
१ चैत, काठमाडौँ –
उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले जुनसुकै अवस्थामा भएपनि बैशाख ३१ गते स्थानीय तहको निर्वाचन भएरै छाड्ने दाबी गरेका छन् । काठमाडौंमा मंगलबार राप्रपा निकट पत्रकारहरुको संगठन ‘मिडिया नेपाल’को प्रथम वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने भाबी गरे ।
संविधान कार्यान्वयन गर्नु अहिले राष्ट्रिय आवश्यकता रहेको बताउँदै संविधान कार्यान्वयन गर्न निर्वाचन गर्नुको विकल्प नरहेको उनको भनाई छ ।
आउँदो माघ ७ गते भित्र स्थानीय, प्रान्तीय र संघीय निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । प्रजातान्त्रिक अभ्यास निर्वाचन रहेको भन्दै उपप्रधानमन्त्री थापाले मधेशी मोर्चालगायतका दलहरुलाई सहभागिता गराउन सरकार हदैसम्म लचक हुन तयार रहेको बताए । संविधान संशोधन गर्ने पक्षमा आफ्नो पार्टी राप्रपा नरहेको अध्यक्ष थापाले स्पष्ट पारे ।
एकअर्को प्रसङ्गमा उनले आमसञ्चार माध्यमलाई व्यावसायिक बनाएर पेसागत चुनैतीको सामना गर्न आग्रह गरे । पछिल्लो समयमा पार्टीगत पत्रकारिताले जग गाडेको थापाको भनाइ छ ।
भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले राजनीतिक रुपमा गरिने पत्रकारितालाई पूर्ण रुपमा त्याग्न आग्रह गर्दै आगामी निर्वाचनमा सोही अनुरुपको भूमिका निर्वाह गर्न अनुरोध गरे ।
२०७३ चैत १ गते प्रकाशित