिक्क देखिएका होटलको पनि खानामा भने गुणस्तर नभएको उपभोक्ताहरुले गुनासो गरेका छन् । होटलहरुले किचन र भाँडा माझ्ने ठाउँ एकै ठाउँमा चलाएको समेत भेटिएका छन् ।     ‘बाहिर सरसफाई छ खानामा गुणस्तर छैन । मुल्य सूचि राखेको छ । तर आफ्नै मनोमानीमा तयार गरेको छ’ खाद्य अधिकार जिल्ला संजालका राजाराम सिटौलाले बताए ।

होटल सञ्चालकको मिलेमतोमा वस तथा माईक्रोबस चालकले २० मिनेट मात्र खाना तथा खाजा खाने समय राखेर यात्रुलाई अप्ठ्यारोमा पार्ने गरेका छन् । २० मिनेटमा शौचालय जान, हातमुख धुने र खाना, खाजा खान भ्याईदैन । एउटै होटलमा एकै पटकमा दशौ गाडी र सयौ यात्रु हुने हुदां शौचालयमा, धारोमा र टेवलमा समेत पालो पाउन गाह्रो पर्दछ । काठमाण्डौ आउदै गरेको रामकुमार थापाले भने ‘खाना थप्न त कता हो कता पहिलेकै खाना बुत्याउन भ्याइदैन ।’ यस्ता होटलहरुलाई सरकारले नै कडाई पूर्वक अनुगमन गर्नुपर्ने यात्रुहरुले बताएका छन् ।

राजमार्ग क्षेत्रमा वस तथा माईक्रोबसहरुले खाजाखाना खुवाउने अधिकांश होटलहरुले खुवाउने खानामा मिसावट भेटिने गरेका छन् । राजमार्गका होटललाई शुद्ध र सफा बनाउन जिल्ला प्रशासन कार्यालय धादिङ, वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत बेला बेला अनुगमन गर्ने गरेको भएपनि त्यसको खासै प्रभाव देखिएको छैन ।
होटलसंगै राखिएका किराना पसलहरुबाट म्याद नाघेका खाद्य सामाग्रीहरु भने अनुगमन टोलीले जफत गरेको छ ।
२०७४ असार १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: