सरिता श्रेष्ठ / ९ जेठ, धादिङ –
चुनावी चहलपहल सकिएसँगै धादिङबेसीका बजारमा व्यापारीहरुको चहलपहल बढेको छ । अहिले गाउँका साना व्यवसायीहरु धादिङबेसीका ठूला व्यवसायीसँग सामान लैजान व्यस्त छन् । यसअघि लगेका खाद्यन्न सामग्रीहरु चुनावले सकिएपछि व्यापारीहरु खाद्यन्न सामग्री ढुवानी गर्न बजार झरेका छन् ।
धादिङका अधिकांश ग्रामीण बाटोहरु छोटो दुरीमै दर्जनौं खाल्डाखुल्डी, कतै साधुरो बाटोले सवारीसाधन गुड्नै नसक्ने अवस्था भएको छ । हिउँदमा जसोतसो सवारीसाधन चल्ने यस्ता सडक बर्खा सुरु हुँदै जाँदा जुनसुकै बेला बन्द हुने अवस्थामा छन् । यस्तो बेलामा गाउँमा स्टक सामान राख्नुपर्ने हुन्छ । करीब दशै अगाडि सम्मका लागि उत्तरका व्यवसायीहरुलाई गाउँसम्म सामान पु¥याउनका लागि अहिले चटारो परेको छ ।
“बर्खा लाग्यो, ग्रामीण बाटो बिग्रिन थालेको छ । गाउँमा स्टक सामान राख्नुपर्ने हुन्छ । अहिले खाद्यन्न लैजान सकेन भने बर्खा अवधिभर खाद्यन्नको अभाव सहनुपर्छ । त्यसैले अहिले सामान ढुवानी गराउन हामीलाई हतार छ” – खनियाबास गाउँपालिकाका स्थित झार्लाङका सुदिप तामाङ भन्छन् ।
उत्तरको रुलीभ्याली, खनियाबास, गंगाजमुना लगायतका गाउँपालिहरुका बर्खामा गाडी जान सक्दैन । खनियाबासको आधा भाग र रुवीभ्यालीको कुनै पनि वडामा अहिलेसम्म सडक सञ्जाल पुग्न सकेको छैन भने नेत्रावती गाउँपालिकाको मार्पाक, सत्यदेवीमा पनि गाडी जान सक्दैन । गंगाजमुनाको बसेरी, री, गुम्दीमा पनि बखालागेपछि गाडी पुग्दैन । त्यस ठाउँमा पर्याप्त अन्न उत्पादन पनि हुँदैन ।
सदरमुकामदेखि जे लगियो त्यहि मात्र पर्याप्त छ । नुन तेल, चामल सदरमुकामबाट अहिले नै लगेर जोहो गर्न नसके व्यापारीले बेच्न त परै जाओस स्थानीयलाई खाद्यन्न जोहो गर्न मुस्किल पर्छ ।
गाउँमा भूकम्पका कारण भत्केका घरहरु निर्माण कार्य पनि भइरहेका छन् । घर बनाउनका लागि आवश्यक सामानहरु लैजादा ढुवानी खर्च बढी आउने भएका कारण खाद्यन्न सामग्री लैजानका लागि गाह्रो मान्ने गरेको व्यापारी महेन्दो लामा बताउँछन् । अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष ढुवानी पनि महङ्गीएको छ । अहिले सामान लैजान सकेन भने बर्खामा खान पाइन्न, त्यसैले जति महङगो भएपनि सामान लैजानै प¥यो तामाङ बताउँछन् ।
धादिङका अधिकांश यातयातका साधनहरु चुनाव प्रचारप्रसारका लागि प्रयोग गरिएकोले गाउँमा स्टक रहेका सामानहरु सिद्धिएका छन् । बर्खा अगावै सामान पु¥याउनु पर्ने बाध्यताका कारण धादिङबेसीका बजारमा ग्रामीण क्षेत्रमा चल्ने यातयातका साधनहरु पनि सडक छेउमा अस्तव्यस्त छन् ।
२०७४ जेठ ९ गते प्रकाशित