Wed. Nov 27th, 2024

परिवार नियोजनको साधन प्रयोगदरमा तुलनात्मक रुपमा वृद्धि

smart family photo

रेखबहादुर गुरुङ/१ माघ,  धादिङ –
सरकारी तथा गैर सरकारी निकायले परिवार नियोजनको साधनको प्रयोगदरमा वृद्धि गराउन सञ्चालन गरेको कामको प्रभाव धादिङमा पनि देखिन थालेको छ ।

धादिङ जिल्लामा परिवार नियोजनको साधनको प्रयोगदर तुलनात्मक रुपमा बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कले देखाएको छ । जिल्लामा परिवार नियोजनको साधन प्रयोग गर्नेहरूको संख्या विगतका वर्षहरुको तुलनामा तुलनात्मक रुपमा बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका परिवार नियोजन अधिकृत खगेन्द्र राईले जानकारी दिए ।

तिव्र गतिमा बढ्दै गएको जनसंख्यालाई व्यवस्थापन गर्न जिल्ला स्वास्थ्य कार्यालय धादिङले परिवार नियोजन घुम्ती शिविर, गाउँघर क्लिनिक, आवश्यक परेको बेलामा स्याटालाईट क्लिनिक लगायतका कार्यक्रम सञ्चालन गरेको छ । सरकारको नीति अनुसार परिवार नियोजनको अस्थायी तथा स्थायी साधनको निःशुल्क वितरण हुने भएकोले पनि यसको प्रयोगदर बढेको कार्यालयले जनाएको छ ।

हाल कण्डम, पिल्स खाने चक्की, डिपो तीन महिने सुई, लामो अवधीका अस्थायी साधनहरु आई यु सि डि र इम्प्लान्ट तथा स्थायी वन्ध्याकरण भ्यासेक्टोमी जस्ता परिवार नियोजनका सेवाहरु निशुल्क रुपमा उपलव्ध छन् ।

साथै जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गरिरहेको एचसीथ्री परियोजना लगायतका गैर सरकारी संघ संस्थाहरुले पनि प्रयोगदर वृद्धि गराउनमा महत्वपूर्ण सहयोग रहेको जिल्ला स्वास्थय कार्यलय धादिङका परिवार नियोजन अधिकृत राईको भनाई छ । “गाउँ गाउँ गएर जनचेतनामुलक कार्यक्रमहरु, परामर्श लगायतका कार्यक्रम संञ्चालन गरिदिएकै कारण पनि परिवार नियोजनको साधन प्रयोगदरमा वृद्धि गर्न सफल भएका हौ,” राईले भने ।

परिवार नियोजनका साधनहरुको प्रयोगले नचाहेको गर्भ रहनवाट जोगाउछ, आमा र वच्चाको स्वास्थ्यलाई राम्रो वनाउनको लागी कम्तीमा ३ वर्ष भन्दा माथि जन्मान्तर राख्नुपर्छ भन्ने आदि कुराहरु गर्दै जिल्लाको ९ ओटा गाउँ विकास समिति र एउटा निलकण्ठ नगरपालिकामा एचसिथ्री परियोजनाका स्वास्थ्य साथी सहजकर्ताहरु परामर्श दिदै आएको र जिल्लामा संञ्चालित ४ ओटा रेडियोहरु रेडियो धादिङ, रेडियो विहानी, रेडियो लोकतन्त्र र रेडियो राजमार्गबाट रेडियो कार्यक्रम स्मार्ट हेल्प डेस्क सञ्चालन भईरहेको एचसिथ्री परियोजना धादिङका संयोजक वालकृष्ण खत्री बताउँछन् ।

पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने ३ महिने सुई डिपो लगाउने ८ हजार १ सय ३६ जना, ईम्प्लान्ट लगाउने ४ हजार ९९ जना, खाने चक्की प्रयोग गर्ने २ हजार ४ सय ४५ जना, आईयूसिडि प्रयोगकर्ता २ हजार ३ सय ८४ जना तथा महिला र पुरुष स्थायी बन्ध्याकरण गर्ने ११ हजार ४ सय ७८ जना, कण्डम प्रयोग गर्ने २ हजार ६ सय २८ जना गरि अहिले जिल्लामा ३१ हजार १ सय ७० जनाले परिवार नियोजनको स्थायी तथा अस्थायी साधन प्रयोग गरेका छन् । तथ्याङ्क अनुसार परिवार नियोजनको साधन प्रयोग गर्नेमा पुरुषको तुलनामा महिला बढी रहेको देखिएको छ ।
समाजमा कतिपय व्यक्तीहरु अझै पनि परिवार नियोजनको साधनहरुको नाम खुलेर भन्न धक मानिरहेका हुन्छन् । त्यसैले आजैदेखी परिवार नियोजनका साधनहरुका बारेमा खुलेर कुरा गरौ, आफ्नो र परिवारको स्वास्थ्यमा सतर्क बनौ, स्मार्ट जिवन जिऔ । सरकारी तवरबाट मात्र नभई सवै मिलेर परिवार नियोजन सेवाको पहुँच र उपभोग वढाउन तर्फ लागि प¥यौ भने मातृ स्वास्थ्य, वाल स्वास्थ्य परिवार स्वास्थ्य गरी देशको समग्र स्वास्थ्य स्थितीमा उल्लेखनिय सुधार हुने देखिन्छ ।

२०७३ माघ १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: