७ चैत, धादिङ –
प्रविधिको विकाससँगै ग्रामीण क्षेत्रका विद्यालयहरुमा पनि सूचना प्रविधिहरुको विकास हुन थालेको छ । यसले गर्दा विद्यालयको भौैतिक विकाससँगै विद्यार्थीहरुले प्राविधिक ज्ञान पनि प्राप्त गरेका छन् ।
दक्षिणी धादिङको चेपाङबस्तीमा रहेको डोलभज्याङ र गजुरीपिडा माध्यमिक बिद्यालयमा कम्प्यूटर मार्फत सूचना प्रविधियुक्त शिक्षा सुरु गरिएको छ । जिल्लामा क्रियाशिल गैर सरकारी संस्थाहरु यूनाईटेड मिशन टु नेपाल धादिङ साझेदारीमा बिद्यालयलाई ईन्टरनेट सुविधा सहित उच्च गुणस्तर २०÷२० वटा कम्प्युटर सहयोग गरेको छ । बिद्यालयहरु जिल्ला शिक्षा कार्यालय धादिङसँगको र जिल्लामा क्रियाशिल गैर सरकारी संस्थाहरुले बिद्यालयलाई कम्प्युटर सहयोग र शिक्षक तालीम पछि कम्प्युटर कक्षा र प्रयोगात्मक कक्षा संचालन गरिएको हो ।
सामान्यतया छ सात कक्षामा अध्ययन सकेपछि विद्यालय छाड्ने दक्षिणी चेपाङ बस्तीका विद्यार्थीहरुमा नयाँ विधि र प्रविधिहरु भित्रन थालेपछि कक्षा दरमा समेत केही कमि आउने डोलभज्याङ माध्यमिक बिद्यालयका प्रधानाध्यापक भुवन थापाको भनाई रहेको छ । प्रगतिशिल बाल क्लबकी अध्यक्ष रेनुका पुलामी सूचना प्रविधीको प्रयोग गरी कक्षा शिक्षण गर्न पाएकोमा खुशी हुँदै सहयोगीहरुबाट प्राप्त कम्प्युटरबाट अधिकतम सिकाई हासिल गर्न केन्द्रित हुने बताइन् ।
विद्यालयहरुको भौतिक अवस्थामा र नयाँ प्राविधिक शिक्षा हासिस गर्ने अवसरको सिर्जना तथा भएको सुधारसंगै आभिभावकहरुमा आएको शैक्षिक चेतनाका कारण र विद्यार्थीहरुमा आएको शैक्षिक उत्साहका कारण यस्तो अवस्था आएको हो । अहिले धादिङको गजुरीगाउँ पालिकामा रहेको डोलभज्याङ र गजुरीपिडा माध्यामिक विद्यालयमा कक्षा एक देखी नै कम्प्युटर शिक्षा दिन थालिएको छ । कम्प्युटर शिक्षासँगै बिद्यालयले आंग्रोजी माध्यामबाट पढाई सुरु गरेको छ । जस्ले गर्दा बालवालीकाहरुमा विद्यालय प्रति बढ्दो आकर्षणका कारण सामुदायीक विद्यालयमा विद्यार्थीहरुको भिडसमेत बढ्न थालेको छ ।
अब त्यस क्षेत्रका विद्यार्थीहरुको आधारभूत कम्प्युटर सिक्नका लागि सदरमुकामसम्म आउनु पर्ने बाध्यता हटेको छ ।
२०७३ चैत ७ गते प्रकाशित