
नेपाली काँग्रेसका महामन्त्री सशांक कोइरालाले दलहरुको ध्यान निर्वाचनको तयारीमा जुटेको बताएका छन् ।
पर्यावरण संरक्षण मञ्च नेपालले धादिङको साँकोष वीपी गाउँमा निर्माण गरेको सामुदायिक भवन उद्घाटन तथा विपी गाउँ होमस्टको शिलान्यास पछि आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले संविधान संशोधन प्रस्ताव दर्तामा विपक्षी दलले देखाएको भूमिकाले पनि गतिरोध अन्त्यको लागि बातावरण बन्दै गएको बताए ।
संविधान संशोधन संसदबाट पास भए पनि नभए पनि त्यसले निर्वाचन प्रक्रियालाई नरोक्ने भएकाले तत्काल निर्वाचनको मिति तोक्ने तयारीमा सरकार रहेको कोइरालाले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख लोकमान सिँह कार्कीलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेकोमा नेपाली काँग्रेसले उक्त निर्णयको उच्च सम्मान गरेको बताए । कार्कीलाई नियुक्त गर्दा राजनैतिक दलले दिएको स्वीकृति पनि गलत सावित भएकाले नेपाली काँग्रेसले त्यसको आत्मओलोचना गर्ने बताए ।
पर्यटकीय हिसावले अति महत्वपूर्ण मानिएको वीपी गाउँलाई सुविधा सम्पन्न बनाउनका लागि पहिलो चरणमा सवा करोड रुपियाँमा सामुदायिक भवन निर्माण गरिएको हो । उक्त भवनबाट शिक्षा स्वास्थ्य लगायतका समुदायका लागि आवश्यक सेवा प्रदान गरिने इपिएफ संस्थाका अध्यक्ष राकेश धमलाले जानकारी दिए । उक्त गाउँमा केही समयमा नै होमस्टे संचालनको तयारीमा संस्था लागि परेको धमलाले जानकारी दिए ।
२०७३ पुस २५ गते प्रकाशित