Tue. Nov 26th, 2024

उम्मेदवारको खर्च सीमा साढे ७ लाख

kharcha

२९ फागुन धादिङ–

  स्थानीय तहको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारहरुले अधिकतम ७ लाख ५० हजार खर्च गर्न पाउने भएका छन भने सबैभन्दा कम जिल्ला समन्वय समितिका वडा सदस्यले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन ।

निर्वाचन आयोगको बैठकले वैशाख ३१ गते हुने निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोकेको हो । आयोगले वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनमा भाग लिने स्थानीय तहका प्रमुखदेखि  सदस्यसम्मको खर्चको सीमा तोकेको छ ।

आयोगले तोकेको सीमाअनुसार महानगरपालिकाका वडा अध्यक्षले ३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन । यस्तै उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखले ५ लाख ५० हजार र वडा अध्यक्षले २ लाख ५० हजार खर्च गर्न पाउनेछन ।

नगरपालिकाका प्रमुख र उपप्रमुखको हकमा भने आयोगले ४ लाख ५० हजार खर्चको सीमा तोकेको छ । नगरपालिकाको वडा अध्यक्षले अधिकतम २ लाख खर्च गर्न पाउनेछन ।

यस्तै, गाउँपालिका प्रमुख र उपप्रमुखले चुनावमा ३ लाख ५० हजार र वडाअध्यक्षले १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन ।
उनका अनुसार आयोगले उम्मेदवारहरूले मतदाता नामावली खरिद, सवारी साधन र घोडा, सवारी इन्धन र दाना, प्रचारप्रसार सामग्री, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा उम्मेदवारले खर्च गर्न पाउनेछन  ।

“योभन्दा अघिको स्थानीय निर्वाचन आयोगले तोकेको खर्चको सीमा लगायतका विषयहरूलाई हेरेर खर्चको सीमा तोकिएको हो,” शर्माले भने । उनका अनुसार अघिल्लो स्थानीय निकायको निर्वाचनमा महानगरपालिका प्रमुख तथा उपप्रमुखले अधिकतम ४ लाख ९४ हजार खर्च गर्न पाउने व्यवस्था थियो ।

यस्तै उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखले ३ लाख ५५ हजार ५ सय र नगरपालिकका प्रमुख तथा उपप्रमुखले २ लाख ६० हजार खर्च गर्न पाउने गरी आयोगले उम्मेदवारहरूको खर्चको सीमा तोकेको थियो ।

उम्मेदवारहरूले निर्वाचनमा गरेको खर्चको विवरण आयोगमा पेश गर्नुपर्ने भएकाले पनि अयोगले तोकेको सीमा नाघेर खर्च गर्ने सम्भावना कम रहेको शर्माको भनाइ छ ।स्थानीय निकाय विघटन गरेर बनाइएका ७ सय ४४ स्थानीय तहमा ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाँउपालिका रहनेछन् । यस्तै, वडाहरूको संख्या ६ हजार ६ सय ८० हुने जनाइएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनमा सबै पदमा ३ लाखभन्दा बढी उम्मेदवार हुने अनुमान गरेको छ । “आयोगमा दर्ता भएका १ सय १० दल र स्वतन्त्र उम्मेदवारसहित ३ लाख ५० हजारको हाराहारीमा उम्मेदवार हुने हाम्रो अनुमान छ,” आयोगका सहसचिव नवराज ढकालले भने ।

उनका अनुसार स्थानीय तहको निर्वाचनका लागि १ करोड ४० लाख मतदाता छन । निर्वाचनको तयारीलाई तीव्र बनाएको आयोगले मदतानस्थल १० हजार १३, मतदान केन्द्र २१ हजार हुने अनुमान गरेको छ । यस्तै, मतदानका लागि ८४ हजार ब्यालेट बक्स आवश्यक पर्ने आयोगले जनाएको छ ।
आर्थिक कारोबार दैनिकबाट
२०७३ फागुन २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: