धादिङको नीलकण्ठ नगरपालिकाले आगामी वर्षका लागि रु २१ करोड ८४ लाख ३० हजार ८ सय रुपैया बजेट सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७४/०७५ का लागि चालु तर्फ रु १२ करोड ५१ लाख ११ हजार ८ सय र पूँजीगत तर्फ रु ९ करोड ३३ लाख १९ हजार विनियोजना गरिएको छ ।
बुधबार धादिङबेसीमा आयोजित चौथो नगरपरिषद्बाट आर्थिक वर्ष २०७४/०७५ का लागि पारित वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा नीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत देवराज चौलागाईले बजेट प्रस्तुत गरेका हुन् ।
गत आर्थिक वर्षमा चालुतर्फ रु ४ करोड २२ लाख ५८ हजार ५ सय र पूँजीगत तर्फ ७ करोड ३ लाख ७४ हजार गरी कुल रु ११ करोड २६ लाख ३२ हजार ५ सय बजेट विनियोजन गरिएको थियो ।
परिषद्ले बाह्रै महिना चल्ने गरी सडकको स्तरोन्नती एवम् अन्य भौतिक पूर्वाधारको द्रुत विकासमा जोड दिएको छ । त्यस्तै नगरको पहिचालन झल्कने गरी पर्यटकिय सम्भावनाको विकास गर्ने उद्देश्य राखेको छ । महिला, जेष्ठ नागरिक, दलितआदिवासी जनजाती, मुस्लिम, अपांगता भएका वर्गको उत्थान र विकासमा जोड दिएको छ ।
त्यस्तै कृषि, वन, वातावरण तथा भू संरक्षण सडक, खानेपानी तथा सरसफाई, भूकम्प प्रभावित पुनृ निर्माण कार्यक्रम, समाजिक परिचालन लगायतका क्षेत्रलाई विशेष जोड दिएको छ ।
धादिङ क्षेत्र नं २ का सांसद गुरुप्रसाद बुर्लाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल, विभिन्न सरकारी कार्यलयका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि,संघसंस्थाका, नागरिक समाज लगायत नगरबासीहरुको सहभागीता रहेको छ ।
२०७३ पुस २७ गते प्रकाशित