
सरिता श्रेष्ठ / १४ फागुन, धादिङ –
धादिङको तीनवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शनिबार सम्पन्न भएको छ । त्रिविले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन देशभर फागुन १८ गते गर्ने भनेपनि धादिङका विद्यार्थी संगठनको सहमतिपछि ३ वटा क्याम्पसमा शनिबार नै निर्वाचन भएको हो । बाँकी ५ वटा क्याम्पसमा त्रिविले तोकेकै मिति फागुन १८ गते निर्वाचन हुनेछ ।
तीनवटा क्याम्पसमा भएको निर्वाचनमा दुई क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र एकमा अनेरास्ववियु निर्वाचित भएका छन् । धादिङका सवैजसो क्याम्पसमा एमाओवादी निकट अखिल क्रान्तिकारी र नेपाली काँङग्रेस निकट नेपाल विद्यार्थी संघवीच तालमेल गरि निर्वाचनमा उत्रिएका थिए भने एमाले निकट अनेरास्ववियु र नयाँ शक्ति निकट नयाँ शक्ति विद्यार्थी युनियन एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका थिए ।
नीलकण्ठमा नेविसंघका सरोज पाण्डे
स्वतन्त्र विद्यार्थी युनियन नीलकण्ठको सभापतिमा नेविसंघका सरोज पाण्डे निर्वाचित भएका छन् । नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट पाण्डे सभापतिमा उठेका थिए भने अनेरास्ववियुबाट जितबहादुर नेपाली र नयाँशक्ति विद्यार्थी युनियनबाट फिलेमोन तामाङ सभापतिका लागि प्रतिस्पर्धा गरेका थिए । कुल ७ सय ७९ मत रहेकोमा ५ सय ५७ मत खसेको थियो । सभापतिमा निर्वाचित पाण्डेले ४ सय ११ मत पाए भने अनेरास्ववियुका नेपालीले ९८ र नयाँ शक्ति विद्यार्थी युनियनका तामाङले मत प्राप्त गरे ।
सचिवमा नेवि संघका दुर्गा श्रेष्ठ, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका गजेन्द्र गुरुङ विजयी भएका छन् । त्यस्तै सदस्य पदमा नेवि संघका शिखा श्रेष्ठ, महेन्द्र तामाङ, कविराज श्रेष्ठ, बसन्ती गुरुङ र अखिल क्रान्तिकारीका उमेश लामिछाने विजयी भएका छन् ।
आर्दशमा अनेरास्ववियुका रुपक गिरी
गजुरीमा रहेको आर्दश बहुमुखी क्याम्पसमा अनेरास्ववियुका रुपक गिरी सभापतिमा निर्वाचित भएका छन् । शनिबार धादिङमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आर्दश बहुमुखी क्याम्पस गजुरीमा अनेरास्ववियुको प्यानल नै विजयी भएको हो । उनले ८२ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धि अखिल क्रान्तिकारीका सुस्मिता तामाङले ५८ मत प्राप्त गरिन् । सचिवमा मानव तामाङ, कोषाध्यक्षमा कल्पना सुवेदी निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा ठूलमाया उपरकोट्टी, सुजना खनाल, इच्छा सुवेदी, सिर्जना खतिवडा विजयी भएका छन् ।
मछिन्द्रमा नेविसंघका प्रमोद गिरी
खानीखोलामा रहेको मछिन्द्र बहुमुखी क्याम्पसमा नेविसं प्रमोद गिरी सभापतिमा निर्वाचित भएका छन् । नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र अनेरास्ववियुको प्यानलबीच प्रतिस्पर्धा भएको थियो । गिरीले ३३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धि अनेरास्ववियुका निराजन चापागाईँले २८ मत प्राप्त गरे । सचिवमा अखिल क्रान्तिकारीका विनोद आचार्य ३३ मत, कोषाध्यक्षमा नेवि संघका एलिस पाठक ३४ मत र सदस्यहरुमा नेवि संघका सोविता पाठक, अखिल क्रान्तिकारी सुनिता चापागाईँ र सुरेस कार्की विजयी भएका छन् । समानुपातीक तर्फ अनेरास्ववियुले २६, अखिल क्रान्तिकारीले २१ र नेविसँघले १४ भोट प्राप्त गरेका छन् ।
२०७३ फागुन १४ गते प्रकाशित