सरिता श्रेष्ठ / ३१ जेठ, धादिङ –
बिहानको ८ बजेको छ । सविना चेपाङ स्वाँस्वास गर्दै उकालो चढ्दै छिन् । चिउडोबाट पसिना तप्प–तप्त झरिरहेकै छ । दुई चार पाइला सार्छिन, उभिएर खुइइ गर्छिन्, फेरी अघि बदै भन्दै थिइन् ‘आज पनि स्कुल जान ढिला हुने भयो ।’
पिठ्यूमा झुण्डिएको गाग्रीसंगै पोठेजोरी खेल्दै उकालो चढ्नु सविनाको दैनिकी नै हो । उनी भन्छिन् ‘विहान त सधै पानी बोकेर बित्छ ।’ घरमा पढ्ने भन्ने त हामीलाई थाह्रै छैन ।
सविनाको मात्रै होइन स्यामेडाँडाका अधिकांश बालबालिकाको दैनिकी हो यो । गजुरी गाउँपालिका स्थित स्यामेडाँडाका बालबालिका रात्तीनै उठेर पानी बोक्न नगए स्कुल जान पाउँदैन् । ‘विहान चारै बजे उठेर पानी बोक्न जानु पर्छ, ९ बजेतिर मात्रै घर पुगिन्छ । विहान उठ्न ढिलो भएको दिन पानीकोे लाइन पछि पर्ने भएकोले स्कुल जानै भ्याइदैन’ सविनाले आफ्नो वास्तविकता सुनाउँछन् ।
ललिता चेपाङ पनि बिहानै उठ्छिन् । अरुले थाहा पाउँछन् कि भनेर चाल नदिई गाग्री समातेर कुवातिर ढौडिन्छिन् । कुवामा कसैले उछिन्छ कि भनेर एक्लै जान्छिन् । पानी पु¥याएर स्कुल पनि जानु छ । उनी पछि आएका साथीहरु पालो कुरीर बसिरहेका छन् । एक दिदीले घाँस काट्न जाने, अर्को दिदीले खाना पकाउने र उनको जिम्मा पानी ल्याउने रहेको छ । दुई वर्ष अघि आमाको मृत्यु भएपछि घरपरिवारको जिम्मेबारी तीनै दिदीबहिनीमा आएको छ ।
सविना र ललिताको मात्र होइन यो श्यामैडाँडाका चेपाङ बालबालिकाहरुको दैनिकी यसरी नै बित्ने गर्छ । प्राय बालबालिकाहरु बिहान उठ्ने बित्तिकै चिया नास्ता खान्छन् अनि हातमा किताब बोक्छन् अनि पढ्न बस्छन् । तर श्यामैडाँडाका अघिकांश चेपाङ बालबालिकाहरुको दैनिकी पानी लिन जादा नै बित्ने गर्छन् । उनीहरुलाई विद्यालय कतिखेर जाने भन्ने होइन कि आज कुवामा पानी पाइन्छ कि पाईदैन भन्ने कुराको चिन्ता हुने गर्छ ।
श्यामैडाँडामा १ सय ६४ घरधुरी छ । गाउँभरीमा ४ वटा मात्र कुवा छन् । गाउँ नजिक भरपर्दो मुहान छैन । बस्तीबाट एक, डेढ घण्टा हिडेर पानी लिन जानुपर्ने हुन्छ । दिनभरीमा एक ग्रागी पानीले टार्नुपर्छ गजुरी ६ का बिमला चेपाङ बताउँछिन् – ‘तिर्खा मेट्ने गरी पानी समेत खान पाउँदैनौँ ।’ हामीलाई त पानीको थोपा थोपाको महत्व छ । गाउँमा कोही नयाँ पाहुना आएमा दिने पानीं समेत हुँदैन । पानी माग्दै एलडियो, सिडियो कहाँ पनि पुग्यौ तर चेपाङको समस्या कसले सुनिदिने । हाम्रा समस्या ज्युकात्यु छन् । पानी खाने गरेको पँधेरोे त सुक्यो नै अन्य साना खोल्सीहरूको पानी समेत सुकेपछि गाउँमा पानीको हाहाकार मच्चिएको छ । अझ भूकम्पले पानीको मुहान सुकाएपछि अहिले रातभर कुवामा लाइन बसेर एक गाग्रो पानी भर्ने गरेको विमलाले बताइन् ।
