१ फागुन ,धादिङ –
स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । दोस्रो स्थानको बार्सिलोनाले एलाभेसलाई ६–० ले हराएको हो । बार्सिलोनाको शानदार जितमा लुइस स्वारेजले दुई तथा नेइमार, लियोनल मेस्सी र इभान रेकिटिकले एक एक गोल गरे । एलाभेसका रुआनो डेलगाडोले आत्मघाति गोल गरे । ३७ औं मिनेटमा स्वारेज तथा ४० औं मिनेटमा नेइमारले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो ।
५९ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० मा पुग्यो । ६३ औं मिनेटमा एलाभेसका डेलगाडोले बार्सिलोनाका लागि उपहार गोल गरे । उपहार गोल पाएको दुई मिनेटपछि नै रेकिटिकले गोल गर्दै बार्सिलोनाको अग्रता ५–० मा र्पुयाए ।
खेल अवधिभर ७० प्रतिशत समय बल आफ्नो नियन्त्रणमा लिएको बार्सिलोनाका लागि स्वारेजले ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ६–० को जित निश्चित गरे । स्वारेजले यो सिजन ला लिगामा अहिलेसम्म १८ गोल गरिसकेका छन । जितपछि बार्सिलोनाको २२ खेलबाट ४८ अंक भएको छ । दुई खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ४९ अंक छ ।
२०७३ फागुन १ गते प्रकाशित