Mon. Jan 27th, 2025

मताधिकारको प्रयोग गरौं, स्थानिय तहको निर्वाचन सफल पारौं : निर्वाचन अधिकारी सिंखडा

ishor-simkhada

यतिबेला स्थानिय तहको निर्वाचनले जताततै चर्चा पाइरहेको छ । मेला, पंधेरा, खेतबार, चोक, छलफल, गोष्ठिमा पनि आगामी २०७४ साल बैशाख ३१ गते आइतबार हुन गइरहेको स्थानिय तहको निर्वाचनकै बारेमा बहस हुन थालेको छ । सरकार स्थानिय तहको निर्वाचनको तयारीमा लागिरहेको बेला जिल्ला निर्वाचन कायलय धादिङले पनि तयारी तिव्र पारेको छ ।  यसै सेरोफेरोमा विगत ६ महिनादेखि जिल्ला निर्वाचन कार्यलय धादिङमा जिल्ला निर्वाचन अधिकारीको रुपमा कार्यरत इश्वर सिंम्खडासंँग पाविलन्यूज डटकमका संवाददाता अस्मिता खतिवडाले  गरेको  कुराकानी

यतिबेला सरकार स्थानिय तहको निर्वाचनको तयारीमा लागिरहेको छ, धादिङमा तयारी कस्तो हुँदैछ ?

– हामीले धादिङ जिल्लाभरमा प्रथम चरणमा सबै ठाउँमा नयाँ संरचना अनुसार मतदान स्थलहरुलाई पुनरावलोकन गरेर मतदाताहरुलाई पायक पर्ने स्थानमा मतदान स्थलहरु कायम गर्ने भनेर त्यहि अनुसार छलफल गरिरहेका छौं ।  गाउँपालिका तहमा मतदान स्थलको पुनरावलोकन र छलफलबाट आएको प्रतिवेदनको आधारमा जिल्लामा छलफल गरेर अन्तिम निर्णय गरेर मतदान स्थलहरुलाई फाइनल गर्नेछौं । अनि त्यसपछि मात्रै हाम्रो थप अरु प्रक्रियाहरु अगाडी बढ्नेछ ।

 धादिङ जिल्लाभर जम्मा मतदाता संख्या कति छ ?

– अहिलेको स्थानिय तह निर्वाचनमा सहभागी हुन पाउने मतदाताको कुल संख्या २ लाख ६ हजार ४६ जना रहेको छ । जसमध्ये पुरुषहरुको संख्या १ लाख २ हजार ९ सय ६९ रहेको छ भने महिलाहरुको संख्या १ लाख ३ हजार ७६ र तेस्रोलिङ्गीको संख्या १ जना रहेको छ ।

कहिलेसम्म मतदाता नामावलीमा नाम टिपाएकाले मतदान गर्न पाउँछन् ?

– २०७३ साल फागुन ९ गते जब स्थानिय तह निर्वाचनको घोषणा भयो, त्यो मिति सम्म १८ वर्ष उमेर पुगेका जति पनिले मतदाता नामावलीमा नाम टिपाएका छन्, उनीहरु निर्वाचन प्रक्रियामा सहभागी हुन पाउँछन् ।

 धादिङमा दल चाहिं कति छन्, निर्वाचन प्रक्रियामा भाग लिने ?

– यहाँ सक्रिय रहेका राजनितिक दलहरुलाई आफ्नो विवरण अध्यावधिक गर्नुहुन भनेर सुचना प्रकाशन गरेपछि १६ दलले निर्वाचन प्रक्रियामा आफ्नो उपस्थित जनाउनका लागि विवरण अध्यावधिक गराउनुभएको छ ।

मतदान स्थल निर्धारण भयो ?, कतिवटा स्थलमा राखेर मतदान गरिँदैछ ?

