

६ चैत, धादिङ –
चैनपुरकी लालमायाँ शाक्यले बाख्रा पालेर मनग्य आम्दानी गर्न थालेकी छन् । उनको गोठमा अहिले २९ वटा बाख्रा छ । हेफर इन्टरनेशनलको साझेदारीमा फोकस नेपालले दुईवटा बाख्रा उपहार स्वरुप दिएपछि त्यसको स्याहार सुसारबाट अहिले २९ वटा बाखा छन् । वर्षको १० वटासम्म बोकामात्रै विक्रि गरेको उनको अनुभव छ । यो वर्ष एक लाख १५ हजारमा १० वटा बोका बेचिन्, १७ हजारको पाठी बेचिन् । उनी भन्छिन् ‘एक लाख ८१ हजार त यो वर्ष नै कमाइ भयो अहिले त हामी व्यवसायिक नै बन्यो ।’
यहाँका हरेक घरधुरीका महिला समूहमा आबद्ध छन् । सबैले बाख्रा पालेका छन् । महिला समूहका सदस्यका प्रत्येक घरमा पाँच वटा भन्दा बढि माउ बाख्रा छन् । एक घरमा १५ वटासम्म माउ बाख्रा छ । ‘आत्मनिर्भर बन्नका लागि आफैँ व्यावसायिक बन्न थालेका हौं’ समूहकी अध्यक्ष बुद्धिमायाँ शाक्यले भनिन् ।
सबैभन्दा पहिले टोलटोलमा समूह बन्यो । समूहका सदस्य एक जनाले माउ बाख्रा लिए । ‘त्यहि माउबाट जन्मिएको पाठापाठी अहिले गाउँभरी फैलिएको हो’ शाक्यले भनिन् । ज्वालामुखी गाउँपालिका वडा नं. ६ र ७ का महिलाको आम्दानीको मुख्य श्रोत नै बाख्रा पालन बनेको छ ।
समूहमा आवद्ध भएर पहिला बाख्रा पालेकाले त्यो समूहका अर्काे सदस्यलाई उपहारको रुपमा पाठी दिने परिपाठी गाउँमा छ । पाठी दिनेलाई मुल समूह र लिनेलाई परिवार भनेर समूहको नाम नै दुई किसिमले नामाकरण गरेका छन् । ४ वर्षअघि मुल समूहले उपहार दिएको २ वटा पाठीबाट आफु अहिले व्यवसयिक बनेको देउराली परिवार समूहकी लालमायाँ शाक्यले बताइन् ।
चैनपुरका महिला बाख्रा पालनबाट आत्मनिर्भर हुन थालेका छन् । आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियान सहित महिला व्यवसायिक बनेका हुन् । सिंचाई अभावले अन्य पेसा भन्दा बाख्रा पालनलाई रोजेको पिपलकुमारी शाक्यले बताइन् ।
हेफर इन्टरनेशनल र फोकस नेपाल नामक गैर सरकारी सस्थाले संचालन गरेको साना उद्यमी सवलीकरण कार्यक्रमले गाउँमा दिदी र बहिनी समूह बनाएको थियो । गठन भएका ६३ समूहमा १५ सय ४६ महिला सहभागी छन् ।
२०७३ चैत ६ गते प्रकाशित