Thu. Mar 6th, 2025

रसुवागढी- लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढ्यो

rail

२४ माघ, काठमाडौँ – 

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले चीनबाट नेपाल जोड्ने रेल निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाइएको बताएका छन् ।

आइतबार व्यवस्थापिका संसद्को बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले चीनको केरुङ नाका हुँदै काठमाडौँबाट लुम्बिनीसम्म जाने रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढिसककेको बताएका हुन् ।

‘सुवागढी–काठमाडौँ–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनको काम अगाडि बढेको छ’, मन्त्री लेखकले भने, ‘काठमाडौँमा मेट्रो रेल सञ्चालनका लागि अध्ययन प्रक्रिया सुरु भइसकेको छ ।’

काठमाडौँ तराई–मधेस द्रुतमार्ग निर्माणका लागि प्रक्रिया अगाडि बढेको जानकारी दिँदै मन्त्री लेखकले त्यसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बनेको समितिले दिने प्रतिवेदनका आधारमा थप काम सुरु हुने बताए ।

मन्त्री लेखकले मध्यपहाडी सडक, उत्तर–दक्षिण लोकमार्ग, कान्ति लोकमार्गको कामसमेत प्रभावकारी रुपमा अगाडि बढेको र समितिसँग मिलेर काम गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे ।

उनले अर्को प्रसङ्गमा ८० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले लिएको बताएका छन् । भौतिक पूर्वाधारको प्रमुख आधार सडक सञ्जाल विस्तारमा विकास भए पनि केही जटिलता रहेको उनले बताए ।

भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य क्षेत्रमा बहुदलको स्थापनापछि उल्लेख्य विकास भए पनि आशातित विकास हुन नसकेको विषयमा भने उनले स्वीकार गरे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुँजीगत खर्च २२ प्रतिशत मात्रै रहेको भन्दै चालु आवमा ८० प्रतिशत खर्च गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

ठेक्का बन्दोबस्त गर्नुपर्ने, योजनाको अख्तियारी लिनुपर्नेजस्ता प्रक्रियागत कारणले केही समय विकास निर्माणको काम प्रभावित हुने गरेको भए पनि आगामी दिनमा त्यसलाई सुधार गर्ने योजनामा आफू रहेको बताए ।

हुलाकी राजमार्गको सन्दर्भमा विकास समितिले ध्यानाकर्षण गराएको स्वीकार गर्दै मन्त्री लेखकले लामो समयदेखि अन्योलमा रहेको सो राजमार्गको काम अगाडि बढेको जानकारी दिए ।

एक हजार ८०० किलोमिटर सडकमध्ये ८०० किलोमिटर सडकको काम अगाडि बढेको उनले बताए । लेखकले ९० प्रतिशतको ठेक्का प्रक्रिया अगाडि बढेको बताउँदै एक हजार किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदनको काम अन्तिम चरणमा पुगेको बताए ।

सरकारले काठमाडौँ उपत्यकाभित्र चारवटा भिन्दाभिन्दै कार्यालय स्थापना गरेर सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया अगाडि बढाइएको र त्यसले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सुरु गरेको उनको भनाइ थियो । कारोबार दैनिकबाट

२०७३ माघ २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: