

शंकर श्रेष्ठ / १८ चैत, धादिङ –
२०७३ बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धादिङका गाउँवस्तीहरुमा अहिले चुनावको निकै चर्चा छ । २ दशक पछि हुन लागेको निर्वाचनको चौतारो, चिया पसल, पँधेरोमा समेत चर्चा तीव्र बनेको छ ।
स्थानीय निकायको चुनावको मिति घोषणा भएदेखि राजनीतिक दलहरु आफ्नो पक्षमा माहोल बनाउन गाउँ पसेका छन् । मत आफनो पक्षमा पार्न राजनीतिक दलहरुले पनि गाउँ गाउँमा चुनाव केन्द्रित बैठक र छलफल सुरु गरेका छन् ।
केही दिनदेखि जिल्लाभर चुनावी माहौल तातेको छ । २०५४ सालपछि अहिले स्थानीय निकायको निर्वाचनमा हुन लागेको हो । स्थानीय निकायमा कुन पार्टीबाट कसले टिकट पाउलान्, कसले चुनावमा जित्ला, कुन तहमा कसको बर्चस्व रहला भन्ने विषयमा जताततै बहस हुन थालेको छ ।
विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीले प्रचारप्रसार गर्दै जन–भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन् । आगमी चुनावलाई लक्षित गरेर गाउँमा पार्टीका गतिविधिहरु अघि बढाएको नेताहरुले बताएका छन् । नेकपा एमालेका सांसद गुरुप्राद बुर्लाकोटीले भने ‘लामो समयपछि जनताले स्थानीय जनप्रतिनिधि छान्ने अधिकार पाएका छन्, त्यो अधिकार स्थापित गराउन हामीले गाउँमा चुनाव लक्षित कार्यक्रमहरु गरिरहेका छौं ।’
जिल्लाका गाउँ, सहर सबै स्थानमा अहिले स्थानीय तह निर्वाचनकै कुराले प्राथमिकता पाएको छ । प्रमुख दलका नेताहरु गाउँ पस्न थालेपछि मतदाताहरु अवचाहि चुनाव हुन्छ भन्नेमा आशावादी बनेका छन् ।
नागरिकहरुबाट विरोधका स्वरहरु नआएकाले चुनाव हुनेमा दलका नेताहरु पनि ढुक्क देखिएका छन् । आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर अहिले गाउँगाउँमा वडा भेला गाउँ भेला गरिरहेको नेपाली कांग्रेस धादिङका पूर्व सांसद रामनाथ अधिकारीले बताए । जिल्लाको पूर्वी भेगबाट सोमबारबाट नेपाली काँग्रेसले चुनावी कार्यक्रम सुरु गर्ने उनले जानकारी दिए ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि जिल्लाव्यापी अभियानका कार्यक्रमहरु गरिरहेका छन् । निर्वाचनप्रति जनताको चासो बढाउन र कार्यकर्ताहरुलाई जागरुक बनाउन दैनिक वडा भेला गाउँ भेला गर्दै घरदैलो अभियान थालेको नेकपा एमालेका नेता प्रेम सिलवालले बताए ।
दलहरु आ–आफ्नो पार्टीको एजेन्डा लिएर गाउँगाउँ र टोलटोलमा पसेका छन् । स्थानीय नेताहरु उमेदवार छान्ने प्रक्रियामा छन् भने निर्वाचन हुने आशामा स्थानीयबासी खुसी छन् । चुनावको मिछि घोषणाअघि नै कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावी सक्रियता देखाउँदै आएका थिए ।
२०७३ चैत १८ गते प्रकाशित