सरिता श्रेष्ठ / २८ पुस, धादिङ –
परिवार नियोजन स्मार्ट बन्छ जीवन यो भनाई अहिले निकै नै चर्चामा रहेको छ । विशेष गरी नवविवाहित जोडीलाई परिवार नियोजन र प्रजनन स्वास्थ्यबारे जानकारी दिन स्मार्ट परिवारको नामले चर्चामा आएको छ । धादिङमा पनि स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजना तथा अमेरिकी सहयोग नियोग (युएसएआइडी)को सहयोगमा एचसी थ्री नेपाल परियोजनाले कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्र्तगत नवविवाहित जोडीका लागि पिकनिक कार्यक्रमको आयोजना गरिएको छ ।
पिकनिकमा यस्ता १० जोडी सहभागी थिए । सानै उमेरमा विवाह गर्ने र २० वर्ष नपुग्दै बच्चा जम्माउने अवस्था जिल्लामा रहेकोले नवविवाहित जोडीका लागि स्मार्ट पिकनिक कार्यक्रम आयोजना गरिएको एचसी थ्री परियोजना जिल्ला संयोजक बालकृष्ण खत्रीले बताए ।
पिकनिक कार्यक्रममा आएका गोकुल सेडाई र पुजा सेडाई नवविवाहित दम्पत्ति हुन् । गत बैशाखमा उनीहरुको माघि विवाह भयो । गोकुल २० वर्षका भए, उनकी श्रीमती पुजा १७ वर्षमै छिन् । नवविवाहित जोडीलाई परिवार नियोजन र प्रजनन स्वास्थ्यबारे जानकारी दिन आयोजना गरिएको ‘स्मार्ट पिकनिक’ कार्यक्रममा भेटिएका यो जोडीले अबको तीन वर्ष बच्चा नजन्माउने कसम खाएका छन् ।
लहैलहैमा विवाह भयो । निलकण्ठ नगरपालिका घर भएका गोकुल भन्छन्– ‘अब तीन वर्षमा पुजा (श्रीमती) २० वर्ष पुरा हुन्छे अनि मात्रै बच्चा जन्माउछौं ।’ गोकुलले जस्तै कसम उनकी श्रीमती पुजाले पनि दोहो¥याइन् । हामीले बच्चाको बारेमा सोचेकै थिएनौं, हतार गरेर बच्चा पाउन नहुने रहेछ । उनले भनिन् ‘आफ्नो खुट्टामा उभिन सक्ने भएपछि मात्रै बच्चा जन्माउनेछौं ।’ सानै उमेरमा बच्चा जन्माउदा हुन सक्ने खतराबारे पिकनिकमा जानकारी पाएपछि उनीहरुको सोचमा परिवर्तन आएको हो ।
निलकण्ठ नगरपालिका वडा नं. १० का रमेश रिजाल र सुमित्रा सापकोटा पनि आफु सेटल भएपछि मात्रै बच्चा जन्माउने योजना बनाएका छन् । ‘अहिलेसम्म कमाएको पैसाले भुकम्पले भत्किएको घर बनाएर विवाह गरियो । अब केही वर्ष दुबैजना मेहनत गछौं अनि मात्रै बच्चा जन्माउने सोच छ ।’ पिकनिकमा भेटिएका रमेश र सुमित्राको जोडिले खुलेर सुनाए । एक छोरी र एक छोरा जन्माएर खुसी परिवार बनाउने उनीहरुले योजना बताए ।
पिकनिकमा दलित र पछाडि पारिएका समुदायका नवविवाहित जोडीसँग परिवार नियोजनबारे छलफलसमेत गरिएको थियो ।
पिकनिकमा सहभागी हुन पुगेका मुरलीभञ्ज्याङ स्वास्थ्य चौकी प्रमुख कृष्ण बहादुर पौडेलले परिवार नियोजनको महत्वका बारेमा नवविवाहित जोडीलाई परामर्श दिए । नवविवाहत जोडीले मनोरञ्जन मार्फत पारिवारिक योजनाका बारेमा बुझुन् र आयआर्जनमा सक्षम भइसकेपछि सन्तान जन्माउन् भन्ने उद्देश्यले पनि ठाउँठाउँमा स्मार्ट पिकनिक आयोजना गरिएको एचसी थ्री का फिल्ड सुपरभाइजर रञ्जना मल्लले बताईन् । विवाहको सिजनमा हरेक गाविसमा पिकनिक आयोजना गरिरहेको उनले जानकारी दिइन् ।
नवविवाहित जोडीले स्मार्ट पिकनिकमा सहभागी हुँदा आफूहरुलाई धेरै कुरा थाहा भएको र कार्यक्रम फलदायी रहेको प्रतिक्रिया दिएका छन् । अनिच्छुक गर्भधारणमा कमी ल्याउन सहयोग गर्ने लक्ष्यका साथ जिल्लाका धुषा, जोगिमारा, वेनिघाट, महादेवस्थान लगायत १० गाविस र निलकण्ठ नगरपालिकामा एचसी थ्री परियोजना संचालन भइरहेको छ ।
सानै उमेरमा विवाह गर्ने र २० वर्ष नपुग्दै दुईतीन वटा सम्म बच्चा जन्माउने आमाहरुको संख्या वर्सेनी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
२०७३ पुस २८ गते प्रकाशित