स्यामेडाँडा र आसपासका स्थानीयहरू विहान ३ बजेनै छोराछोरी उठाएर अन्धकारमै डेढ घण्टाको बाटो पिठ्युमा गाग्री झुण्डाएर पानीको लाइनमा पठाउन बाध्य छन् । खानेपानीको अभावले गाउँमा चरम निराशा बढेको छ । गाउँको पँधेरामा पानी आउन छाडेपछि चेपाङ समुदायले तरकारी खेती गर्न, गाई वस्तुलाई पानी खुहाउन त परै जाओस् राम्रोसंग कपडा धुन समेत पाएका छैनन् । एक गाग्री पानी ल्याउन घण्टौ लाग्छ, छोराछोरीलाई पकाएर खुवाएर स्कुल पठाउनु भ्याइदैन । गाउँलेहरू भन्छन् ‘पानी हामीलाई रगत भन्दा महंगो बनेको छ ।’
पानीको जोहो गर्न पढाइ छाड्न बाध्य
आमाबुबा बिहान बेलुकाको जोहो गर्न काममा जाने गर्छन् भने बालबालिकाहरु पानी दिन कुवामा झर्छन् । कक्षा ४ मा पढ्दै गरेकी रञ्जिता चेपाङ भन्छिन् घण्टौँ लगाएर पानी दिन जानुपर्ने हुदाँ कुर्दाकुर्दै ढिला हुने र विद्यालय छुट्ने गर्छ । गाउँभरीमा चारओटा पानीको मुहान छ । पानीका मुहानहरु बस्तीभन्दा धेरै टाढा टाढा छन् । पानीका लागि राती देखिनै लाइन बसेर कुर्नुपर्ने हुन्छ । त्यसले गर्दा बालबालिका पढाई समेत प्रभावित बनेको स्थानीय रामहरि चेपाङले बताए । एक त रात्तिनै उठेर पानी लिन गएपछि बच्चाहरू स्कुल जान भ्याउँदैनन् । पानी लिन नगए स्कुलमा पानी पिउन पाउँदैनन् । ‘व्यक्तिगत र घर आँगन सरसफाई गर्न सक्ने त कुरै छैन’ चेपाङले भने । यहाँका स्थानीयलाई दैनिक खानेपानीको पिरलोले सताउने गर्छ । पानीको जोहो गर्न धेरै बालबालिकाहरुले त पढाइ नै छाडिदिएका छन् ।
कुपोषणबाट ग्रसित छन् बालबालिकाहरु
यहाँका अघिकांश बालबालिकाहरु कुपोषणको समस्याबाट ग्रसित छन् । आमाको दुध, पौष्टिक आहार, तौल, नियमित खोप नलगाउँदा धेरै बालबालिकाहरु कुपोषणको सिकार बनेका छन् । गाउँमा उत्पादन गरेको अन्न ३ महिना मात्र खान पुग्छ अरु समय जंगलका कन्दमुल खान्छन् । ‘आमाले खान पाए पो दूध आउँछ र शिशुले दूध खान पाएर बढ्छ । हरियो सागशब्जी देख्नै पाउँदैनन्’ – संगीता चेपाङ बताउँछिन् । ‘छाक टार्नै त मुस्किल छ, के हो पोषिलो खानेकुरा ?’ साधारणतया जन्मनेबित्तिकै शिशुको तौल तीन किलोग्रामको हाराहारीमा हुन्छ । तर यहाँका शिशुहरुको तौल दुई, साढेदुई किलोग्राम जति हुने गर्छ । अलि ठूलो टाउको तथा ठूला मान्छेका औँला जत्रा मात्र हात र खुट्टा छन् । ख्याउटे शिशु जन्माउने गर्छ ।
सातामा एकपटक मात्र नुवाइधुवाई
श्यामैडाँडाका स्थानीयहरुले सातामा एकपटक मात्र नुहाउन, लुगा धुन पाउँछन् । पानी लिनका लागि घण्टौँ धाएर कुवामा जानुपर्छ भने लुगाधुनका लागि त्यो भन्दा तलको खोलामा जानुपर्ने बाध्यता छ । नुहाउनका लागि सानासाना बालबालिकाहरुलाई पनि बोकेर खोलामा लैजानुपर्ने हुन्छ । शनिबारको दिन त नुहाईधुवाईमा नै बित्ने गरेको स्थानीयहरु बताउँछन् ।
२०७४ जेठ ३१ गते प्रकाशित