काठमाडौं
गृहमन्त्री बामदेव गौतमले आफ्ना दलाल एवम् ठेकेकदार दिपक भट्टमार्फत नेपाल प्रहरीमा सरुवा र बढुवामा अनावश्यक रुपमा चलखेल बढाएका कारण डीएसपी र इन्सपेक्टरहरुको बढुवा फेरी अन्यौलमा परेको छ ।
यस अघि एसएसपी र एसपीको भने बढुवा भइसकेको छ । गृहमन्त्री गौतमले आफ्ना विश्वासपात्र डीएसपी राजेन्द्र विष्टलाई बढुवाको पहिलो नम्बरमा ल्याउन आईजीपी उपेन्द्रकान्त अर्याललाई दबाब दिइरहेका कारण बढुवा अन्यौलमा परेको हो ।
स्रोतका अनुसार बढुवामा ठेकेदार भट्टले पैसा उठाएका कारण पनि ठूलो चलखेल भएको आशंका गरिएको छ । डीएसपीबाट एसपीमा बढुवाको प्रतिस्पर्धामा सन्दीप भण्डारी, रमेश थापा, श्यामलाल ज्ञवाली, बसन्त कु“वर, रामदत्त जोशी, विकासराज खनाल, पोषराज पोखरेल, किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह, नरेन्द्र उप्रेतीलगायत छन् ।
त्यस्तै इन्सपेक्टरबाट डिएसपी बढुवाका लागि पनि तयारी गर्नुपर्नेमा गृहमन्त्री गौतमले इन्सपेक्टर अंगुर जीसीका कारण बढुवा प्रक्रिया रोकाएका छन् । एमाले निकट जीसी स्याट पास नगरि मिसनमा परेका थिए । उनी मिसनबाट फर्किपछि थानकोट, सिमरालगायतका आकर्षक ठाउँमा मस्ति गरिसकेका छन् । बढुवाका लागि तालिम आवश्यक पर्ने भएको हुँदा तालिम नै नगरेका जीसीले हाल तालिम लिइरहेको हुँदा बढुवा प्रक्रिया लम्बिएको गृहमन्त्रालय स्रोतले बताएको छ