Mon. Mar 10th, 2025

तीनै तहको चुनावपछि मात्र एमाले सरकारमा जान्छ : अध्यक्ष ओली


२९ जेठ,  धादिङ  –

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनैै तहको चुनावपछि मात्र पार्टी सरकारमा जाने बताएका छन् ।

नेकपा एमाले ३ नं प्रदेश कमिटीले सामेबार स्थानीय तहको चुनावमा ३ नं प्रदेशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा उनले भने – ‘स्थानीय तह, प्रदेश र संघको चुनाव सकिएपछि अरु सबै दलहरु मिले पनि सरकारमा जानबाट एमालेलाई रोक्न सक्दैन ।’

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका दलहरु मिलेर एमालेलाई प्रतिपक्षमा राखेजस्तो अवस्था तीनै तहको निर्वाचनपछि नहुने उनले बताए।

उहाँले भरतपुरमा मतपत्र च्यातिएको, भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित गरिएको र एमालेले जित्ने ठाउँमा सत्तारुढ दलले षड्यन्त्र गरेको आरोप लगाए।

‘अरुले दौडेर जित्ने अवस्था छैन, छिर्के लगाएर लडाउने काम भएको छ, ललितपुरमा त्यही काम भएको हो, जितेको मान्छेलाई हराइएको छ’ – पार्टीको सजगतामा कमी भएको तथ्य औँल्याउँदै उनले भने।

अध्यक्ष ओलीले जनप्रतिनिधिलाई संविधान पढ्न र जिम्मेवारीपूर्वक काम गर्न सुझाव दिँदै स्थानीय सरकार पहिलेको स्थानीय निकायजस्तो नभएको हुँदा संविधानले तोकेको जिम्मेवारी पूरा गर्न जनप्रतिनिधि सक्रिय हुनुपर्ने बताउनुभयो । ‘संविधान पढ्नुभएको थिएन होला, अब संविधानको सबै पाना पल्टाउनुपर्छ, अनुसूची भनेको के हो थाहा पाउनुपर्छ’ – अध्यक्ष ओलीले थपे ।

स्थानीय तहमा उपाध्यक्षले न्यायिक समितिको नेतृत्व गर्नुपर्ने स्मरण गराउँदै उनले भने – ‘तपाईंहरुले न्यायाधीशको काम गर्नुपर्छ । निष्पक्ष रुपमा गर्नुहोला । जोखाना हेरेर हुँदैन । जितेर अबिर लाउनुभयो तर अब प्रमाणित गरेर देखाउनुपर्ने बेला भयो ।’

अध्यक्ष ओलीले निर्वाचित महिलालाई घरव्यवहार धान्ने र स्थानीय तह कुशलतापूर्वक सञ्चालन गर्ने दोहोरो जिम्मेवारी आइपरेको पनि उल्लेख गरे । रासस

 
२०७४ जेठ २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: