Tue. Mar 4th, 2025

मुलुकको आर्थिक विकासमा धादिङको भूमिका

krishnahari-baskota

कृष्णहरि बास्कोटा –

मुलुकको आर्थिक सम्बृद्धिका लागि सवै नेपाली र आम निकायहरु क्रियाशील छन् । यसका लागि मुलुकको सबै भूगोल आ–आफ्नो क्षेत्रको असिमित संभावना बोकेर अवसरको खोजीमा छ । यसै  सन्र्दभमा धादिङ्ग जिल्लामा रहेको उद्योग बाणिज्य संघले पनि राष्ट्र निर्माणमा आफ्नो भूमिका र अवसर खोजी रहेको छ । ठीक यस अवस्थामा समग्र धादिङ्ग जिल्ला मुलुकको अर्र्थतन्त्र निर्माण र विकासमा आफ्नो अग्रणी संभावना केलाउदै छ । मुलुकले चाहना गरेको प्रथम कुरा आत्मनिर्भरता हो । मुलुकका स्वाभिमानी नेपाली आफ्नै खुट्टामा उभिन खोजिरहेका छौ । आफ्नो उत्पादनबाट मुलुक र देशबासीको दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न, हरियो तरकारी, फलफूल, माछा मासू र दुग्ध पदार्थमा हामी आत्मनिर्भर हुने पूरै संभावना छ ।

 नेपाल कृषि प्रधान देश हो । यस मुलुकमा रहेको करिव पौने तीन करोड नेपालीका लागि आवश्यक पर्ने हरियो तरकारी उत्पादन गरी आपूर्ति सहज तुल्याउनु परेको छ । त्यसपछि बढी भएको उत्पादन निकासी गरी विदेशी मुद्रा आर्जन गर्ने हाम्रो ध्येय हुनुपर्छ । नेपालमा सर्वाधिक बढी जनसंख्या रहेको शहर काठमाडौं हो । यहाँ रहेका तरकारी वजार मध्ये ठूलो बजार कालिमाटी तरकारी बजार हो । जहाँ धादिङ्ग जिल्लाबाट करिव २७÷२८ प्रतिशत हरियो तरकारी आपूर्ति हुने गरेको छ ।

धादिङ्ग जिल्लामा बेमौसमी हरियो तरकारी खेतीको आरम्भ भएको धेरै भयो । टनेल तरकारी खेतीमा आधुनिकीकरणको संभावना खोज्नु आजको आबश्यकता हो । कृषिमा युवा पुस्ता आकर्षित नहुनुमा परम्परागत विधि र उपकरणको प्रयोग पनि कारक तत्व मानिएकाले मिनी ट्याक्टर, जिरो ट्रिलर, हार्भेष्टर जस्ता उपकरणमा जोड दिनुपर्छ । धादिङ्गमा हरियो तरकारीको उत्पादनमा रसायनिक मलको सट्टा प्राङ्गारिक मल र रसायनिक विषादीको सट्टा जैविक विषादीको प्रयोग गर्नु पर्छ । यसका लागि राज्य प्रणालीबाट किसानलाई सघाउने र कृषि शिक्षा दिने कार्यक्रम लागू गर्नु पर्छ ।

हरियो तरकारी उत्पादनको पकेट क्षेत्र विकास गरी तरकारी उत्पादन गर्न सके अन्य जिल्लाको लागि यो जिल्ला कृषि पाठशाला हुने थियो । यस प्रयोजनका लागि एउटा विशाल राष्ट्रिय सहकारी प्रशिक्षण केन्द्र यस जिल्लामा खोल्नु पर्छ । जहाँ कृषक र युवा पुस्तालाई कृषिका बारेमा तालीम दिने र तालीम प्राप्त व्यक्तिलाई विउ पूजि रकम उपलव्ध गराई स्वरोजगारमा उन्मुख गराउनु पर्छ । हरियो तरकारी पछि धादिङ्गले आत्मनिर्भरता तर्फ डोर्याउन सक्ने क्षेत्र मासुजन्य पशुपालनको हो । उन्नत जातका बाख्रा पालन गर्ने र पोल्टी फर्मको व्यवसायिक कारोबार प्रबद्र्धन गर्न धादिङ्ग जिल्ला सार्वाधिक उपयुक्त जिल्ला देखिएको छ । साथै यहाँ स्ल्टर हाउसको संभावना पनि अधिक छ । काठमाडौं उपत्यकामा जिउदो पशु भित्र्याउन निषेध गुर्नुपर्छ ।