–  मतदान स्थल कति राख्ने भन्ने कुरो अहिले सम्म टुङ्गोमा पुगिसेको छौन । हामी यो छलफलको चरणमै छौं । साविकमा निर्वाचन स्थलको संख्या १ सय १० वटा रहेको थियो । मतदान स्थल भित्र पनि विभिन्न केन्द्रहरु रहन्छन् । ति केन्द्र सहित भन्ने हो भने हामीले जम्मा २ सय ५१ केन्द्रमा रहेर निर्वाचन सम्पन्न गरेका थियौं । तर अहिले स्थानिय तह पुनसंरचनाको क्रममा केहि गाविस र वडाहरु एक आपसमा गाभीएको र कसैको संरचना अलिकति फरक पर्न गएकोले हामीले मतदातालाई पायक पर्ने गरि मतदान स्थललाई पुनरावलोकन गर्दैछौं । त्यसको प्रक्रिया हामीले फाइनल गरेर आयोगलाई पठाउँदैछौं । अहिले सम्म भएको छलफलकै आधारमा भन्ने हो भने साविकमा भएकै १ सय १० या त्यसकै हाराहारीमा मतदान स्थलन रहनेछन् ।

 स्थानिय तह निर्वाचन गराऊने विधि÷प्रक्रिया चाहिं कस्तो छ, यसको बारेमा पनि जानकारी गराइदिनुहोस् न ?

– हरेक जिल्लामा स्थानिय तह भन्नाले गाऊँपालिका र नगरपालिकालाई बुझिन्छ । धादिङ जिल्लाको सन्दर्भमा भन्ने हो भने २ वटा नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटा स्थानिय तहको संरचना बनेको छ । अहिले हामीले गर्ने निर्वाचन भनेको पनि सोहि स्थानिय तहको निर्वाचन हो । यो निर्वाचन चाहिं साविकमा भइरहेको प्रतिनिधी सभाको निर्वाचन अथवा संविधान सभाको निर्वाचनको फम्र्याट भन्दा अलिकति फरक तरिकाको रहेको छ । हामीले करिव करिव १९ वर्ष पहिले २०५४ सालमा स्थानिय तह ÷ स्थानिय निकायको निर्वाचन गरेका थियौं । करिव करिव त्यहि संरचनामा गरिंदैछ । तर त्यसको  प्रतिनिधत्वको कुराहरु भने अलिकति फरक खालको रहेको छ ।

धादिङ जिल्लाको स्थानिय तह संरचना कस्तो हुने भयो ?, स्थानिय तहमा गरेर जम्मा कति जनप्रतिनिधि चयन हुन्छन् ?

–  स्थानिय तह निर्वाचनमा नगरपालिकामा नगरपालिका प्रमुख र उपप्रमुख । त्यसैगरि हरेक वडामा १ जना वडाध्यक्ष र अन्य ४ जना वडा सदस्य सहित ५ जनाको वडा समिती रहनेछ । त्यसैगरि गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष १÷१ जना रहनेछन् भने गाउँपालिकाका हरेक वडामा १ जना वडाध्यक्ष र अन्य ४ जना वडा सदस्य सहित ५ जनाको वडा समिती रहनेछ ।

कुन कुन क्षेत्रका प्रतिनिधीहरुको प्रतिनिधित्व रहन्छ ?

–  स्थानिय तह निर्वाचनलाई अलिकती समावेशी बनाउने तरिकाले संविधानले नै स्थानिय तहको प्रतिनिधीत्वमा समावेशीता कायम गर्न खोजेको पनि छ । स्थानिय तहको प्रतिनिधीत्वको सवालमा भर्खरै बनेको स्थानिय तह निर्वाचन सम्बन्धी ऐनले नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मध्ये ५० प्रतिशत चाहिं महिलाहरुको उमेदवारी हुनुपर्ने भनेको छ । त्यसैगरि वडा स्तरमा पनि वडाध्यक्ष १ जना रहनुहुनेछ, अन्य ४ जना वडा सदस्य रहनुहुनेछ । ४ जना वडा सदस्य भित्र पनि कम्तीमा २ जना महिला सदस्य रहनुपर्नेछ । र त्यो २ जना महिला सदस्य भित्र पनि १ जना दलित सदस्य रहनुपर्ने व्यवश्था रहेको छ । यसरी हेर्दा सबैको प्रतिनिधीत्व अवश्य हुनेछ ।

अब थोरै निर्वाचन आचारसंहिताको विषयमा पनि कुरा गरौं, निर्वाचन आचारसंहिता कहिलेदखि लागु भयो ?

