
११ फागुन, धादिङ –
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको मतदानमा बुद्धिमान तामाङले सबैभन्दा बढी मत पाएर जित हात पारेका छन् ।
बुधबार राति अबेर सकिएको मतगणनामा खुलातर्फको केन्द्रीय सदस्यमा बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन् । राप्रपाको खुलातर्फ केन्द्रीय सदस्यको निर्वाचनमा पूर्वमन्त्री एवम् पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले सबैभन्दा बढी १९ सय ४ मत प्राप्त गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले ९८ जना केन्द्रीय सदस्य चयन गरेको छ । वर्तमान भूमिसुधार मन्त्री विक्रम पाण्डे १८ सय ५८ मतसहित लोकप्रिय दोस्रो स्थानमा रहदै केन्द्रीय सदस्य निर्वाचित भए भने भर्खरै मात्र राप्रपामा प्रवेश गरेर खुलातर्फ केन्द्रीय सदस्यमा चुनाव लडेकी चर्चित गायिका एवम् सञ्चारकर्मी कोमल ओली लोकप्रिय तेस्रो मत १८ सय ५७ ल्याउदै केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् ।
राप्रपाको महाधिवेशनमा भएको मतदानमा तीन हजार २ सय ९७ महाधिवेशन प्रतिनिधि सहभागी थिए । राप्रपाको विधानमा ४० प्रतिशत केन्द्रीय सदस्य भने क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ।
दुई राप्रपाका बीचमा मंसिर ६ गते भएको एकतापछि भएको पहिलो महाधिवेशनले अध्यक्षको रुपमा कमल थापालाई यसअघि नै निर्वाचित गरिसकेको छ।
२०७३ फागुन ११ गते प्रकाशित