   दुधको उत्पादन र यसबाट विभिन्न परिकार तयार गर्न सकिने संभावना झै अदुवाको उत्पादन र उखुको रस एवं जुसका लागि पनि धादिङ्ग जिल्लाको राम्रो संभावना छ । काठमाडौंको प्रवेश मार्गको रुपमा रहेको यस जिल्लामा सिमेण्ट उद्योग स्थापना गर्ने र खाना पकाउने ग्यासको बोटलिङ्ग प्लाण्ट स्थापना गर्ने एक प्रकारको होड नै चलेको छ । यसैगरी अन्य थुप्रै उद्योग स्थापनाको संभावना मात्रै होईन, एउटा विशाल खाद्यान्न भण्डार नै यस जिल्लामा स्थापना गर्नुपर्ने देखिन्छ । त्रिशुली नदीको र्याफटीङ्ग संचालनमा रहेको छ । यसबाट पर्यटन उद्योगमा प्रत्येक्ष सहयोग पुगेको छ । १२०० मेगावाटको बुढी गण्डकी जल विद्युत आयोजनाको निर्माण सँगै यस जिल्लाको कायापलट हुनेछ । यस जलविद्युत आयोजना सँगै विशाल मानव निर्मित तालमा पर्यटन उद्योग फष्टाउने छ । यस आयोजनाबाट प्रभावितहरुलाई भने आयोजनाले मन फुकाएर क्षतिपूर्ति दिनु पर्ने हुन्छ ।

 काठमाडौं प्रवेशको लाईफ लाईनका रुपमा रहेको पृथ्वी राजमार्गको अधिकांश भू–भाग धादिङ्गमा पर्दछ । यसर्थ रेष्टुरा व्यवसाय, काठमाडौंबाट छोटो पदयात्रा, ग्रामिण क्षेत्रमा अध्ययन र अवलोकनका लागि विद्यार्थीलाई ल्याउने लगायतका आन्तरिक पर्यटन प्रबद्र्धनमा पनि यस जिल्लाको संभावना प्रशस्त देखिन्छ ।

 धादिङ्ग जिल्लामा ठाउँ ठाउँमा बेशी र टार रहेका छन् । ती स्थानमा सिंचाई सुविधा, उन्नत जातको विउ, विरुवा र आधुनिक कृषि खेती गरी खाद्यान्न लगायतमा यस जिल्लाले काठमाडौं उपत्यकालाई पूर्णतः भरथेक गर्न सक्ने देखिन्छ । हाल काठमाडौंमा रहेको दशरथ रंगशाला सानो भएको छ । धादिङ्ग जिल्लाका विभिन्न स्थानमा प्रकृतिले रंगशाला निर्माण गर्न उपयुक्त स्थान प्रदान गरेको छ । अर्कोकुरा थानकोटदेखि टायलघर आसपाससम्म पहिलो पटक सुरुङ्ग मार्ग बन्दैछ । यो आयोजना पनि नेपालकै प्रथम र नमूना आयोजना हुनेछ । धादिङ जिल्ला काठमाडौं नजिकको पर्यटकीय जिल्लामा रुपान्तरित हुन सक्तछ । यहाँ होमस्टे संचालनमा छ । यसलाई व्यापकता दिनु पर्छ । जसका लागि गाउँ गाउँमा सडक संजाल पुर्याउनु पर्छ । अति दुर्गम स्थानमा पनि सुरक्षित पदयात्रा मार्ग संचालन गरी ग्रामीण पर्यटन उद्योगमा अर्गानिक उत्पादन प्रयोग गर्नुपर्छ ।

 धादिङ जिल्लाको उत्पादन प्रबद्र्धनका लागि कोशेली घर संचालन गर्नु पर्छ । साना, मझौला र ठूला उद्योग स्थापना गरी नयाँ रोजगारीको श्रृजना गर्नुपर्छ । सहकारीको राष्ट्रिय स्तरको तालीम केन्द्र यसै जिल्लामा स्थापना गर्ने गरी छलफल भएको छ । यसलाई व्यवहारमा रुपान्तरित गर्नुपर्छ । यस जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष अभियान संचालन गरी गुणस्तरियताको विकास गर्न जरुरी छ । यसरी धादिङ जिल्लालाई काठमाडौं, चितवन र पोखरा जस्ता घना बस्तीको वीचमा रहेको जिल्लाले उठाउन सक्ने लाभ लिन सक्ने गरी सम्बृद्ध तुल्याउनु पर्छ ।

२०७३ माघ २३ गते प्रकाशित

About The Author