Mon. Mar 10th, 2025

देउवाले ठाकुरलाई भनेः संविधान संशोधन हुन्छ, समर्थन फिर्ता नलिनुस्

Deuwa

३० फागुन, धादिङ ।

सत्तारुढ कांग्रेसले असन्तुष्ट मधेसी मोर्चाका नेताहरूलाई मनाउने प्रयास थालेको छ । पदाधिकारी, पूर्वपदाधिकारीसहितका वरिष्ठ केन्द्रीय सदस्यहरूको बैठकले संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गरेको भोलिपल्टै सभापति शेरबहादुर देउवाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन ।
स्थानीय तहको चुनाव घोषणाप्रति असन्तुष्टि जनाइरहेको मोर्चाको घटक तमलोपा अध्यक्ष ठाकुरसँग देउवाले संविधान संशोधनका लागि पहल गर्ने भन्दै सरकारलाई दिएको समर्थन फिर्ताको अडानबाट पछाडि फर्किन आग्रह गरेका हुन । साथै, संशोधनका लागि आफूहरू लागेको जानकारी गराउँदै निर्वाचनको विरोध नगर्न आग्रह गरेका थिए ।

देउवाले देशलाई राजनीतिक निकास दिनकै लागि कांग्रेस, माओवादी, मोर्चा र राप्रपासहितको सरकार बनेको भन्दै संविधान संशोधनका पक्षमा कांग्रेस दृढ भएर उभिने आश्वासन ठाकुरलाई दिएका थिए । ‘असन्तुष्ट पक्षलाई पनि मूलधारमा ल्याउन यो सरकार बनेको हो । त्यसैले संविधान संशोधन पारित गरेर राजनीतिक निकासको बाटोमा कांग्रेस दृढतापूर्वक लागिरहेको छ,’ देउवाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी कांग्रेस नेता फर्मुल्लाह मन्सुरले भने, ‘त्यसकारण सरकारलाई दिएको समर्थन फिर्ताको अडान फिर्ता लिनुस् र सहमतिको वातावरण बनाएर संशोधन पारित गर्ने र चुनावमा जाने बाटोमा लागौँ ।’

तमलोपा अध्यक्ष ठाकुरले संविधान संशोधन आफूहरूको बटमलाइन भए पनि मुख्य दलहरू जिम्मेवार नभएको बताएका थिए । ‘तपाईंहरू संविधान संशोधन गर्नुपर्छ भन्नुहुन्छ, तर वातावरण बनाउनुहुन्न । हाम्रो बटमलाइन नै संविधान संशोधन हो,’ ठाकुरले भने, ‘संविधान संशोधन गरेपछि राजनीतिक वातावरण बन्छ । संविधान संशोधन नभईकन अब हामी सरकारलाई समर्थन गर्न सक्दैनौँ ।’
नयाँ पत्रिका दैनिकबाट ।
२०७३ फागुन ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: