Fri. Feb 28th, 2025

सेक्स साइट हेर्नु घातक

youn

म २७ वर्षीय अविवाहित युवक हुँ । एक जना आफन्तले सानै उमेरमा अश्लील चलचित्र देखाइदिएका कारण केही वर्षयतादेखि इन्टरनेटमा अश्लील चलचित्र डाउनलोड गरेर हेर्ने बानी परेको छ । सुरु–सुरुका दिनमा दुई–तीनवटा अश्लील चलचित्र हेर्थें । पहिले यो रमाइलोका लागि थियो भने अहिले लत बनेको छ । त्यस्ता चलचित्र हेर्नु र त्यस क्रममा पटक–पटक हस्तमैथुन गर्नु मेरो नियमितता नै भैसकेको छ । यसबाट मेरो शरीरमा गम्भीर परिवर्तनसमेत देखा पर्न थालेको छ । अहिले नै यस्तो समस्या उत्पन्न भएकाले विवाहपछि के होला भन्ने चिन्ताले मलाई सताइरहेको छ । राति यस्ता क्रियाकलाप बढ्ने हुँदा निद्राको कमी हुने एवं दैनिकीमै असर गर्ने क्रम बढ्दै गएको छ । कृपया मलाई यो दुष्चक्रबाट उम्कने उपाय बताइदिनुहुन्छ कि ?

अहिले संसारको एउटा कुनामा भएका यौनजन्य क्रियाकलापका तौरतरिका अर्को कुनामा तिव्र गतिमा विस्तार भएका छन । यसलाई समय, काल, परिस्थितिअनुसार स्वाभाविक मान्न सकिन्छ । सेक्स साइटमा जाने र त्यहाँ आफूलाई मन परेका दृश्य डाउनलोड गरेर हेर्नेमा तपाईं एक्लो पनि हुनुहुन्न । जब इन्टरनेटको विकास भयो, त्यसपछि तत्काल चल्ने र चर्चित हुने भएकाले यस्ता साइटको विस्तार तीव्र गतिमा भएको पाइन्छ । यसको अर्थ सेक्स साइटहरू नहुँदा यस विषयमा कुनै चासो नै थिएन भन्ने होइन । इन्टरनेटको विकासले एउटा समाजमा हुने तौरतरिका अर्को समाजमा निकै छिटो अर्थात तत्काल पुग्न वा विस्तार हुन थालेको छ ।

संसारका वेबसाइटहरूमा सेक्स बारम्बार सर्फिङ गरिने साइटमा पर्छ । अध्ययनहरूले देखाएअनुसार प्रत्येक दिन वेबसाइट सर्च गर्नेमध्ये १५ प्रतिशतले यस्ता साइट सर्च गर्ने गरेका छन । धेरैजसोमा यस्ता साइट हेर्ने प्रवृत्तिले खासै असर गरेको देखिएको छैन । यस्ता साइटले मानिसलाई उत्तेजित गराउँछन । यसलाई पनि स्वभाविक नै मान्नुपर्छ, यद्यपि त्यसमा लत नै लागिसकेको छ कि छैन भन्नेमा विचार र्पुयाउनुपर्ने हुन्छ ।
लत नै पछि गएर कुलतमा परिणत हुन्छ । आफ्नो दैनिक जीवनमा हानि–नोक्सानी नपु¥याएसम्म यसले त्यति नराम्रो गर्दैन । दैनिक कामकाज वा सिर्जनशीलतामा हानि–नोक्सानी पुग्न थाल्यो भनेचाहिँ यसलाई नराम्रो मान्नुपर्ने हुन्छ । केही मानिस दिनहुँ लामो समयसम्म यस्ता साइटमा जाने र सर्फिङ गरिरहने, त्यसपछि हस्तमैथुन गर्ने वा समाजले अस्वीकार गरेका गतिविधिहरूमा संलग्न हुने सम्भावना हुने हुँदा समाजमा विकृति फैलन थाल्छ ।

पछिल्लो समयका अध्ययन–अनुसन्धानहरूअनुसार एक हप्तामा कसैले ११ घण्टा वा त्यसभन्दा बढी समय इन्टरनेटका सेक्स साइटमा बिताउने गरेका छन भने तिनलाई मनोवैज्ञानिक समस्या भएको मान्न सकिन्छ । त्यसपछि उसको मनोभावनामा असर पर्न थालेको बुझिन्छ । लामो समयसम्म सेक्स साइटमा बस्दा त्यसको सीधा असर मानिसका अन्य गतिविधिहरूमा पर्न थालिसकेको हुन्छ ।

तपाईंले निद्रामा असर परेको कुरा उल्लेख गर्नुभएको छ । यो क्रम बढ्दै जाने हो भने समाजसँगको तपाईंको सम्बन्ध टुट्न थाल्छ । कार्यालयमा काम गर्ने हो भने समयमा काम पूरा गर्न नसक्ने र सिर्जनशील हुन नसक्ने समस्या उत्पन्न भैसकेको हुन्छ । कामको दबाब महसुस हुन थालिसकेको हुन्छ ।
त्यसबाट गाली खान वा आलोचना खेप्न थालिसकिएको हुन्छ । दैनिक उठबस, हिँडडूल, शारिरीक अभ्यास आदि गतिविधिमा असन्तुलन उत्पन्न हुन थाल्छ । मानिसले थाहै नपाई यसलाई कुलत बनाइसकेको हुन्छ । यसका अनेकन मनोवैज्ञानिक असर हुन्छन् । बढी मात्रामा इन्टरनेटका सेक्स साइटमा निर्भर हुँदै जाँदा साइबर सेक्सको जोखिमतर्फ मोडिन थालिन्छ ।

केही विज्ञले त आफ्नो वैधानिक सम्बन्धभन्दा बाहिरका कुनै पनि प्रकारका सेक्सजन्य गतिविधिलाई नै गलत भन्ने गरेका छन । सेक्स साइटमा निर्भर हुन थाले त्यसले यौन साथीसँगको सम्बन्धमा मात्र नभएर अरूसँगको सम्बन्धमा समेत समस्या सिर्जना गर्छ । यस्तो व्यवहारलाई लामो समयसम्म निरन्तरता दिँदा त्यसले मनोवैज्ञानिक समस्याको रूप लिन्छ ।
सेक्सबाहेकका मनोरञ्जनका माध्यममा समय बिताउने वा अन्य मनोरञ्जक गतिविधिमा सहभागी हुने एवं आफ्नो मन मिल्ने साथी तथा परिवारसँग समय बिताउने बानी बसाले सेक्स साइटमा जाने वा सेक्स भिडियो हेर्ने बानीमा परिवर्तन आउन थाल्छ । यसमा मनोविमर्शको आवश्यकता पनि पर्न सक्छ ।
साप्ताहीक पत्रिकाबाट साभार गरीएको हो ।
२०७३ फागुन २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: