

१ बैशाख, धादिङ –
राष्ट्रपति विद्यावेदी भण्डारीले नयाँवर्ष २०७४ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गरी नयाँ वर्षको अवसरमा जारी गरेको शुभकामना सन्देशमा ‘राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक-सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र राष्ट्रलार्ई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी रहेको हुँदा हाम्रो देशमा भएको प्रचुर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध एवम् सम्मुनत वनाउने दायित्व हाम्रो काँधमा आएको छ’ सन्देशमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले नयाँ वर्षको आगमनसँगै मुलुक नयाँ सोच, शैली र गन्तव्यसहित अगाडि बढ्नुपर्ने बेला भएकाले सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सकोस् भन्ने कामना गरेका छन् ।
सन्देशमा भनिएको छ,, ‘लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्नु अहिले हाम्रो प्रमुख कार्यभार भएकाले यसको सुदृढीकरणमा सम्पूर्ण नेपालीले आ(आफ्नो क्षेत्रबाट योगदान पुर्याउने अपेक्षा गर्दछु ।’ राष्ट्रपति भण्डारीले नयाँ जोश, उमङ्ग र उत्साहसहित मुलुक र मुलुकवासीमा नयाँ वर्ष २०७४ ले खुसीको सञ्चारसहित सुदृढ राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै शुभकामना प्रकट गरे ।
उपराष्ट्रपतिद्वारा शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७४ अवसरमा शुभकामना सन्देश दिँदै २०७४ सालमा संविधान कार्यान्वयन र आर्थिक, सामाजिक रूपान्तरणसहितको समुन्नत र सम्बृद्ध राष्ट्र निर्माणजस्तो मुलुकको साझा एजेन्डामा सबैको ध्यान जाओस् भनी कामना गरेका छन् ।
उपराष्ट्रपति पुनले शुभकामना सन्देशमार्फत ‘आफ्नो भाग्यको फैसला आफैँ गर्ने’ स्थानीय तहको निर्वाचनमा सहभागी भएर लामो सङ्घर्षपछि प्राप्त अधिकारको प्रयोग गर्न कोही पनि वञ्चित हुनु हुन्न भनेका छन् ।
सन्देशमा उहाँले राष्ट्रको समुन्नति, समृद्धिका साथै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी(बहिनी तथा दाजुभाइमा नयाँ सुःख, शान्ति, सु–स्थास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरे । रासस
२०७४ बैशाख १ गते प्रकाशित