–  जव निर्वाचन घोषणा भयो, त्यसको केहि समय पछि २०७३ साल फागुन १८ गतेबाट सबैलाई मान्य हुनेगरि निर्वाचन आचार संहिता लागु भएको छ । यसले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र विश्वसनिय बनाउन सहयोग पु¥याउँछ । सबै सरोकारवाला निकायलाई नियम बाँध्नु निर्वाचन आचारसंहिताको मुख्य उद्येश्य रहेको छ । निर्वाचन घोषणा भइसकेपछि र आचारसंहिता लागु भइसकेपछि विभिन्न क्षेत्रबाट निर्वाचन आचार संहिता भित्र भएका विषयवस्तुहरुको पालना भएका छन् की छैनन् भनेर हामीले अनुगमन गरिरहेका छौं । र अहिले जिल्ला स्तरमा श्रीमान प्रमुख जिल्ला अधिकारी ज्युको संयोजकत्वमा एउटा समिती रहेको छ त्यसले पनि सम्पुर्ण विषयमा अनुगमन गरिरहेको छ ।

निर्वाचनका विषयमा स्थानिय जनतालाई या भनौं मतदातालाई कसरी सचेत गराइन्छ ?

–  यो अलिकति हामीलाई अफ्ठ्यारो विषय छ, किनभने समयको पावन्दी पनि हामी संग छ । थोरै समय रहने गरि निर्वाचन घोषणा भएको छ । मतदानको प्रक्रियापनि पहिलाको भन्दा अलिकति फरक भएको कारणले गर्दा हामीले धेरै मेहनत गर्नुपर्नेछ । सबै मतदान केन्द्रमा १ जना मतदाता शिक्षा स्वयमसेवक भनेर खटाउँछौं र उहाँहरुलाई प्रत्येक मतदाताको घर–घरमा पुगेर कसरी बदर नहुने गरि मतदान गर्ने भनेर मतदाता शिक्षा स्वयमसेवकले सिकाउनुहुनेछ । यसको लागि हामीले जिल्लामा केहि समय पछि तालिम पनि संचालन गर्नेछौं । त्यो तालिममा साविकका गाविसका सामाजीक परिचालक, पहिले तालिम लिइसकेका प्रावि तहका शिक्षकहरु, इसीडी कक्षामा पढाइरहेका शिक्षकहरुलाई सहभागि गराउँदैछौं ।

 निर्वाचन प्रक्रियालाई शान्तिपुर्ण रुपमा संचालन गर्नका लागि शान्ति सुरक्षाको व्यवस्था कस्तो छ ?

– शान्ति सुरक्षाको विषयमा पनि हामीले सम्बन्धीत सरोकारवाला निकायसंग समन्वय गरिरहेका छौं । निश्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउनका लागि हरेक निर्वाचन स्थलमा सुरक्षाकर्मी खटाउने तयारी जिल्ला प्रशाशन कार्यलयको संयोजनमा जिल्लाका सुरक्षा निकायहरुले गरिरहेका छन् । सुरक्षा निकायहरुले निर्वाचन भयरहित ढङ्गले गराउन सहयोग गर्छौं भनेर हामीलाई आश्वासन दिनुभएको छ ।

अन्तमा,

–  हामी धेरै पछि स्थानिय तह निर्वाचनमा सहभागीता जनाउँदैछों । सबै मतदाताहरुले आफ्नो अमुल्य मतदानको प्रयोग गरि आफुले चाहेको, रोजेको, योग्य र असल प्रतिनिधीहरुलाई चयन गरौं । आगामी २०७४ साल बैशाख ३१ गते आइतबार हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई भव्य रुपमा सफल पार्न सहयोग गरौं । धन्यावाद ।

२०७३ चैत ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: