
मनिष दुवाडी / २६ चैत, धादिङ –
धादिङको खनियावास गाउँपालिका अन्तरगत सत्यदेवीका बुद्धिबहादुर तामाङले १५ हजार लगानीबाट मासिक १० हजार कमाइ गर्न थालेपछि गाउँमै उदाहरणीय बनेका छन । ४३ वर्ष भएका बुद्धिबहादुरले यो उमेर सम्म खासै केही ब्यवसाय नगरेपनि अहिले १५ हजारको लगानीबाट च्याउ खेती सुरु गरेपछि अहिले च्याउ विक्रीबाट मासिक १० हजार कमाउन थालेका छन । तामाङले भने, ‘४३ वर्षको उमेर भई सके खासै प्रगति गर्न सकिएन । अब यही च्याउ खेति नै घरखर्च धान्ने ब्यवसाय भएको छ ।’
३ छोरा र २ छोरीका पिता उनी आम्दानीको अन्य श्रोत नभएको र कृषिमै भर पर्नु पर्ने भएकाले छोरा छोरीको पढाईलाई समेत राम्रोसंग अगाडि बढाउन नसकेको बताए । अहिले २ छोरा रोजगारीको शिलशिलामा विदेशमा छन् । अन्य ३ छोरा छोरी गाउँमा नै पढ्दै छन् । ठुली छोरी १० कक्षा, सानी छोरी ३ कक्षा र सानो छोरा १ कक्षामा पढ्दै गरेका छन । बुद्धिबहादुरको आफ्नै नाममा एक रोपनी जग्गा समेत छैन ।
घर खर्च चलाउन ज्यादै समस्या भएपछि छोरालाई बिचैमा पढाई छोडाई बिदेश पठाउन बाध्य भएका बुद्धिबहादुरले भने, ‘८ जनाको परिवार सासु आमाको नाममा रहेको ५ रोपनी जग्गाबाट हुने उत्पादनले खान समेत धौ–धौ भयो । त्यसपछि छोराहरुलाइ विदेश पठाए, उनीहरुको कमाइले उनीहरुलाइ नै विदेश पठाउला लागेको ऋण नै तिर्न ठिक्क छ, त्यसैले घरखर्च चलाउन अहिले आँफै च्याउ खेती गर्न थालेको हुँ ।’
बालबच्चाको पठनपाठन र सामान्य घरखर्च चलाउन समेत धौ धौ हुन थालेपछि बुद्धिबहादुरले अहिले गाउँमै च्याउ खेती सुरु गरेका हुन । भुकम्प पछि सत्यदेवीमा जिविकोपार्जनको कार्यक्रम संचालन गरिरहेको सस्था एक्सन नेपालले उनलाइ च्याउखेती गर्ने तालिम संगै पराल काट्ने मेसिन, टनेलका लागि प्लाष्टिक र बीउ खरिदको लागि साढे ७ हजार नगद समेत दिएपछि उनले च्याउ खेती गर्न सुरु गरे । च्याउखेतीमा उनको लगनशिलता देखेर जिल्ला कृषि विकास कार्यलयले पनि उनलाइ ३ दिने च्याउ खेती गर्ने तरिका र प्राविधिक सहयोगहरुको विषयमा तालिम दिएपछि उनले च्याउको खेती गर्न सुरु गरेका हुन ।
च्याउ बेचेर आएको आम्दानी राम्रै भएपछि उनले ब्यवसाय गर्न ढिलो गरेकोमा पछुतो मान्छन । ‘हामी गाउँका स्थानियलाइ समय समयमा तालिम र प्रोत्साहन नै छैन ।’ बुद्धिबहादुरले भने, ‘अवसर पाएदेखी त गाउमै राम्रै कमाइ गर्न सकिने रहेछ नी त । छोराहरुलाइ विदेश पठाउनु भन्दा पहिले नै यो तालिम लिन पाएको भए छोराहरुलाइ विदेश नै नपठाइ यही ब्यवसाय गर्न हुन्थ्यो ।’
३ महिना अगाडिबाट च्याउ खेती सुरु गरेका तामाङले उत्पादन गरेकोे च्याऊ घरबाटै बिक्रि हुने गरेको र माग अनुसारको उत्पादन गर्न नसकेको बताए । ‘दैनिक १५ केजी च्याउको माग छ, यहाँका मानिसहरुले अहिले मासु भन्दा च्याउ बढी खोज्ने गरेका छन । तर सानो लगानीबाट व्यवसाय सुरु गरेकाले धेरै उत्पादन गर्न सकिएको छैन ।’ अब विस्तारै उत्पादन बढाउदै लाने योजनामा रहेको उनले सुनाए ।
अहिले प्रति केजि २ सय ५० का दरले च्याउ बिक्रि गर्दै आएको र महिनामा १० हजारसम्म आम्दानी गर्न सफल भएको उनको भनाई छ । ‘छोराहरुलाई विदेश पठाउन ४ लाख खर्च भएको छ । कमाई कस्तो हुने थाहा छैन ।’ बुद्धिबहादुरले भने, ‘देशमा रोजगारीको संभावना नदेखेर छोराहरुलाई विदेश पठाए तर त्यति पैसा यही लगानी गर्न पाएको भए यही रामै्र हुने रहेछ ।
२०७३ चैत २६ गते प्रकाशित