१२ चैत, धादिङ –
दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) र सालक संरक्षण अभियान धादिङमा तीव्र बनेको छ । एक वर्ष अघि उत्तरी धादिङको तिप्लिङमा रेडपाण्डा भेटिएपछि धादिङबासीले यसको संरक्षण अभियान तीव्र पारेका हुन् ।
संकटासन्न अवस्थामा रहेको जंगली जनावर रेडपाण्डा गाउँमै रहेको थाहा पाएपछि गाउँलेहरु नै यसको संरक्षणमा सक्रिय भएका छन् । प्रकृति संरक्षण अभियान नेपालले एक वर्ष अघि गरेको अनुसन्धानमा रेडपाण्डा भेटिएपछि अहिले रेडपाण्डाको महत्वबारे विद्यालय, समुदाय स्तरमा समेत बुझाएर अभियान तीव्र पारिएको उच्च पहाडी क्षेत्र संरक्षण अभियान नेपाल धादिङका अध्यक्ष डेविट घलेले बताए ।
अघिल्लो वर्ष प्रकृति संरक्षण अभियान नेपालले गरेको अनुसन्धानमा तिप्लिङको लिङ्जो, रुवीभ्याली र आसपासमा रेडपाण्डा रहेको तथ्य पहिचान भएको थियो । तिप्लिङका अन्य जंगलहरुमा पनि विभिन्न समयमा भेटिने गरेको स्थानीयहरुले बताएका छन् । रेडपाण्डालाई उत्तरका तामाङ समुदायले होप भनेर चिन्ने गरेका छन् । क्षेत्रका बासिन्दाहरु स्थानीय स्तरमा होप भनिने रेडपाण्डाको बसोबास रहेको भेटिएपछि संरक्षणमा अग्रसर भएका छन् ।
घरपालुवा कुखुरा खान्छ भनेर स्थानीयले लखेट्ने, तर्साउने गर्दै आएको भएपनि यसको महत्व बुझेसंगै संरक्षणमा लागि परेको घलेले बताए । गाउँमा केही व्यक्तिहरुले लोपोन्मुख जनवरहरुलाई पासो लगाउने, विष हालिदिने, गोली हानेर सिकार गर्ने जस्ता गतिविधि हुने गरेकोले गाउँमा रहेका भरुवा बन्दुकहरु राज्यलाई बुझाउने अभियान चलाउन थालिएको पनि घलेले जानकारी दिए ।
उच्च पहाडी क्षेत्र संरक्षण अभियान नेपाल धादिङले शुक्रबार लोपोन्मुख वन्यजन्तु र पर्यटनको अन्तरसम्बन्धबारे जिल्ला स्तरीय अन्तरक्रिया गरेर रेडपाण्डाको महत्व, अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने आवश्यकताको बारेमा जानकारी गराएको छ । चोरी शिकारी गरेमा हुने कानुनी कारबाही, पर्यटनको सम्भावना लगायतका विषयमा जानकारी गराउन अन्तक्र्रिया गरिएको अभियान धादिङका सचिव हरिहरसिंह राठौरले बताए ।
जिल्ला विकास समिति सहित विभिन्न निकायको सहयोगमा उच्च पहाडी क्षेत्र संरक्षण अभियान नेपाल धादिङले उत्तरी क्षेत्रमा रेडपाण्डा र निलकण्ठ नगरपालिका आसपासमा सालक संरक्षण अभियान चलाएको छ । अन्तक्र्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, जिल्ला वन अधिकृत इमनाथ पौडेल, निलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र बहादुर अर्याल लगायतले वन डढेलो, अव्यवस्थित चरिचरण र विकास निर्माणले रेडपाण्डा, सालक जस्ता दुर्लभ वन्यजन्तु मासिने खतरा बढ्ने भएकोले त्यसको संरक्षणमा सक्दो पहल गर्ने बताए ।
विज्ञहरुका अनुसार रेडपाण्डाले असार–साउनमा बच्चा जन्माउछ, असोज–कात्तिकमा हुर्किन्छ र बाहिर आउछ, पुस महिना पोथी रेडपाण्डाले भाले खोज्ने समय हो । समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा भेटिन्छ । यसको आहारा मालिङ्गो र निगालो हो । प्रकृति संरक्षण अभियान नेपालका अनुसन्धानकर्ता सुदिप भण्डारीले भने ‘स्तनधारी समुहमा पर्ने रेडपाण्डा मांसाहारी पनि हो ।’ रेडपाण्डालाई सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तरर्गत संरक्षितको सूचीमा राखेको छ । निरन्तर खोज र संरक्षण गरे यसको सख्या अझै बढ्ने अनुसन्धानमा संलग्न भण्डारीले बताए ।
रेडपाण्डासंगै लोपोन्मुख कालो सालक संरक्षणलाई पनि अभियानले जोड दिएको छ । सदरमुकाम र नगरपालिकाभित्रै भेटिने लोपोन्मुख वन्यजन्तु कालो सालक संरक्षणमा लागेका हुन् । सालकको महत्व र त्यसले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बाटो पत्ता लगाएर अहिले स्थानीय स्तरबाट नै सालक संरक्षण अभियान सुरु भएको छ ।
गत वर्ष सालकको खवटा सहित एकजना पक्राउ परेपछि संरक्षण अभियान अझै तीव्र बनेको छ । बाघ, गैडा भन्दा पनि धेरै सालकको चोरी सिकारी हुने गरेको सरोकारवालाहरु बताउँछन् । विभिन्न डिजाइनका महंगा कपडामा समेत सालकको छाला तथा खपटाबाट बनेको टाँक (बटम) प्रयोग हुने भएकोले यसको धेरै चोरी सिकारी हुने गरेको अनुसन्धानकर्ताहरुको भनाई छ ।
लोपोन्मुख दुर्लभ वन्यजस्तु संरक्षण गर्न सकिए इको टुरिजममार्फत स्थानीयहरुको आर्थिक संवृद्धिमा समेत टेवा पुग्ने साना स्तनधारी अनुसन्धान तथा संरक्षण अभियानका तुल्सीलक्ष्मी सुवालले बताइन् ।
२०७३ चैत १२ गते प्रकाशित