
३१ जेठ, धादिङ –
गाउँमा बाँदर आतंक मच्चिएपछि धादिङका किसानहरुले बाँदर आतंक नियन्त्रणको माग गर्दै बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन् ।
बाँदरले चिथोरेका मकैको घोगा र अन्य अन्नवाली सहित बोकेर पीडित किसानहरुले प्रदर्शन गरेका हुन् । पीडित किसानहरुले बाँदरले चिथोर छोडेका मकैको घोगाले माला बनाएर घाँटीमा लगाएका थिए ।
वर्साैदेखि गाउँमा बाँदर आतंक मच्चिदै आएको र वर्सेनि जिल्ला प्रशशासन लगायत निकायहरुमा बाँदर नियन्त्रणको माग गर्दै आएपनि सुनुवाइ नभएपछि प्रदर्शनमा उत्रिएको बाँदर पीडित समूहका अध्यक्ष तिलप्रसाद लम्सालले बताए । ‘५ वर्षदेखि पटक पटक नियन्त्रण गरिदिनुस् भनेर गुहार्दै आएका छौं, आश्वासन भन्दा केही भएन ।’ लम्सालले भने ‘आश्वासनले हामीलाई भएन, जसरी हो हामीले खाने अन्नबाली जोगाइदिनु प¥यो ।’
पछिल्लो समयमा बाँदरको आतंक बढ्दै गएपछि निलकण्ठ नगरपालिकाको वडा नं ९ देखि १२ सम्मका किसान र ज्वालामुखी गाउँपालिकाका किसान निकै पीडित बनेका छन् । बाँदरले न खेतीपाती गर्न दियो, न खाद्यान्न घरमा रहन दियो । घरमा पकाएर राखेको खाने कुरा समेत झिकेर खाइदियो । निलकण्ठ १० का सालिकराम लम्साल भन्छन् ‘धपाउन गयो भने हिजोआज त मान्छेलाई नै झम्टेर आक्रमण गर्छ ।’
खेतबारीमा लगाइएको धान, मकै र नगदे बालीहरु बाँदरले खाइदिने र नष्ट गरिदिएर आतंक मच्चाउने क्रम झनै बढेपछि पिडित किसानले बाँदर आतंक नियन्त्रणका लागि यस अघि पनि पटक पटक जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय र जिल्ला कृषि कार्यालयलाई गुहार्दै आएका थिए । प्रदर्शनपछि बुधबार पनि प्रमुख जिल्ला अधिकारी महेश आचार्यलाई निवेदन दिँदै बाँदर पीडित किसानले आफ्नो खेतबारीको अन्नबाली, फलफुल र तरकारी संरक्षणको माग राखेका छन् ।
बाँदरले फल्न, फुल्न र पाक्न लागेको बालीनाली नष्ट बनाएका कारण कतिपय गाउँ बजारबाट किनेर ल्याइएको अन्नमा निर्भर रहनुपर्ने बाध्यता सिर्जना भएको किसानको गुनासो छ । बाँदर आतंकले कृषि उत्पादन सबै नष्ट भएको कारण बसाई सर्नुपर्ने अवस्था आएकाले प्रशासन गुहार्नु परेको स्थानीय नवराज दुवाडीले बताए ।
गाउँले मिलेर धपाए पनि केही दिनमै फर्किने बाँदरले घरभित्र भण्डारण गरेको अन्न समेत खाइदिन थालेपछि किसान हैरान छन् । किसानले बाँदर आतंक नियन्त्रण गर्न प्रभावकारी बिधि खोजीदिन वा बाँदरले पर्¥याएको क्षतीपुर्तीको व्यवस्था मिलाउन प्रशासन, वन कार्यालय र कृषि कार्यालय समक्ष आग्रह गरेका छन् । माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने किसानले चेतावनी दिएका छन् ।
२०७४ जेठ ३१ गते प्रकाशित