भोलाराज पौडेल
२ फागुन, नुवाकोट ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले लोकतान्त्रिक जनआन्दोलनका शक्तिहरुलाई पन्छाएर संविधान जारी गर्नुको कुनै अर्थ नहुने बताएका छन् ।
प्रेस युनियन नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले बहुमतको आडमा १२ बुँदे सहझदारीदेखि पछिल्लो संविधानसभाको मताधिकारलाई समेत आधार बनाएर न्यूनतम सहमतिमै संविधान जारी गर्नुपर्छ भन्ने आफ्नो भनाई रहेको बताए । नेता केसीले पूर्ण सहमतिमा संविधान जारी भएको कुनै पनि देशमा इतिहास नभएको स्पष्ट पार्दै प्रमुख विषयहरुमा भने सहमति आवश्यक हुने बताए । ‘संसारका २८ वटा देशमा बनेका संविधान सहमतिबाट नभई प्रक्रियाबाटै भएको पाइन्छ, नेता केसीले भने– राप्रपा नेपाल, राप्रपा, जनमोर्चा, मधेशवादी सबै दलको सहमति कहाँबाट जुट्छ ?’ केसीले सबै राजनीतिक दलको भावनालाई संयोजन गरेर न्यूनतम साझा अवधारणाको विकास गर्नुपर्नेसमेत सुझाव दिए ।
केसीले कुनै पनि राजनिति दलले विचार र बादविवादबाट निष्कर्षमा पुग्न छाडेर समानान्तर सत्ताको दुस्वप्न नदेख्न आग्रहसमेत गरेका थिए । दलहरुले पनि सत्ताको घमण्ड गर्न नहुने र सत्ता बाहिरका दलहरुले पनि विचारको राजनितिदेखि भागेर लाठीको राजनिति गरेर कही नपुग्ने बताए ।
नेता केसीले अहिलेको राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर न्यूनतम विषयमा सहमति कायम गरी संविधान जारी गर्नका लागि एकीकृत नेकपा माओवादी तयार हुनुपर्ने बताए । उनले आन्दोलनको नाममा लाठी बोक्ने दस्ता बनाउने र संघर्षको कार्यक्रम अघि सारेर देशले निकास नपाउनेसमेत बताए । संविधान निर्माणको काम धारो, कुलो, बाटो बनाएर जस्तो फाष्ट ट्याकबाट बनाउन नसकिने बताउँदै प्रक्रियागत रुपमा नै बनाउनुपर्ने बताए ।