

मनिष दुवाडी / २२ जेठ, धादिङ –
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत जीवन उपयोगी तालिम लिएपछि धादिङको गल्छी गाउँपालिकाका विपन्न समुदायका ब्यक्तिहरु आत्म निर्भर बन्न थालेका छन् ।
नेपाल सरकार उद्योग मन्त्रालयको सहयोग तथा घरेलु तथा साना उद्योग विकास समिति धादिङको समन्वयमा जनअधिकार सरोकार महासंघ नेपालले गल्छी गाउँपालिकाको २२ किलामा रहेका विपन्न समुदायका स्थानियहरुलाइ आयआर्जन मुलक सीप प्रदान गरेपछि उनीहरु आत्मनिर्भर बन्न थालेका हुन ।
गाउँ उद्यम विकास समितिले छनौट गरेर विपन्न, दलित र कम आय भएका समुदायका स्थानियहरुलाइ उनीहरुकै माग र चाहाना अनुसारको तालिम दिएपछि उनीहरुमा आत्मविश्वास बढेको र काम गर्ने हौसला मिलेको जनअधिकार सरोकार महासंघ नेपालका अध्यक्ष दीपक कार्कीले बताए । उनले भने, ‘हामीले आफ्नो तरिकाले तालिम दिएको नभइ ब्यवसायिक सीप विकास तालिम केन्द्रको पाठ्यक्रम अनुसार स्थानिय स्रोत, समुदायगको चाहाना तथा बजारको माग अनुसारका तालिमहरु दिएका हौँ ।’
सुरुमा गाविस स्तरीय अभिमुखीकरण गरेर गाविसले सिफारिस गरेका समदायका ब्यक्तिहरुलाइ उनीहरुकै चाहाना अनुसारको सीममुलक तालिम दिइएको सस्थाले जनाएको छ । बाइस किलामा ब्यसायिक तरकारी खेतीको लागि ९ जना, सुनचाँदीका गरगहनाको आधुनिक डिजाइनको लागि ११ जना र बुटिक तालिमको लागि ८ जनालाइ तालिम दिइएको थियो । बुधवार तालिमको अनुगमनमा पुग्नुभएका जिल्ला समन्वय समितिका योजना अुनगमन अधिकृत युवराज अर्याल लगायतको टोलीले पनि सीपमुलक तालिम लिएपछि आफ्नै ब्यवसाय सुरु गर्न स्थानियहरुलाइ आग्रह गरे ।
हातेकडाइ (कपडामा बुट्टा भर्ने) तालिम लिएकी मनिता गहतराजले भनिन् , ‘कमाइको कुनै स्थायी स्रोत थिएन, काम गर्नको लागि पनि हातमा सीप थिएन, अहिले हाते कडाइ तालिम लिएको छु, घरमै बसेर फुर्सदको समयमा पनि हातमुख जोर्ने पैसा कमाइन्छ ।’
जनअधिकार सरोकार महासंघले तालिम दिने काम मात्र नभइ तालिम लिएपछि ब्यवसाय सुरु गर्न ऋण लिनको लागि सहकारी र वित्तिय संघसस्थाहरुसंग पहल गरिदिने र उत्पादित सामाग्रीहरुको बजारिकरणको लागि पनि सहजीकरण गर्ने गरिवि निवारणको लागि लघु उद्यम विकास कार्यक्रमकी कार्यक्रम संयोजक समिता पञ्जियारले बताए ।
गल्छी गाउँपालिका बाहेक महासंघले हालसम्म धादिङका ४ वटा गाउँपालिका(तत्कालिन गाविस) विपन्न समुदायहरु छनौट गरि सीपमुलक तालिमहरु प्रदान गरेको छ । ज्वालामखुी गाउँपालिकामा बुटिकमा १४ जना र च्याउखेती तर्फ १५ जना त्यस्तै गंगाजमुना गाउँपालिकामा हाते होजीयारीमा १२ जना र बाँसको मुढा तथा ¥याकको लागि १३ जना लाइ तालिम दिइएको छ ।
त्यस्तै बेनिघाट रोराङ गाउँपालिकाको हर्कपुरमा सिलाइकटाइमा १४ जना र कुखुरापालनमा ५ जना गरि जिल्लाभर १ सय २३ जनालाइ तालिम दिइएको महासंघले जनाएको छ । तालिम लिएपश्चात कतिपयले ब्यवसाय नै सुरु गरिसकेका छन ।
२०७४ जेठ २२ गते प्रकाशित